काठमाडाैं : एउटै कम्युनिष्ट केन्द्र बनाउने र वामपन्थी सरकार गठन गरि देशलार्इ समाजवादमा लैजाने जनाउँदै दाबी गर्दै नेकपा (एमाले) र नेकपा (माअोवादी केन्द्र) बीच संघीय र प्रादेशिक चुनावमा गठजोड बन्यो । एउटै घोषणापत्रमार्फत चुनाव लडेका यी दलले ६ वटा प्रदेशमा वाम सरकार गठन गरे । केन्द्रीय सत्ता पनि दुर्इ तिहार्इ बहुमतका साथ यी दुर्इ वामपन्थी दलकै कब्जामा छ ।
चुनावी जीतपछि सरकार गठन अगावै यी दुर्इ पार्टीबीच एकता हुने अनुमान थियो । तर, त्यसो हुन सकेन । गृहकार्य नपुगेको जनाउँदै निरन्तर एकताको भाखा पछि सारिरहेका एमाले र माअोवादीबीच पछिल्लो पटक सत्ता सञ्चालन र दुर्इ पार्टी सम्बन्धमा देखिएको व्यवहारले दुरी अझै बढार्इदिएको छ ।
एक समयका कट्टर प्रतिष्पर्धी एवं विरोधी एमाले र माअोवादीबीचको एकता प्रकृयामा जे जस्ता अवरोध देखिएका छन्, त्यसले यी दुर्इ पार्टीबीच एकता त के, सरकार सञ्चालनमै समस्या पर्न सक्ने स्थिति अाएको माअोवादी स्रोत बताउँछ । एमालेले सत्ता र गठबन्धनको व्यवहारमा मपार्इँत्व देखार्इरहे माअोवादी सरकारबाट बाहिरिने र नयाँ गठबन्धनका लागि पहल गर्नेसम्मको योजना रहेको माअोवादी केन्द्रका एक नेताले लोकपथलार्इ बताए ।
''२०६४ को संविधानसभामा हामी सवैभन्दा ठूलो दल थियाैं, तर संसदको तेस्रो र अाकारका हिसाबले निकै सानो दल एमालेका नेताहरू माधव नेपाल र झलनाथ खनाललार्इ पालैपालो प्रधानमन्त्री बनाएका थियाैं, अहिले त एउटै घोषणापत्रमा चुनाव लडेपनि चुनावी प्रतिपक्षीजस्तो व्यवहार एमालेका तर्फबाट भर्इरहेको छ,'' माअोवादीका एकजना प्रभावशाली नेता भन्छन् ''वाम एकताकै नाममा चुनाव लडेपछि फेरि दुर्इ पार्टी टाढा भएको घोषणा गर्नु निकै कष्टकर छ, त्यसैले कि सवै कुरामा सम्झाैता गरेर अपर्झट एकता गर्नुपर्छ, कि एकता प्रकृयाबाट टाढिएको घोषणा गर्नुपर्छ, अहिलेलार्इ माअोवादीले यस्तो घोषणा एमालेबाट भैदियोस् भन्ने चाहेको छ, एमालेले पनि विभाजनको कुरा माअोवादीबाटै अाअोस्, अाफु पहिले बोल्नु नपरोस भन्ठानेको होला ।''
एकताको दाबी गरेर सरकारमा दुर्इ पार्टी सहभागी भएपनि सरकार सञ्चालनमा यी पार्टीबीच समन्वयमा निकै गहिरो खाडल देखिन्छ । ''एकतापछि हाम्रै कार्यकर्ता हुने न हुन्, त्यसैले यिनले जे भने मान्नुपर्छ भन्ने मानसिकता प्रधानमन्त्री केपी शर्मा अोली र एमालेमा देखिएको छ,'' माअोवादीका तर्फबाट सरकारमा सहभागी एक मन्त्री भन्छन् ''पार्टी एकताको यस्तो संवेदनशील चरणमा हरेक काममा सहृदयतापूर्वक छलफल हुनुपर्ने हो, यहाँ त पेलेरै जाने काम भर्इरहेको छ, हामी त एमालेलार्इ ५ बर्ष सत्ताको नेतृत्व सुम्पिदिने निमित्त राजनीतिक शक्तिजस्तो मात्रै पो भयाैं ।''
माअोवादी केन्द्र प्रधानमन्त्री अोलीले गरेका ६ वटा कामबाट बढि चिढिएको देखिन्छ, जसले यी दुर्इ पार्टीबीचको एकता प्रकृया तत्कालार्इ स्थगित गर्नुपर्ने स्थितीमा पुर्यार्इदिएको छ ।
१. सचिव सरूवा : प्रधानमन्त्री अोली चैत २३ गते भारत भ्रमणमा गए । भारत जानु अघिल्लो दिन अर्थात चैत २२ गते अोलीले जुन काम गरे, त्यो निर्णयले माअोवादीलार्इ झस्काएन मात्रै, एकताका नाममा पार्टीमा मिसार्इ अाफुहरूको कुनै अस्तित्व स्वीकार नगर्ने मनोदशामा एमाले रहेको भान माअोवादी पक्षलार्इ भयो । अोलीले २२ गते ३० जना सचिवलार्इ सरूवा गरेका थिए । विमानमा चढेर अोली भारततर्फ लागेपछि मात्रै माअोवादीका मन्त्रीहरूले सचिव सरूवाको खबर पाएको बताउने गरेका छन् । सरूवा प्रकृयामा अाफुहरूलार्इ कुनै जानकारी नदिएको माअोवादी पक्षले अारोप लगायो ।
अोलीले अाफुहरूसँग छलफल नगरि सरूवाको निर्णय गरेको जनाउँदै माअोवादीका मन्त्रीहरू असन्तुष्टि जनाउन प्रचण्डकहाँ पुगे । उनीहरूले एमाले निकटका सचिवहरूले अाफुहरूलार्इ नटेर्ने गरेको र अाफुले सम्हालेको मन्त्रालयमा प्रधानमन्त्री अोलीले सिधै हस्तक्षेप गर्न खोजेको अारोप लगाए ।
२. अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालयमा गाभ्ने काम : फागुन १६ गते मन्त्रीपरिषद् बैठकबाट माअोवादी चिढाउने अर्को निर्णय भएको थियो । गृहमन्त्रालयअन्तर्गतको राष्ट्रिय अनुसन्धान विभागलार्इ प्रधानमन्त्रीले क्याबिनेटको निर्णयमार्फत अाफ्नो अधिनमा ल्याए । तर, दुर्इदिन अघि मात्र माअोवादीका तर्फबाट गृहमन्त्री बनेका रामबहादुर थापा 'बादल' अोलीको यो निर्णयसँग नराम्ररी चिढिए । अोलीको निर्देशनमा मन्त्रीपरिषद्ले एक त पुरानो मिति राखेर निर्णय गरेको थियो भने अर्कातर्फ नेपाल विशेष सेवा एेन नै संशोधन नगरि प्रधानमन्त्रीमा थप शक्ति केन्द्रिकृत गरिएको थियो बादल पनि असन्तुष्टि सुनाउन पार्टी अध्यक्ष प्रचण्डकहाँ पुगे ।
अनुसन्धान विभाग कार्यकर्ता भर्ती गर्ने अाकर्षक अखडाका रूपमा पछिल्लो पटक अालोचित छ । राजनीतिकरण गरिँदा अनुसन्धानकै काम प्रभावित बनिरहेको सरकारी अधिकारीहरूले बताउने गरेका छन् । तर, यही निकायमा राजनीतिक भर्तीका लागि दुर्इ पार्टीबिचको विवादले एकतालार्इ थप धरापमा पारेको हो ।
३. माअोवादीलार्इ बार्इपास गरि बजेट तर्जुमा : अागामी अार्थिक बर्षको बजेट तयारीको काममा सरकार फागुनदेखि अलि बढि सक्रिय देखियो । त्यसअघि कांग्रेस नेतृत्वको सरकारले अाफु प्रतिकुलको चुनावी नतिजाका कारण सरकार छाड्नुपर्ने वाध्यताका कारण बजेट तयारीलार्इ खासै महत्व दिएको थिए । ३ फागुनमा माअोवादी समर्थनमा केपी अोली प्रधानमन्त्रीमा नियुक्त भए । लगत्तै उनले एमालेनिकट डा. युवराज खतिवडालार्इ अर्थमन्त्रीमा नियुक्त गरे । तर, खतिवडाले स्थिति यस्तो बनार्इदिए कि, बजेट तर्जुमामा सरोकारवाला निकाय त के, स्वयं सत्ता साझेदार माअोवादीलार्इ पनि बार्इपास गरे ।
बजेटमा एमालेको मनमाैजी भएको भन्दै माअोवादीका नेताहरू फेरि प्रचण्ड गुहार्न पुगे । प्रचण्डले यसबारे प्रधानमन्त्री अोलीसँग छलफल गर्ने बताए, तर बैशाख २६ गते अोली र प्रचण्ड भेटेयता यसबारे कुनै छलफल भएको छैन ।
४. अरूण तेस्रोको शिलान्यासमा उर्जामन्त्री नै बेखबर : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चैत २८ गते नेपाल अाए । सोही दिन प्रधानमन्त्री अोली र भारतीय प्रधानमन्त्री मोदीले अरूण तेस्रो जलविद्युत अायोजना निर्माणका लागि भन्दै काठमाडाैंबाट स्वीच अन गरि संयुक्त रूपमा शिलान्यास भएको घोषणा गरे । अोलीले यो अायोजनाको शिलान्यास गर्नुअघि २९ फागुनमा लगानी बोर्डको बैठक राखि ५ सय मेगावाटभन्दा माथिका अायोजना कार्यान्वयन बोर्डमार्फत हुने निर्णय गराएका थिए । यो निर्णयमै असन्तुष्ट उर्जामन्त्री बर्षमान पुन 'अनन्त' लार्इ अायोजनाको शिलान्यास कार्यक्रममा नै निम्तो गरिएन । सरकारमा सहभागी अाफ्ना प्रभावशाली नेता एवं मन्त्रीलार्इ नै बार्इपास गरेपछि माअोवादी एमालेसँग थप चिढिएको छ ।
५. मोदी भ्रमण व्यवस्थापनमा गृहलार्इ खबर नगर्नु : मोदी नेपाल अाउँदा भारतीय पक्षले जुन तडकभडक देखायो, त्यसको सर्वत्र अालोचना भर्इरहेको छ । भारतीय सुरक्षाकर्मीको विभिन्न दस्ता र शैनिक हेलिकोप्टरको प्रयोग गर्दै मोदी नेपाल अाएका थिए ।
परराष्ट्र मन्त्री एमालेकै प्रदिप ज्ञवाली हुन् । भारतले ज्ञवालीको परिवर्तित नरम धार टेकेरै सिधै परराष्ट्र मन्त्रालयसँग नेपालमा अाफ्ना कमाण्डो र विशेष कार्यदलसहितको सुरक्षा फाैज पठाउने अनुमति माग्यो, ज्ञवालीले रक्षा र गृहसँग समन्वय गर्न अावश्यक नै ठानेनन, भारतीय प्रस्तावमा ल्याप्चे ठोकिदिए । भारतीय सेना नेपालमा ग्वार्ग्वार्ती प्रवेश गर्यो ।
गृहमन्त्री रामबहादुर थापा फेरि प्रधानमन्त्री अोली र एमालेसँग चिढिए । माअोवादी केन्द्रमा प्रचण्डपछि हालका प्रभावशाली नेता एवं युद्दकालका शैन्य र्इन्चार्ज थापालार्इ सत्ता राजनीतिमा एमालेले गरेको व्यवहार पच्ने कुरै भएन । उनले प्रचण्डलार्इ खबर गरे, प्रचण्डले उही अाश्वासन दिए 'म अोलीजी सँग कुरा गर्छु ।'
६.अोलीको ट्वीट : २४ बैशाखमा एमाले अध्यक्ष एवं केपी शर्मा अोलीको ट्वीटले माअोवादीलार्इ फेरि झस्कायो ।
अोलीले अाफुहरू समृद्दिको बाटोमा हिँडेपनि सत्ता समीकरणको दुनो सोझ्याउन बानी परेकालार्इ एमालेको काम अरूचीपूर्ण हुन सक्ने भन्दै माअोवादीलार्इ थप दबाबमा राख्ने धारणा व्यक्त गरे । भोलीपल्टै २६ बैशाखमा प्रचण्डले भने 'ट्वीटले निश्चित रूपमा हामीलार्इ गम्भिर बनाएको छ, एकतामा यस्तो कामले संशय पैदा गर्न सक्छ ।' राजनीतिका चतुर खेलाडी अोलीले पनि प्रचण्डसँगको भेटमा अरूले नै फरक भावले ट्वीट गरिदिएको भन्दै प्रचण्डलार्इ थम्थम्पाउन खोजे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया