नुवाकोटमा कांग्रेस महाधिवेशन : केन्द्रको समीकरण पुनः भत्कियो, दुई पक्षको प्रतिस्पर्धा हुँदै

विदुर । नुवाकोटमा नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत स्थानीय अधिवेशनको सरगर्मी बढेको छ । जिल्लामा वडा र पालिका अधिवेशन सम्पन्न भएसँगै नयाँ कार्यतालिकाअनुसार क्षेत्रीय अधिवेशनमा नेपाली कांग्रेस नुवाकोट जुटेको हो ।

कांग्रेसले यसअघि वडा अधिवेशन नभएका जिल्लाहरूमा छठलगत्तै वडा अधिवेशनको तयारी गरेको छ भने पालिका अधिवेशन सम्पन्न भइसकेका जिल्लाहरूमा मंसिर ३ गते प्रदेश र मंसिर ६ गते क्षेत्रीय अधिवेशन तोकेको छ ।

यसैअनुसार नुवाकोटका ४ वटा प्रदेश निर्वाचन क्षेत्रहरूमा मंसिर ३ गते हुने प्रदेश अधिवेशन र २ वटा निर्वाचन क्षेत्रमा हुने क्षेत्रीय अधिवेशनबाट नेतृत्वमा पुग्न क्षेत्रीय अधिवेशन प्रतिनिधिहरू समूहगत प्रतिस्पर्धाको तयारीमा रहेका छन् ।

नेता कार्यकर्ताहरु आ–आफ्नो तयारीमा रहँदा कांग्रेसको केन्द्रमा प्रतिनिधित्व गर्ने नुवाकोटका नेताहरूले यसलाई आफ्नो प्रतिष्ठाको विषय बनाएका छन् । कांग्रेस केन्द्रमा एउटै समूहमा रहेका नेताहरू अर्जुननरसिंह केसी र डाक्टर रामशरण महतबीच जिल्लामा भने गठजोड नमिल्दा जिल्लामा केसीसमूह र महत–लामासमूहको नाममा कार्यकर्ताहरू विभाजित छन् ।

स्थानीय अधिवेशनदेखि नै डा. प्रकाशशरण महत, रामशरण महत र बहादुरसिंह लामाले केसीसमूहका विरुद्ध आफ्नो समूह नै प्रतिस्पर्धामा ल्याए पनि पालिका अधिवेशनमा उत्साहजनक नतिजा हात पारेको केसी समूह प्रदेश, क्षेत्र र जिल्ला अधिवेशनबाट आफू पक्षधरहरू नेतृत्वमा स्थापित हुने पूर्ण विश्वासमा छ ।

अधिवेशनको सरगर्मीसँगै नुवाकोट निर्वाचन क्षेत्र नम्बर २ को अधिवेशनलाई अत्यधिक चासोका साथ हेरिँदै आइएको छ । यहाँको क्षेत्रीय अधिवेशनमा केसीसमूहले युवा विद्यार्थी नेता एवं सामाजिक अभियन्ता मछिन्द्रनरसिंह प्याकुरेललाई सभापतिको रूपमा अघि सारेको छ भने महत–लामासमूहको तर्फबाट वर्तमान क्षेत्रीय सभापति जगतबहादुर तामाङ प्रतिस्पर्धामा छन् ।

विशेष गरेर २०७२ को भूकम्प र कोरोना संक्रमणको समयमा समस्यामा परेकाहरूलाई उनीहरूकै स्थानमा पुगेर राहत र सहयोग उपलब्ध गराएका तथा पछिल्लो समय समस्यामा परेकाहरूलाई तत्काल रगत उपलब्ध गराउने कामको नेतृत्व गरेर लोकप्रियता कमाएका प्याकुरेल युवा विद्यार्थीमाझ अत्यन्त लोकप्रिय मानिन्छन् ।

यसैगरी आफ्नो समूहमा लोकप्रिय रहेका अर्का उम्मेदवार तामाङ जिल्लामा निर्माण व्यवसायको साथसाथै पार्टी राजनीति अघि बढाउँदै आएका छन् ।

यसैगरी केसीसमूहले निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा (क) बाट मदानपुरका अक्कलबहादुर ढुंगाना (श्याम) तथा महत–लामासमूहले बेलकोटका बैकुण्ठबहादुर पाण्डेलाई सभापतिको रूपमा मैदानमा उतारेको छ ।

ढुंगाना बेलकोटगढी–काठमाडौं सम्पर्क समितिको अध्यक्ष हुन् भने कोरोना संक्रमण रोकथाम र नियन्त्रणको कार्यमा उनले आफ्नो क्षेत्रमा देखाएको तत्परताले मतदान प्रतिनिधिहरूमा उनको राम्रो प्रभाव रहेको मानिन्छ ।

यसैगरी आफ्नो समूहमा सिनियर मानिने अर्का उमेदवार पाण्डेले पालिका अधिवेशनमा केसीसमूहले प्राप्त गरेको मत आफ्नो पक्षमा कति ल्याउन सक्छन् त्यसमै उनको प्रतिस्पर्धाको स्तर मापन हुने बेलकोटगढीका कांग्रेसहरू बताउँछन् ।

यसैगरी केसीसमूहले निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा (ख) बाट म्यागङ गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष आतमसिंह तामाङ र महत–लामासमूहले विद्यार्थी नेता गणेशमान तामाङलाई नेतृत्वका लागि अघि सारेको छ ।

सानो उमेरमै अत्यधिक मत प्राप्त गरेर जनप्रतिनिधि बनेपछि स्थानीयस्तरको विकास र नागरिकको हितका पक्षमा देखाएको तत्परताका कारण सामाजिक सञ्जालहरूमा समेत लोकप्रिय बन्दै आएका तामाङ र विगतका आन्दोलनहरूमा निरन्तर सहभागी रही आफ्नो समूहमा प्रभावी बन्दै आएका अर्का उम्मेदवार तामाङबीचको प्रतिस्पर्धालाई पनि अर्थपूर्ण रूपमा हेरिएको छ ।

त्यस्तै क्षेत्र नं १ मा पनि आगामी महाधिवेशनको सरगर्मी बढेको छ । क्षेत्र नं १ मा पनि लामा(महत र केसी समूहले आ(आफ्ना उम्मेदवार खडा गरेका छन् ।

जसमा क्षेत्र नं १ मा केसी समूहबाट विषम रिमालले क्षेत्रीय सभापतिमा उम्मेदवारी दिने तयारी गरेका छन् । भने उनको समूहबाट प्रदेश सभा ‘क’ बाट सरोज केसी र प्रदेश सभा ‘ख’ बाट ऋषीकुमार तामाङले उम्मेदवारी दिने तयारी गरेका छन् ।

त्यसैगरी नुवाकोट क्षेत्र नं १ बाट लामा महत समूहले ध्रुव श्रेष्ठलाई प्रतिनिधि सभा अन्तर्गत क्षेत्रीय सभापतिको उम्मेदवार बनाएको छ । भने उनको समूहबाट प्रदेश सभा ‘क’ मा सुशिल खड्का र प्रदेश सभा ‘ख’ बाट रामजी पौडेलले उम्मेदवारी दिने तयारी गरेका छन् ।

को–को बन्दै छन् महाधिवेशन प्रतिनिधिका उम्मेदवारहरू ?

केसीसमूह : जगदीश्वरनरसिंह केसी, सुरेन्द्रराज अधिकारी, शिवप्रसाद दाहाल, मोहनबहादुर खड्का, भरत खड्का, प्रतापसिंह लामा, वसन्तजंग ठकुरी, एसके नेपाल, प्रकाश राई, दीपक चित्रकार, बिन्दा अर्याल, राज्यलक्ष्मी श्रेष्ठ, हिरा पाण्डे, राधिका कुइँकेल, देवकी डोटेल, अञ्जली पाण्डे, मायादेवी न्यौपाने, शिव अधिकारीलगायत रहेका छन् ।

महत–लामासमूह : चोकराज शाक्य, हरिकृष्ण श्रेष्ठ, राजु थापा, श्रीराम श्रेष्ठ, लक्ष्मण श्रेष्ठ, गीता अमात्य, राजन श्रेष्ठ, ताराबहादुर कार्की, फैसिङ तामाङ, महेन्द्र तामाङ, छत्र लामा, गरबहादुर तामाङ, आशा लामा, गोपी शर्मा, जयराम दाहाल, दीपक लामा, यादव नेपाल, बद्री मुडबरी, विरेन्द्रकुमार शाही, बिन्दा थापा, सुनमाया तामाङलगायत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?