नयाँ दिल्लीमा दुई दिन लकडाउन गर्न सर्वोच्च अदालतको सुझाव

लोकपथ
4.5k
Shares

नयाँ दिल्ली । भारतको सर्वोच्च अदालतले नयाँ दिल्लीमा दुई दिन लकडाउन गर्न सुझाव दिएको छ । केन्द्रीय राजधानीसमेत रहेको नयाँ दिल्लीमा प्रदुषणको मात्रा न्युनिकरण गर्नका लागि लकडाउन गर्न अदालतले शनिबार सुझाव दिएको हो ।

भारतका प्रधानन्यायधिश एन भी रमण, न्यायाधिशहरु डि वाई चन्द्रचुडा र सुर्यकान्तको इजलाशले दिएको सुझावको अहिले निकै चर्चा भएको छ । “हावाको गुणस्तर मापक सूचकांकलाई ५०० बाट कम्तीमा २०० मा झार्नु पर्नेछ, त्यसको लागि एउटा राम्रो उपाय दुई दिने लकडाउन हुनसक्छ,” सुझावमा उल्लेख गरिएको छ ।

मानिसको स्वास्थ्यका लागि लकडाउन आवश्यक भएकाले त्यसतर्फ सोच्न सकिन्छ भन्ने प्रश्न पनि न्यायाधिशहरुले गरेका छन् । लकडाउनलाई अदालतले तात्कालिन उपायको रुपमा मात्रै लिन आग्रह गर्दै दिर्घकालिन रुपमा समस्याको समाधान गर्ने उपाय भने अरु नै अपनाउनु पर्ने उल्लेख गरेको छ ।

अदालतले अति प्रदुषण भएकाले अहिले बालबालिकाहरुलाई घरबाहिर निस्कन दिनु वा विद्यालय आवत जावत गराउन पनि पुनर्विचार गर्नुपर्ने तर्फ ध्यानाकर्षण गराएको छ । चिकित्सकहरुले वायु प्रदुषणले बालबालिकाको स्वास्थ्यमा गम्भीर र दिर्घकालिन असर पर्ने भएकाले त्यस तर्फ विषेश ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।

विज्ञ तथा सरोकारवालाहरुले प्रदुषणबाट बालबालिकाहरुलाई दिर्घकालिन असर पर्ने भन्दै चिन्ता पनि व्यक्त गरेका छन् ।वायु प्रदुषणको असर बालबालिकाहरुमा अहिले भन्दा पछि बढी देखिने सर गंगाराम अस्पतालका डा। धिरेन गुप्ताको भनाई छ ।

“बालबालिकामा प्रदुषणको असर अहिले के देखिएको छ र रु त्योभन्दा बढी असर त पछि देखिन्छ, त्यसैले यो धेरै गम्भीर र दुरगामी समस्या हो,” उनले भने । बालबालिकामा यसले पार्ने असरका बारेमा चिन्ता, चासो र गाम्भीर्यता अधिकांशमा नदेखिनु अर्को चिन्ताको विषय भएको उनको टिप्पणी छ ।

विशेष गरेर बालबालिकामा स्वास प्रस्वाससँगै मानसिक समस्या पनि देखिन सक्ने उनले बताए । साथै आँखा पिरो हुने र घाँटी चिलाउने असर तत्काल नै देखिएको र त्यस्ता विरामीहरुको सङ्ख्या अत्यधिक धेरै रहेको उनले जानकारी दिए ।

नयाँ दिल्लीमा दीपावलीका पटाकाहरूका कारण अघिल्लो शुक्रवारदेखि वायु प्रदूषण फेरि खतरनाकपूर्ण अवस्थामा पुगेको छ । पटकाको प्रयोगमा प्रतिबन्ध लगाइए पनि सहरभरि मानिसहरूले तिहारका बेलामा राती अबेरसम्म पटाकाहरू पट्काएका कारण आकाश नै धुम्म परेको अधिकारीहरुको भनाई छ ।

सवारीसाधन, औद्योगिक उत्सर्जन, धुलो र मौसमका कारण पछिल्ला केही बर्षदेखि भारतको नयाँ दिल्ली विश्वको सबैभन्दा प्रदूषित राजधानीको रूपमा चिनिदै आएको छ । हिउँदमा छिमेकी राज्यहरूमा जलाइएका परालहरूका धुवाँका कारण पनि दिल्लीको वायु विषाक्त बन्ने गरेको छ ।

सरकारी वायु गुणस्तर मापन अधिकारीहरूले त्यहाँको प्रदूषण कणको ३५ प्रतिशत जलाइएका परालहरूका कारण भएको र त्यो बढ्दै जाने अनुमान गरेका छन । दिल्ली मात्रै नभइ भारतका अरु पनि धेरै सहरहरु अति प्रदुषित सहरमा पर्दछन । संसारका सबैभन्दा धेरै प्रदूषित ३० सहरमध्ये २२ वटा सहर भारतमै रहेका छन ।

भारतका प्रदूषित वायुका कारण बर्सेनि १० लाख मानिसको मृत्यु हुने विभिन्न तथ्याङ्कहरुले देखाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?