काठमाडौं । नेपाली कांग्रेस डडेलधुराका सभापति कर्णबहादुर मल्लले जिल्लाका वडा र पालिका अधिवेशन पुनः गर्नुपर्ने आफूहरुको माग सम्बोधन नभए मंसिर १ गतेदेखि पार्टी केन्द्रिय कार्यालयमा अनसन र धर्नामा बस्न बाध्य हुने चेतावनी दिएका छन् ।
सभापति कर्णले शनिबार पार्टी केन्द्रिय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी अब बस्ने पार्टीको केन्द्रिय कार्य समितिले आफूहरुको माग सम्बोधन नगरे पार्टी केन्द्रिय कार्यालयमै धर्ना र अनसनमा बस्न बाध्य हुने चेतावनी दिएका हुन् । उनले पार्टी जिल्ला कार्य समितिले स्थगन गर्न लिखित रुपमै पार्टीका केन्द्रिय सभापति शेरबहादुर देउवा र केन्द्रिय निर्वाचन समितिलाई लिखित रुपमै उजुरी गर्दा पनि त्यसको सुनुवाई नभई सत्ता र शक्तिको दूरुपयोग गरेर वडा अधिवेशन र पालिका अधिवेशन गरिएको भन्दै आक्रोश व्यक्त गरे ।
उनले भने, ‘अवैधानिक ढंगले भएका वडा र पालिका अधिवेशनहरु खारेज गरी नयाँ अधिवेशनको मिति तय गरि दिनका लागि नेपाली कांग्रेस केन्द्रिय निर्वाचन समिति र पार्टी केन्द्रिय कार्य समितिमा सप्रमाण उजुरी मात्रै पेश गरेनौं । जबकी ११ दिनसम्म नेपाली कांग्रेसको कार्यालय डडेलधुरामा सिंगो पार्टी अनसन बस्यो । उक्त अनसनको कार्यक्रमलाई डडेलधुराका हजारौं पार्टी कार्यकर्ताले र महत्वपूर्ण केन्द्रिय नेताज्यहरुको समर्थन र ऐक्यवद्धता हुँदाहुँदै हालसम्म हाम्रा् माग कहीँकतै सुनुवाई नभईसकेपछि नेपाली कांग्रेस डडेलधुराको मिति २०७८म कात्तिक २२ गतेको बैठकबाट डडेलधुरा जिल्लाको सिंगो अभिभावकत्व दिनका लागि हार्दिक अनुरोध गर्दै सम्माननीय प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रिय सभापति श्री शेरबहादुर देउवाजीलाई लिखित पत्र पठाएर आग्रह गरेका छौं । आगामी बस्ने केन्द्रिय कार्य समितिको बैठकमा हाम्रो मागलाई सम्बोधन नगरिए मिति २०७८ मंसीर १ गतेदेखि नेपाली कांग्रेस केन्द्रिय कार्यालय सानेपामा धर्ना र अनसनका कार्यक्रमहरु अगाडि बढाउने व्यहोरासमेत यसैप्रेस विज्ञप्तीमार्फत् जानकारी गराउँदछौं ।’
सभापति मल्लले केन्द्रिय निर्वाचन समितिले पनि सभापति देउवाको निर्देशनमा आफूहरुको मागको सुनुवाई समेत नगरेको भन्दै आपत्ति जनाए । उनले सबै जिल्लामा जिल्ला कार्य समितिको निर्देशन अनुसार वडा तथा पालिका अधिवेशनहरु हुने तर डडेलधुरामा किन नहुने भन्दै पार्टीका केन्द्रिय सभापति देउवा र केन्द्रिय निर्वाचन समितिलाई प्रश्न समेत गरे । सभापति मल्लले क्रियाशील सदस्यताको विवाद समाधान नभई आफ्नो जिल्लामा गरिएका वडा तथा पालिका अधिवेशनहरु मान्य नहुने अडान समेत दोहोर्याए ।
नेपाली कांग्रेसको वडा अधिवेशन हुन नसकेका जिल्लाहरुमा शनिबार सुरु भएको छ । नेपाली कांग्रेसको १४ औं केन्द्रिय महाधिवेशन मंसीर २४ गतेदेखि २६ गतेसम्म काठमाडौंमा हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया