बारका अध्यक्ष श्रेष्ठले देखाए प्रधानन्यायाधीशलाई पदच्युत गर्नुका कारण

लोकपथ
182
Shares

काठमाडौं । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पदच्युत गर्नुपर्ने अपरिहार्यता रहेको बताएका छन् ।

आइतबार सर्वोच्च अदालतमा धर्ना दिनुअघि नेपाल बार एसोसिएसनको भवन परिसरमा कानुन व्यवसायीहरुलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबरालाई पदच्युत गर्नुपर्ने अपरिहार्य अवस्थामा पुगिएको बताएका हुन् । जबरा रहुञ्जेल न्यायपालिकालाई सुधार गर्न नसकिने भएकोले बारले राजीनामा माग गरिररहेको र राजीनामा नआएमा पदच्युत गर्नुपर्ने अवस्था आउनसक्ने उनले बताए ।

प्रधानन्यायाधीश जबराले न्यायमा विचलन ल्याइ न्याय प्रशासनलाई बर्बाद बनाएको उनको आरोप छ ।

उनले भने– ‘हामीहरु आफ्नो न्यायपालिका सुधारको लागि लागेका छौँ । न्यायपालिकाको बाधक चोलेन्द्र शमसेर जबरा जबसम्म रहन्छ, हामीले न्यायपालिका सुधार गर्न सक्दैनौँ । त्यसकारण प्रधानन्यायाधीशको राजीनामा अपरिहार्य छ । राजीनामा मात्रै होइन अब त पदच्युत पनि गर्नुपर्ने अपरिहार्य अवस्थामा हामी पुगेका छौँ । जबरा जबसम्म पदच्युत हुँदैन, अरु सुधारको कार्यक्रम गर्न सकिँदैन । जसले न्यायमा विचलन ल्याएको छ, जसले न्याय प्रशासनलाई बरबाद गरेको छ । जसले यो देशलाई बर्बाद गर्न खोजिराखेको छ, त्यस्तो व्यक्तिहरु न्यायपालिकामा रहन सक्दैनँ । कुनैपनि हालतमा राख्न सक्दैनौँ ।’

नेपाल बार एसोसिएसनले आइतबार पनि सर्वोच्च अदालतको मूल गेटमा धर्ना दिएको छ । प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै आन्दोलनरत बारले आइतबार बिहान १० बजेदेखि ११ः३० बजेसम्म सर्वोच्च अदालत परिसरमा धर्ना दिएको हो । धर्नाको क्रममा कानुन व्यवसायीहरुले ‘भ्रष्टाचारी प्रधानन्यायाधीश राजीनामा दे, बार एकता जिन्दावाद, हाम्रो आन्दोलन जारी छ’ लगायतका नाराबाजी समेत गरेका थिए भने अक्षम र अनैतिक प्रधानन्यायाधीश राजीनामा दे, विधिको शासन कायम गर, न्यायपालिकाको गरिमा कायम राख्न नसक्ने प्रधानन्यायाधीश राजीनामा देउ लगायतका प्लेकार्डहरु प्रर्दशन समेत गरेका थिए ।

सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायीहरुले धर्ना दिइरहेको समयमा सर्वोच्च परिसरबाहिर बार एसोसिएसनको विरोधमा केही व्यक्तिहरुले नाराबाजी गरेका थिए । लगत्तै बारको विरोधमा नाराबाजी गर्ने केही व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सर्वोच्चमा धर्नाको क्रममा बोल्दै बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशले न्यायलयलाई किनबेचको वस्तु बनाएको बताए । शान्तिपूर्ण आन्दोलनलाई बिथोल्न बिचौलियाहरु आएको भन्दै उनले बिचौलियाहरुको पनि सम्पत्ति छानबिन गरी जफत हुने चेतावनी दिए ।

उनले भने – ‘चोलेन्द्र शमशेर जबराले प्रधानन्यायाधीशको सिटमा बस्ने अधिकार छैन । उहाँले अधिकार गुमाइसक्नुभएको छ । उहाँको प्रवेश न्यायपालिकालाई थप भ्रष्ट बनाउने हुन्छ । जबराले न्यायालयलाई किनबेचको वस्तु बनाएको छ । बिचौलियाहरु होस् गर्नुस्, तपाईँहरुले बिचौलिया भएर जे कमाउनुभएको छ, त्यो कमाइको धन पनि छानबिन हुन्छ । तपाईँहरुको सम्पत्ति जफत हुने काम पनि सुरु हुँदै छ । छानबिन हुँदै छ ।’

बारले सर्वोच्च अदालतको मूल गेटमा धर्ना दिए पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा भने वैकल्पिक गेट बाट सर्वोच्च अदालत प्रवेश गरेका थिए । बारले आफूहरुको आन्दोलन जारी रहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?