देउवाको महाधिवेशन कार्ड : समन्वय समितिप्रति पार्टीमा बढ्यो असन्तुष्टि

काठमाडौं । सत्ता गठबन्धनले सरकार सञ्चालन र चुनावमा सहयोगीका रूपमा काम गर्न ११ सदस्यीय समन्वय समिति बनाएसँगै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले असंवैधानिक समिति बनाएको भनेर प्रतिपक्षी धर्म निभाइरहेको छ ।

समिति गठनलाई लिएर सत्तारुढ नेपाली कांग्रेसमा पनि विवाद उत्पन्न भएको छ । गणेशमान सिंहको १०७औँ जन्मजयन्तीका अवसरमा बुधबार बिहान काठमाडौंमा आयोजित कार्यक्रममा नेता प्रकाशमान सिंहले संविधानअनुसार पनि यस्तो संयन्त्र औचित्य नरहेको बताए । उनी भन्छन, ‘काम त सरकारले गर्नुपर्ने हो । तर समन्वय समिति बनाइएको छ । अहिलेको अवस्थामा यो आवश्यक छ जस्तो मलाई लागेको छैन ।’

उच्चस्तरीय राजनीतिक समिति वा समन्वय समिति जे नाम दिए पनि सरकारलाई नियन्त्रणमा राख्न खोज्ने नियत रहेको सिंहको भनाइ छ ।

‘नाम जे दिए पनि सरकारलाई कन्ट्रोल गर्ने मेकानिजमबाट यो बनेको छ । प्रजातान्त्रिक प्रणालीमा यो आवश्यक छैन,’ कांग्रेसको तर्फबाट समितिका सदस्य कृष्ण सिटौलाले भने, ‘राष्ट्रियसभाको निर्वाचन र उपनिर्वाचनमा पाँचदलीय गठबन्धन सोही रूपमा चुनावमा गए त बहुमत आउँछ, त्यस कारण प्रतिपक्षीले यसको विरोध त गर्ने नै भयो । सरकार र राजनीतिक दलबीच समझदारी चाहिन्छ । सहजीकरणको लागि समिति गठन भएको हो ।’

समितिको नेतृत्व दुई-दुई महिनामा हेरफेर हुनेछ । अहिले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले नेतृत्व गर्दै छन् । समितिमा पाँच दलका दुई-दुई जना प्रतिनिधि रहनेछन् । सरकारको तर्फबाट सञ्चारमन्त्री कार्की रहेका छन् ।

समन्वय समितिले सरकारको काममा हस्तक्षेप नगरे पनि विभिन्न विषयमा सुझाव दिनेछ । गठबन्धन सरकारले कोभिड- १९ को महामारीमा नागरिकको जीवनरक्षा गर्ने, संविधानको सर्वोच्चता, कानुनी राज्य र सुशासनको प्रत्याभूतिलाई प्राथमिकतामा राखेको छ ।

शान्ति प्रक्रियालाई पूणर्ता दिन विस्तृत शान्ति-सम्झौताका बाँकी काम तथा विभिन्न पक्षसँग भएका सहमतिको कार्यान्वयन गठबन्धनको अर्को प्राथमिकतामा छ । राजनीतिक दलहरूको सहमतिमा संविधान संशोधनका लागि पहल गर्ने गठबन्धनको योजना छ । समितिले तत्कालका लागि राष्ट्रियसभाको निर्वाचनको तयारी र सहकार्यबारे काम गर्नेछ । दीर्घकालीन सहकार्यबारे आ-आफ्ना पार्टीभित्र थप छलफल गरेर मात्रै निणर्य हुनेछ ।

कांग्रेसभित्रै प्रतिपक्षमा रहेका पौडेल र सिटौलालाई समन्वय समितिमा राख्नु प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको १४औँ महाधिवेशन प्रभावित पार्ने रणनीतिको रूपमा हेर्न थालिएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल निकट नेता गुरु घिमिरे समन्वय समितिमा पौडेल र सिटौलालाई राखेर महाधिवेशनमा प्रभाव नपर्ने बताउँछन् ।

उनी भन्छन्, ‘पार्टीको आफूसरहको नेतालाई जिम्मेवारी दिनुलाई अन्यथा रूपबाट किन चित्रण गर्नु ? पार्टीभित्रको आफ्नो प्रतिस्पर्धा छँदैछ । यसले पार्टीभित्रको समीकरणमा फेरबदल ल्याउँछ जस्तो मलाई लाग्दैन । आफ्नो-आफ्नो योजना छ, दौड छ महाधिवेशनको लागि ।’ तर पौडेल खेमामा महाधिवेशनमा आफ्नो पल्लाभारी पार्न खोजेको शंका गर्ने नेताहरू पनि छन् ।
‘उदार दृष्टिले हेर्दा सहयोग लिन खोजेको देखिन्छ । पार्टीभित्रको कटुता हेर्दा यस्तो गर्नु नपर्ने भन्ने आम मान्छेको अड्कल हो । २ महिना संयोजक रहँदा पनि पार्टीको निर्वाचन नै पर्छ । राजनीतिक रूपमा योजनाअन्तर्गत पनि हुनसक्छ’, पौडेल निकट एक नेताले लोकपथसँग भने ।

नेता घिमिरे चुनावी सरकार सहज रूपमा चल्ने दावी गर्छन् । ‘सरकारलाई सहयोग गर्ने भनिएको छ । समितिमा शीर्ष नेताहरू सबै छन् । बैठकमा प्रधानमन्त्री पनि सहभागी हुने भनिएको छ । गठबन्धनलाई सरकार चलाउन सहज होला । चुनावी सरकार भएकाले आम निर्वाचनसम्म सरकारलाई डोहोर्‍याउने काम हो’, घिमिरेले भने ।

सिटौला खेमामा पनि समितिको सुरुवाती संयोजक पौडेल हुनु र सिटौला पनि समितिमा रहनुलाई अन्यथा मान्न नमिल्ने मत छ ।

सिटौला निकट नेता भीमसेनदास प्रधान भन्छन्, ‘त्योबाहेक विकल्प नै थिएन । वरिष्ठ नेताहरूमा रामचन्द्र र सिटौलाजी नै हो । प्रधानमन्त्री भएपछि शेरबहादुर दाई आफैँले प्रधानमन्त्री भएपछि समितिमा बस्ने कुरा भएन । रामचन्द्र दाइको टिममा पनि द्वन्द्व छ । सिटौलाजीले बाहिर कहीँ पनि शेरबहादुर दाइलाई गाली गर्नुभएको छैन । पार्टीमा संकट आउँदा छानबिनदेखि महासमति बैठकसम्म झगडा हुँदा रामचन्द्र र शेरबहादुर दाइलाई मिलाउन सिटौलाकै भूमिका रह्यो । सिटौलाको नैतिक जिम्मेवारी पनि रह्यो ।’

सभापतिका दाबेदार रामचन्द्र पौडेल आफ्नो गुटमा पकड बनाउन सकिरहेका छैनन् । उनी निकट नेता प्रकाशमान सिहं आक्रामक ढंगले प्रस्तुत भइरहेका छन् । अन्य नेताको व्यवस्थापन गर्न पौडेललाई हम्मेहम्मे परेको छ । त्यसैले पौडेललाई जित्नेमा शंका छ त्यहाँभित्र ।

सभापतिको पहिलो राउन्डमा कसैको पनि ५० प्रतिशत कट्ने अवस्था वा स्पष्ट जित नआउने र सेकेन्ड राउन्डमा बार्गेनिङ हुने र त्यो बार्गेनिङमा बलियो हुन देउवाले कार्ड फ्याँकेको सिटौला पक्षका एक नेताले बताए ।

‘सभापतिमा सबै जना लड्ने हो । भोलि सभापतिको सेकेन्ड राउन्डमा रामचन्द्र दाइ पनि उठ्नुहुन्छ । त्यहाँ त कसैको सहयोग चाहियो नि । फस्ट राउन्डमा जितेनन् भने र रामचन्द्रलाई शेरबहादुर चाहियो शेरबहादुरलाई रामचन्द्र चाहियो । सेकेन्ड राउन्डमा त रामचन्द्रले शेरबहादुरलाई नै सहयोग गर्छन् । नेचुरल हो त्यो, अरुलाई सहयोग गर्दैनन् । सिटौला पनि त्यही हो । यी तीन नेता जुनबेला मिल्यो पार्टी अघि बढ्छ, जनुबेला बेमेल देखियो पार्टी फ्रिज हुन्छ । बहुपक्षीय भिडन्तममा आफूलाई ब्यालेन्स गरेर लग्यो भने भोलि अधिवेशनमा सहज हुन्छ । र यसले अधिवेशनलाई प्रभाव पार्छ’, सिटौला निकट एक नेताले भने ।

संसदको पूरा कार्यकाल वर्तमान सरकारले काम गर्ने भएकाले समितिमा पौडेल र सिटौलाको सहभागितालाई अन्यथा लिन नमिल्ने संस्थापन पक्षको मत छ ।

‘दलभित्र महाधिवेशनमा सबैको अनुहार हँसिलो होस् उत्साहका साथ महाधिवेशनमा सहभागी हुन् । तिक्तता समाप्त होस् हार्दिकता बढोस् भन्ने त हो नै । तर, सभापतिजीले आफ्ना साथिभाइलाई चित्त बुझाएरै जाऔँ भन्ने कुरालाई रणनीति भने पनि भयो, दैनिक कार्यनीति भने पनि भयो । अव्यक्त कुरालाई हामीले बोल्न मिलेन । समर्थकले राम्रो भन्न र समर्थन नगर्नेले नराम्रो भन्न पाइयो । विश्वास र शंकाको छुट सबैलाई छ’, कांग्रेस नेता मीन विश्वकर्माले लोकपथसँग भने ।

सभापतिका आकांक्षी शेखर कोइरालापक्षले भने यस विषयमा धारणा सार्वजनिक गरिसकेको छैन । इतर समूह पार्टी सञ्चालनदेखि सरकार सञ्चालनसम्म देउवासँग सन्तुष्ट हुन सकेको छैन ।

‘यसले महाधिवेशनलाई तात्विक प्रभाव पर्दैन । पार्टीभित्रका समस्या त छन् । ११० भन्दा बढी दिनदेखि पार्टी कार्यालयमा अनशन जारी छ । सरकार सञ्चालनको विषयमा पनि पार्टीभित्र छलफल छैन । सरकार सञ्चालनको लागि सहजीकरण गर्न बनेको समिति सफल रहोस् मेरो शुभकामना छ’, कांग्रेस नेता अर्जुननरसिहं केसीले भने ।

कांग्रेसभित्र वर्तमान संसदको कार्यकालसम्म मात्र गठबन्धन कायम राख्नुपर्ने र आम निर्वाचनमा कांग्रेस एक्लै मैदानमा उत्रनुपर्ने धारणा पौडेलपक्ष र युवा नेताको मत छ ।

समन्वय समिति गठन नै संविधानविपरीत रहेको बताएका कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंह प्रधानमन्त्री देउवा प्रमुख अतिथि भएको कार्यक्रममा गएनन् । गणेशमान सिंहका छोरा प्रकाशमान बुधबार गणेशमानको १०७औँ जन्मजयन्तीमा गणेशमान सिंह तथा जनआन्दोलन सहिद स्मृति शान्ति प्रतिष्ठानले गरेको कार्यक्रममा नगएका हुन् ।

प्रतिष्ठानको कार्यक्रम चलिरहँदा सिंह बर्दिया पुगेका थिए । ‘गणेशमानको नाममा धेरै संघसंस्थाले कार्यक्रम गरिराखेका छन्, सबै ठाउँमा जान भ्याइँदैन, काठमाडौँको मात्र हेरेर भएन नि’, सिंहले भने, ‘विभिन्न जिल्लामा पुग्नुपर्छ, बर्दियामा गणेशमानको शालिक अनावरणको लागि आएको छु ।’

समितिमा कांग्रेसबाट वरिष्ठ नेता पौडेल र सिटौला सदस्य छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव सदस्यमा रहेका छन् ।

राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी र दुर्गा पौडेल रहेका छन् भने एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल रहेका छन् । जनता समाजवादीले भने पार्टीमा सल्लाह गरेर थप एक सदस्यको दिनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?