काठमाडौं । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकपछि मात्रै पार्टीको महाधिवेशन हुनेमा विश्वस्त भएको बताएका छन् ।
सोमबार नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट काठमाडौं महानगरका पदाधिकारी र सदस्यको प्रमाणपत्र वितरण कार्यक्रममा नेता थापाले आततबार बसेको केन्द्रीय कार्यसमितिको बैठकपछि मात्रै पार्टीको महाधिवेशन हुनेमा विश्वस्त भएको बताएका हुन् ।
उनले निर्वाचन आयोगलाई बारम्बार दबाब दिएपछि मात्रै महाधिवेशन समयमै गर्न सकिएको बताए । नेता थापाले समयमै महाधिवेशन गर्न नसक्नु एक ढंगले पार्टीको सामूहिक क्षयीकरणको प्रमाण भएको बताए । उनले नेपाली कांग्रेसका नेताहरु पार्टीभित्र विधानको सर्वोच्चतालाई कायम गर्ने कुरामा पटक–पटक चुकेको बताए ।
नेता थापाले भने, ‘हिजो हामीले केन्द्रिय समितिको बैठक सम्पन्न गर्यौँ, केन्द्रीय कमिटीको बैठक सम्पन्न गरेपछि प्रदेशको निर्वाचनको संयोजकहरु तोकेका छौँ, अधिवेशनको निम्ति व्यवस्थापन गर्ने समितिहरु बनाएका छौँ, हिजोको बैठकपछि भने साथीहरुलाई अब अधिवेशन हुन्छ भन्ने कुराको ढुक्क भयो, ढुक्क हुनुभएको मैले पाएको छु, किनभने पार्टीले अब होटल नै बुक गर्न थाल्यो, हल नै बुक गर्न थाल्यो भनेपछि बल्ल अधिवेशन हुन्छ भन्ने कुराको साथीहरुलाई ढुक्क भएको अवस्था छ,यद्यपी कतिपय जिल्लामा अझै पनि प्रारम्भिक अधिवेशनहरु सम्पन्न भइरहेको, कतिपय ठाउँमा अझै विवाद छ, केही साथीहरु अनसन बसिरहनुभएको छ, केही साथीहरु अनसन बस्ने तयारीमा हुनुहुन्छ, नेपाली कांग्रेसजस्तो पार्टीको अधिवेशनको सन्दर्भमा अधिवेशन आउनु भन्दा १५–२० दिन अघिसम्म पनि पार्टीको जिम्मा दिएको साथीहरुलाई अधिवेशन हुन्छ कि हुँदैन भन्ने अलमल रहने कुरा आफैँमा हामी कति तल झरिसक्यौँ भन्ने कुराको प्रमाण हो, हामीले आफ्नो अधिवेशनको बारेमा ढुक्क भएर हुन्छ भन्ने अवस्था बनेन, यसलाई हामीले जति भने पनि हामीले निर्वाचन आयोगलाई तारन्तार दबाब नदिएको भए पुषको पहिलो साताभित्र निर्वाचन आयोगलाई नेतृत्वको नाम बुझाउनै पर्छ भन्ने अनिवार्यता नरहेको भए सायद अधिवेशन हामी एक–दुई महिना टार्थ्याैँ होला, समयमै महाधिवेशन गर्न नसक्नु एक ढंगले सामूहिक क्षयीकरणको प्रमाण हो, नेपाली कांग्रेसका नेताहरु पार्टीभित्र विधानको सर्वोच्चतालाई कायम गर्ने कुरामा पटक–पटक चुकेका छन् ।’
नेता थापाले अहिले अदालतमा भएको समस्यालाई नेपाली कांग्रेसले समाधान गर्नुपर्ने बताए । उनले नेपाली कांग्रेस आगामी निर्वाचनमा भोट माग्न जाँदा मतदातालाई चुनाव जितेको ५ वर्षमा कांग्रेसले गर्ने कामको सूची बनाएर जानुपर्ने बताए । नेता थापाले नेपाली कांग्रेस राष्ट्रिय निर्णय गर्दा मतदाता र आम जनता खुशी हुनेगरी गर्नुपर्ने बताए ।
नेता थापाले भने, ‘आज अदालतमा यत्रो ठूलो समस्या देखिरहेका छौँ,अदालत स्वतन्त्र रहनु पर्छ, न्यायालय शुद्ध हुनुपर्छ, अदालत भित्रको नेतृत्व नै विचलित भयो भने त्यहाँभित्र न्याय मर्छ र स्वतन्त्र न्यायपालिका र न्यायालयको लागि कांग्रेस लड्छ भन्ने कुराको विश्वास गरेर एउटा मतदाताले रुख चिन्हमा मत हाल्छ, त्यो कुरामा चुक्यो भने मतदाता रिसाउँछ हाम्रो मत घट्छ, नेपाली कांग्रेसको १२–१५ लाख यस्तो मतदाता छ, नेपाली कांग्रेसले राष्ट्रिय निर्णय गर्दा एक ठाउँ चुक्यो भने मत हाल्दैन, दण्ड दिन्छ, त्यो मतदाता जोगाउनु पर्नेछ, ३५ लाख मतदाताले रुखमा किन मत हाल्ने भन्ने प्रश्नको उत्तर नेपाली कांग्रेसले लिएर जानुपर्छ, मतदाता जम्मा पार्न अबको कांग्रेसले ४–५ वर्षमा के गर्छ भनेर बताउनु सक्नुपर्छ, कांग्रेसले ५ वर्ष मौका पायो भने के गर्छ भन्ने कुराको योजना बनाएर जनताको बीचमा जाने जसको आधारमा नयाँ मतदातालाई कांग्रेसलाई मत हाल्ने वातावरण होस् ।’
नेता थापाले महाधिवेशनबाट १३ लाख मतदाता थप्न सके कांग्रेस अब आउने निर्वाचनमा पहिलो एकल पार्टी भएर आउने दाबी गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया