काठमाडौं । आगामी पुस २, ३ र ४ गते ‘छैटाैँ चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रर्दशनी–२०७८’ आयोजना हुने भएको छ ।
चितवन उद्योग संघले आयोजना गर्दै आएको सो मेला चितवन प्रदर्शनी केन्द्र, भरतपुरमा आयोजना गर्न लागिएको आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।
प्रर्दशनीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी २ सयभन्दा बढी स्टलहरु रहनेछन् । उद्योग क्षेत्रमा भित्रिएका नयाँ प्रविधि हस्तान्तरण गर्ने, नेपाली उत्पादनहरुको बजारीकरणका लागि सहज गर्न र नयाँ उद्योग खोल्न चाहनेहरुलाई आकर्षण गर्नका लागि सो प्रदर्शनी आयोजना गर्न लागिएको चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले जानकारी दिए ।
उनले भने, ‘टेक्नोलोजी ट्रान्सफर गर्ने, नेपाली उत्पादनको बजारीकरणका लागि सहज गर्ने र जो नयाँ इन्डष्ट्रिमा आउन खोज्नुभएको छ, उहाँहरुलाई आकर्षण गर्नका लागि यो प्रदर्शनी गर्न लागिएको हो ।’
प्रर्दशनीमा राष्ट्रिय आविष्कार केन्द्र पनि सहभागी हुने भएको छ । उद्योगी र उद्यमीहरुलाई चेपुवामा पार्ने परम्पराको अन्त्य गर्दै आफूले सकेको उद्यम गरेर देशको सेवा गर्न यस्ता खालका प्रर्दशनीहरु आयोजना हुने गरेको केन्द्रका अध्यक्ष महाविर पुनले बताए । उनले देशको सेवाका लागि केही योगदान गर्न सकिन्छ भनेर आफूहरुले पनि सो प्रर्दशनीमा भाग लिने निर्णय गरेको बताए ।
अध्यक्ष पुनले भने, ‘देशलाई समृद्ध बनाउने भनेको उद्योगीहरु र उद्यमीहरुले हो । सरकारको काम, नेताहरुको काम के हो भन्दाखेरी उद्योगी, उद्यमीहरुलाई काम गर्न सजिलो वातावरण बनाई दिने मात्रै हो । सजिलो वातावरण बनाई दियो भने उद्यमीहरु आफैँ बन्दछन । तर हाम्रो नेपालमा के छ भने सजिलो वातावरण बनाउने होइन कि कसरी अप्ठ्यारो वातावरण बनाइदिने भनेर चेपुवामा पार्ने वातावरण छ, परम्परा छ । यो परम्परालाई हटाउँदै जाने र आफूले सकेको उद्यम गरेर आफ्नो मातृभूमिलाई, देशलाई सेवा गर्ने हो ।’

प्रर्दशनीमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । लघु, घरेलु तथा साना उद्योगहरुलाई सहज र किफायती बनाउन मदत पुर्याउने स–साना औजार, मेसिनदेखि ठूला उद्योगका अत्याधुनिक यन्त्र, उपकरणहरु र पूर्वाधार निर्माणमा प्रयोग हुने यन्त्र उपकरणहरु पनि प्रर्दशनीमा राखिनेछ ।
त्यसैगरी राष्ट्रिय आविष्कार केन्द्रले आविष्कार गरेको उपकरणहरु पनि प्रर्दशनीमा राखिने चितवन उद्योग संघले जनाएको छ । प्रर्दशनीमा उत्कृष्ट हुने लघु, घरेलु तथा साना उद्यमीहरुलाई पुरस्कारसहित सम्मान गरिनेछ ।
प्रर्दशनीलाई सफल बनाउन नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, बागमती प्रदेश उद्योग, पर्यटन तथा वातावरण मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, राष्ट्रिय आविष्कार केन्द्र, नेपाल घरेलु तथा साना उद्योग महासंघ, चितवनका स्थानीय तहका संघ, संस्थाहरुको पनि सहयोगी भूमिका रहनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया