झापा । पछिल्लो समय युवामा कृषि पेशाप्रति आकर्षण बढ्दै गएको छ ।
कृषिबाट नाम र दाम कमाउन पनि सकिन्छ । सोही कृषि कार्यलाई व्यावसायिकता दिँदै झापा गोलधापका गणेश पराजुलीले उन्नत जातको बाख्रापालन गरिरहेका छन् ।
उनले प्रगति बोयर बाख्रापालन केन्द्र सञ्चालन गरेर उन्नत जातका बाख्रा पाल्नुभएको छ । हाल उनको फर्ममा १३७ वटा बाख्रा छन् । दक्षिण अफ्रिकाबाट बोयर जातको बीउ बाख्रा ल्याएका स्थानीय जातका बाख्रासँग ‘क्रस’ गरेर उन्नत जातको बाख्रा उत्पादन गरिरहेको उनले बताए ।
२०७१ सालदेखि व्यावसायिक बाख्रापालन शुरु गरेका पराजुलीले चार वर्षमा आफ्नो फर्ममा एक करोड २० लाख ९० हजार लगानी गरिसकेका छन् । पराजुली व्यावसायिक बाख्रापालनका लागि उदाहरणीय किसानसमेत बनेका छन् भने मनग्ये आम्दानी गर्न सफल पनि भएका छन् ।
“अहिले देशभरबाट बाख्राको माग भइरहेको छ”, परिश्रमी पराजुलीले भने, “सुर्खेत, पर्वत, भक्तपुर, स्याङ्जासहित पूर्वका विभिन्न जिल्लाका किसान बाख्रा खरिद गर्न आउनुहुन्छ ।” उनले सुर्खेतका एक किसानलाई २२ महिनाको १३२ केजी बोयर बाख्रा चारलाख ६५ हजारमा बिक्री गरेको सुनाए । स्वदेशमै स्वरोजगार बन्ने सपना बुनेर मेहनत गरे असम्भव केही नभएको उनले बताए ।
उनले वाणिज्य बैंकबाट ५९ लाख ऋण लिएको बताउँदै भने, “पारिवारिक रुपमा पनि सरसहयोग लिएको छु–पाइरहेको छु ।” “मासुका लागि बोयर जातको बाख्रा राम्रो मानिन्छ, उत्पादनका दृष्टिले पनि राम्रो छ” उनले बाख्राको गुण बयान गर्दै भने, “बोयरको मासु रोग प्रतिरोधात्मक क्षमता धेरै भएकाले यसको माग बढ्दै गएको छ ।”
बोयर जातको बाख्राले दुई वर्षमा तीन पटक पाठापाठी ब्याउने गरेको छ । “हरेक पटक जुम्ल्याहा पाठापाठी दिन्छ” उनले भने ।
उनले पशु आहारका लागि व्यक्तिगत एक बिगाह र भाडामा तीन बिगाह जग्गा लिएका छन् भने असारमा ३८ लाखको बाख्रा थप्ने तयारी रहेको बताए । फर्ममा दुईजनाले रोजगारीसमेत पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया