ठूलो परिमाणमा लागुऔषधसहित पाँच पक्राउ

 काठमाडौँ, २४ असोज।नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले ठूलो परिमाणमा लागुऔषधसहित छुटाछुटै स्थानबाट पाँचजनालाई पक्राउ गरेको छ ।दुई किलो अफिम र २२ किलो चरेससहित धादिङका दर्जबहादुर तामाङ र मकवानपुरका राजकुमार मोक्तान सोमबार पक्राउ परेका हुन ।ब्यूरोले आज पत्रकारसम्मेलन गरी तामाङसँग एक किलो अफिम, १२ किलो चरेस, दुई हजार नेपाली रुपैयाँ र तौल गर्ने मेसिन एक थान तथा मोक्तानसँग एक किलो अफिम, १० किलो चरेस, सात हजार नेपाली रुपैयाँ र ५८ हजार भारतीय रुपैयाँसहित पक्राउ गरिएको जानकारी दिएको छ ।ब्यूरोका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक ठूले राईले तामाङ र मोक्तान लामो समयदेखि लागुऔषध कारोबारमा सक्रिय रहेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको जानकारी दिए । उक्त अनुसन्धानको कमाण्ड प्रहरी निरिक्षक अनिल ठकुरीले सम्हालेका थिए ।यसैगरी महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले लागुऔषधसहित तीनजनालाई पक्राउ गरेको छ । प्रभागबाट खटिएको टोलीले बाराबाट काठमाडौँ आउँदै गरेको ना७ ख ८७९ नंको यात्रुवाहक बसमा लागुऔषध लिएर आउँदै गरेको अवस्थामा बाराका लक्ष्मण शाह, जोगिन्दर सहनी र काभ्रेका गोपाल श्रेष्ठलाई पक्राउ गरेको हो ।प्रभागका प्रमुख ऋषिराम घर्तिमगरले दुईवटा झोलामा कम्बलभित्र लुकाएर ल्याएको अवस्थामा प्रहरीले जाँच गर्दा ५६२ एम्पुल लागुऔषध तथा एक हजार ४०८ ट्याब्लेट नाइट्रेपाम बरामद गरिएको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?