भरतपुरमा माओवादी केन्द्र प्रवेश गर्नेको लर्को चलेको रेणु दाहालको दाबी

लोकपथ
168
Shares

चितवन । नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य तथा भरतपुर महानगरपालिका कमिटी इन्चार्ज रेनु दाहालले माओवादी केन्द्र नै जनताको सुख दुखको पार्टी भएका कारण माओवादी केन्द्र प्रवेश गर्ने लहर चलेको बताएकी छिन्।

नेकपा माओवादी केन्द्र भरतपुर महानगरपालिका वडा नं २३ द्वारा आयोजित कार्यकर्ता भेटघाट, चियापान तथा पार्टी प्रवेश कार्यक्रम बोल्दै उनले यस्तो बताएकी हुन्। पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले महान १० वर्ष जनयुद्द, जनआन्दोलनबाट प्राप्त उपलब्धिहरूलाई संविधान मार्फत नै स्थापना गर्ने भूमिका माओवादी र यसको नेतृत्वले गरेको बताइन्। उनले संघीयता ,धर्म निरपेक्षता,समाबेसी समानुपातिक प्रणालीका साथै सबै वर्ग,क्षेत्र र समुदायको अधिकार माओवादी केन्द्रबाटै सम्भव भएको भन्दै माओवादी हौ भन्न गर्व लाग्ने बताईन् ।

भरतपुर महानगरपालिकाको प्रमुख समेत रहेकी दाहालले विगतमा १ किमी सडक कालोपत्रे गरेर त्यसैलाई देखाएर जनता ढॉट्ने परिपाटीको आफूले अन्त्य गरिदिएको भन्दै साढे चार वर्षको आफ्नो कार्यकालमा ६ सय १० किमी सडक कालोपत्रे गरेर विकास कस्तो हुन्छ भनेर आफूले देखाएको बताइन्। दाहालले भनिन्, ‘म काम समयमै हुनुपर्छ भनेर लागीपरेको छु निर्माण व्यवसायीहरुले ढिला सुस्ती गरिरहेका छन् यसरी काम ढिला गर्न हुँदैन,तपाईँ जनसमुदायहरूले पनि दबाब सृजना गर्नुस्।’

आफू निर्वाचनका क्रममा मतदाताको घरदैलोमा हिँड्दा हिलाम्यधुलाम्य बाटो मात्रै भएको कालोपत्रे सडकत देख्न मुस्किल भएको बताउदै उनले भनिन् ‘आज तपाईँहरूले देखिरहनु भएको छ विकास कति भयो, कस्तो भयो यसको मूल्याड्कन तपाईँहरू आफैँ गर्नुहोस।’ आफ्नो एक मात्र लक्ष्य महानगरको समग्र विकासमार्फत नगरवासीको समृद्धि रहेको भन्दै उनले जनसमुदायको मागका आधारमा जायज र आवस्यक योजनाहरूलाई महानगरपालिकाले संघ र प्रदेशसंग समन्वय गरेर अगाडि बढाउने बताइन् ।

कार्यक्रममा बोल्दै उनले भरतपुर महानगरपालिकाले पूर्वाधार क्षेत्रका साथै शिक्षा क्षेत्रको गुणात्मक विकासका लागि उल्लेखनिय कामहरू गरेका कारण पछिल्लो दिनहरूमा निजी विद्यालय छोडी सरकारी विद्यालयमा आर्कषण बढिरहेको बताइन् । स्वास्थ्य, पर्यटन, सामाजिक विकासका साथै सुशासन प्रवाह गर्न भरतपुर महानगरपालिका केन्द्रित भएको बताइन् । सो अवसरमा प्रमुख दाहालले आफ्नै कार्यकालमा सुकुम्बासी, भूमिहीन अव्यवस्था बसोबासीहरूको समस्या स्थायीरूपमै समाधान गरी काम अगाडि बढिरहेको समेत बताइन् ।

उनले नेपालको कम्युनिस्ट आन्दोलनलाई एक ढिक्का बनाउन भएको एकतालाई अतिवादी प्रवृत्तिका केपी ओलीका कारण सम्भव हुन नसकेको भन्दै माओवादी केन्द्र नै देशको कम्युिनिस्ट पार्टीको केन्द्र बन्ने बताउँदै नव प्रवेशीहरुलाई ढुक्क भएर संगठन निर्माणमा लाग्न आग्रह गरिन् । उनले भनिन्, ‘तपाईँहरू दृढ भएर लाग्नुस् पार्टीबाट संरक्षण र उचित जिम्मेवारी पाउनुहुन्छ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?