काठमाडौं । राष्ट्रिय सभा सदस्य एवं नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले अमेरिकी सहयोग परियोजना (एमसीसी) फिर्ता गर्न आग्रह गरेका छन् ।
एमसीसी परियोजनाले नेपालको हित भन्दा पनि जनमत विभाजन गर्ने भन्दै नेपाल सरकारलाई उक्त सम्झौता फिर्ता लिन आग्रह गरेका हुन् ।
बुधबार एक वक्तव्य जारी गर्दै नेता गौतमले भनेका छन्, ‘अहिले आएको एमसीसी परियोजनाले नेपालको हित भन्दा पनि जनमतको विभाजनका कारण गम्भीर अहित हुने अवस्था सृजना हुने देखिएको छ ।’
नेपालको वर्तमान राजनीतिक परिस्थितीका कारण संसद भए पनि सरकार र संसदले त्यसलाई अनुमोदन गर्न नसक्ने नेता गौतमको दाबी रहेको छ ।
जारी वक्तव्यमा भनिएको छ, ‘नेपालमा अहिलेको जटिल अवस्थामा जुन सरकार बनेको र जस्तो अवस्थामा संसद् रहेको छ, नेपाल सरकार र संसदले पनि अनुमोदन गर्न सक्ने अवस्था देखिन्न । यस्तो अवस्थामा म नेपाल र सरकार र संयुक्त राज्य अमेरिका सरकार समक्ष एमसीसी परियोजना फिर्ता गर्न विनम्र अनुरोध गर्दछु । यो अवस्थालाई मध्यनजर गर्दै एक पक्षीय रुपमा भए पनि मित्र राष्ट्र संयुक्त राज्य अमेरिकी सरकारलाई एमसीसी परियोजना फिर्ता लगेर नेपालको हित प्रवर्द्धन गर्न विनम्र अनुरोध गर्दछु ।’
नेपाल र अमेरिका सरकारबीच सम्झौता र सहमती सार्वजनिक भए पनि यसका कतिपय प्रावधानहरुमा नेपालका ठूला राजनीतिक दलहरुबीच विवाद सुरु भएको उनले बताएका छन् ।
नेपाल र अमेरिकाबीच १९४७ मा दौत्य सम्बन्ध कायम भएर अहिलेसम्म कुनै पनि विवाद नभएको उनको भनाइ रहेको छ । तर उक्त सम्झौता कार्यान्वयनका क्रममा नेपालका छिमेकी दुई देश भारत र चीनसँगको सम्बन्ध बिग्रिन सक्ने उनको जिकिर रहेको छ ।
‘यो सम्झौताले नेपालका छिमेकी मुलुकहरुसँग सम्बन्ध बिग्रने पो हो कि भन्ने आशंका व्यक्त भइरहेका देखिन्छ । सम्झौता कार्यान्वयनबाट नेपालको स्वतन्त्रता र सार्वभौमिकतामा समेत आँच पुग्ने शंका गर्न थालिएको छ ।’ जारी वक्तव्यमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया