जनगणना कार्यक्रममा सही विवरण टिपाएर सहयोग गर्न मुख्यमन्त्री राउतको आह्वान

RSS
0
Shares

वीरगञ्ज । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले १२औं राष्ट्रिय जनगणना कार्यक्रममा सही विवरण टिपाएर सहयोग गर्न सबै प्रदेशवासीमा अनुरोध गरेका छन्।

मुख्यमन्त्री राउतले आज जारी गरेका सन्देशमा जनगणना लिनआउने सुपरीवेक्षक वा गणकलाई सही विवरण टिपाउँ । आउने गणकलाई आत्मीय व्यवहार गरौं । उनीहरुले सोधेका सबै प्रश्न धैर्यतापूर्वक सुनेर सही जवाफ दिन सबै प्रदेशवासी दाजुभाइ दिदीबहिनीलाई हार्दिक अनुरोध गर्दछु उल्लेख छ ।

केन्द्रीय तथ्याङ्क विभागले यस जनगणनाको नारा ‘मेरो गणना मेरो सहभागिता’ राखेको छ । यो नारालाई सार्थक बनाउन सम्पूर्ण’ प्रदेशवासी दाजुभाइ दिदीबहिनीले जनगणनालाई अपनत्व लिएर गणकलाई सही विवरण टिपाएर सहयोग गर्नु हुन प्रदेश सरकार पुनःसम्पूर्ण प्रदेशवासीलाई हार्दिक अनुरोध गर्दछ, उनले सन्देशमा उल्लेख गरेको छ ।

उनले सन्देशमा भनिएको छ, “जनगणना तथ्याङ्क सङ्कलनको पहिलो चरणअन्तर्गत भदौदेखि असोज १८ सम्म तपाई हाम्रो घरदैलोमा आई घर तथा घरपरिवार सूचीकरण कार्य सम्पन्न गरेको हामी सबैलाई जानकारी नै छ । यसैगरी कात्तिक २५ गतेदेखि मङ्सिर ९ गतेसम्म गणक पारिवारिक र व्यक्तिगत विवरण लिन घर–घरमा आउँदै हुनुहुन्छ । जनगणनामा गणकले सोधेका प्रश्नको सही उत्तर दिउँ ।” उनले सन्देशमा तपाईले टिपाएका तथ्याङ्क गोप्य रहन्छन् । यस्ता विवरण गोप्य नराख्ने वा गोपनीयता भङग गर्ने जोकोहीलाई कानुन बमोजिम कारबाही हुन्छ । त्यसैले आफूले टिपाएको विवरणको गोपनियता नरहने हो कि भनेर कसैले द्विविधा लिनु नपर्ने बताएका छन्।

राज्यको पुनःसंरचनापछि अर्थात देशले सङ्घीय शासन प्रणाली अङ्गाले पछिको यो पहिलो जनगणना हो । त्यस कारण पनि यस पटकको जनगणनाको खास महत्व छ । अझ प्रदेश भनेको सङ्घीयताले जन्माएको नयाँ प्रणाली हो । प्रदेशमा आधारित भएर हालसम्म यति ठूलो कुनै पनि अध्ययन अनुसन्धान भएको छैन । विसं २०७२ मा संविधान जारी भएसँगै प्रदेशको स्थापना भए पनि हाम्रो आफ्नै तथ्याङ्क थिएन । २०६८ सालमा राज्यको पुरानो संरचना अन्तर्गत गरिएको जनगणनाका तथ्याङ्कलाई नै हामीले उपयोग गरेर यहाँसम्म आइपुगेका छौँ । तर यसपाली जनगणनाले नेपालमा पहिलो पटक प्रादेशिक मोडलमा आधारित जनसङ्ख्या तथ्याङ्क उपलब्ध गराउनेछ जुनखुशीको कुरा हो, उनले सन्देशमा उल्लेख गरेका छन् ।

हाम्रो प्रदेशको जनसङ्ख्या कति छ ? कुनकुन जात जातिका मानिको बसोबास छ ? कुनधर्म र संस्कृतिका मानिस कति छन ? कुन भाषा बोल्ने मानिसको बाहुल्यता छ ? सामाजिक वहिष्करणमा परेका समूह दलित, जनजाति, अल्पसङ्ख्यक, लोपोन्मुख, महिला, अपाङ्गता भएका व्यक्ति आदिको जनसङ्ख्याको अवस्था के छ भन्ने कुरा जनगणनाले छर्लङ्ग पार्दछ । जनगणनाबाट आउने यही तथ्याङ्कलाई आधार बनाएर सम्बन्धित जाति, धार्मिक समुदाय, महिला वा अपाङ्गता भएका व्यक्तिका लागि प्रदेश सरकारले नीति र कार्यक्रम बनाउँदछ, सन्देशमा उनले भने।

मुख्यमन्त्री राउतले आफूले टिपाएको सही तथ्याङ्कले आफनै लागि प्रदेश सरकारलाई योजना बनाउन सजिलो हुनेछ भन्ने कुरा सबैले बुझ्नुपर्ने बताएका छन्। यस पटकको जनगणनामा रोजगार, बेरोजगार, बैंक तथा वित्तीय संस्थामा पहुँचको अवस्था, सरकारी अनुदान प्राप्त गरेको नगरेको, वडातहसम्म सामुदायिक भवनको अवस्था के कस्तो छ जस्ता मसिना तर नागरिकका लागि अति महत्वपूर्ण विषयका प्रश्नावली पनि समेटिएको छ । जारी सन्देशमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?