दशौँ महाधिवेशन : विद्युतीय मतदानको अभ्यास गराउँदै एमाले

RSS
78
Shares

काठमाडौं । नेकपा (एमाले)ले आशन्न १०औँ राष्ट्रिय महाधिवेशनमा विद्युतीय मेसिनबाट मतदानका लागि पार्टीका नेता–कार्यकर्तालाई नमूना मतदान अभ्यास गराउन थालेको छ ।

एमालेको केन्द्रीय कार्यालय, थापाथलीमा पार्टीका नेता तथा कार्यकर्तालाई विद्युतीय मेसिनबाट मतदान गर्न सिकाउनका लागि आजदेखि नमूना मतदानको व्यवस्था गरिएको हो । राम–लक्ष्मण भोटिङ मेसिनबाट एमालेले आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनमा विद्युतीय मतदानको प्रयोग गर्ने निर्णय गरिसकेको छ ।

‘आजदेखि हामीले पार्टी मुख्यालयमा विद्युतीय मेसिनबाट कसरी मतदान गर्ने भनेर नमूना मतदान गरिरहेका छौं’, राम–लक्ष्मण इनोभेसेनका निर्देशक लक्ष्मण रिमालले भने, ‘पार्टीका नेताले पार्टी कार्यालयमा आएर विद्युतीय मतदान गरिरहनुभएको छ ।’

उनका अनुसार आजदेखि महाधिवेशनमा मतदान हुनुभन्दा अगाडिसम्म महाधिवेशनका प्रतिनिधिलाई विद्युतीय मेसिनमा मतदान गर्न सिकाइने छ । अहिले पार्टी कार्यालयमा दुईवटा मेसिनबाट नमूना मतदान गरिरहेको महाधिवेशनस्थलमा भने तीनवटा मेसिनबाट नमूना मतदान गराइने उनले जानकारी दिए ।

एमालेको नवौँ राष्ट्रिय महाविधेशनमा विद्युतीय मेसिन प्रयोग गरेर मतदान गर्ने भने पनि आन्तरिक विवादका कारण अन्तिम समयमा आएर प्रयोग गरिएको थिएन । यसपटक एमाले महाधिवेशन निर्वाचनका लागि विद्युतीय मेसिन प्रयोग गर्ने भनेर राम–लक्ष्मण इनोभेसेनसँग सम्झौता समेत गरिसकेको छ ।

निर्देशक रिमालले सबै प्रतिनिधिलाई एक पटक विद्युतीय मेसिनमा नमूना मतदान गराइने बताए ।

‘महाधिवेशनमा सहभागी सबै प्रतिनिधिलाई एक पटक विद्युतीय मेसिनमा नमूना मतदान गरेर मात्र हामीले मतदान गराउने छौ’, उनले भने, ‘महाधिवेशनस्थलमा पनि हामीले मेसिनमा नमूना मतदान गराउनेछौँ ।’

विद्युतीय मतदानका लागि राम–लक्ष्मण इनोभेसेनले १०० वटा विद्युतीय मेसिन राख्ने तयारी गरेको छ । एक मेसिनमा दुई जनाले मतदान गर्ने व्यवस्था मिलाइने छ । एमालेको महाधिवेशनमा २२५ केन्द्रीय सदस्य, अनुशासन र लेखा आयोगमा १५/१५ जना गरी कुल २५५ पदका लागि निर्वाचन हुनेछ । निर्देशक रिमालले एक जना प्रतिनिधिलाई आधा घण्टामा मतदान सक्ने गरी व्यवस्था गरिएको बताए ।

‘जम्मा ४८ थरिका पदका लागि करिव ५०० जना उम्मेदवार हुने हाम्रो अनुमान छ’, उनले भने, ‘सोहीअनुसार ती पदमा मतदान गर्नका लागि एक जनाप्रनिनिधिलाई आधा घण्टा लाग्ने हाम्रो आकलन छ ।’

निर्वाचनमा समावेशीसहित ४८ स्थानका लागि ४८ वटा मतपत्रका स्क्रिन ती मेसिनमा रहने छन् । उनले निर्वाचन सकेको तीनदेखि चार घण्टाभित्र नतिजा सार्वजनिक गर्ने जानकारी दिए । एमालेको महाधिवेशनमा एक हजार ९९९ जना नबढ्ने गरी प्रतिनिधि चयन गरिनेछ ।

एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख सूर्य थापाले पार्टीको महाधिवेशनलाई प्रविधिमैत्री बनाउनुपर्छ भन्ने हिसाबले उक्त मेसिन प्रयोग गर्न लागिएको जानकारी दिँदै मुलुकको ठूलो राजनीतिक दलको महाधिवेशनमा प्रयोग भएपछि अरु दललाई प्रेरणा मिल्न सक्ने जनाए ।

नवौँ महाधिवेशनमा मेसिन प्रयोग नभएका कारण असार २२ गते मतदान सकिएको भए पनि गणना सम्पन्न गर्दा साउन १ गतेसम्म लगेकाले त्यसको तुलनामा मेसिनको प्रयोगले समय र खर्चको बचत गराउन सक्ने जनाए ।

यसरी गरिनेछ निर्वाचन

महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको निर्वाचन अधिकृतले रुजु गरेपछि मात्र विद्युतीय मेसिनमा मतदान गर्न पाउनेछन् । निर्वाचन अधिकृतले नाम रुजु गरिसकेपछि मतदानका लागि प्रतिनिधिलाई कुपन दिइनेछ ।

सोही कुपनका लागि मेसिनमा प्रतिनिधिले मतदान गर्नेछन् । प्रतिनिधिले ४८ स्थानका लागि तयार मतपत्रमा ४८ पटक स्क्रिनमा देखिने उम्मेदवारलाई मतदान गर्नेछन् । एउटा स्क्रिनमा मतदान गरेपछि स्वतः अर्को स्क्रिन देखिनेछ ।

यसरी एउटा स्क्रिनमा देखिएका उम्मेदवारलाई मतदान गरिसकेपछि क्रमशः अरू उम्मेदवारलाई मतदान गर्नेछ । मतदाताले एक पटक मतदान गरिसकेका उम्मेदवारको सच्चाउन परे फेरि सच्चाएर मतदान गर्नसक्ने निर्देशक रिमालले बताए। मतदानका लागि विभिन्न ठाउँमा मतदान केन्द्र राखिनेछ ।

एउटा मतदान केन्द्रमा आठवटा मेसिनबाट मतदान गरिने उनले जानकारी दिए । ती मतदान केन्द्रमा एक निर्वाचन अधिकृत, एक प्राविधिक र दुई उम्मेदवारका प्रतिनिधि रहनेछन् । विद्युतीय मतदान गर्नका लागि ४० जनाको प्राविधिक टोली खटिने भएको उनले बताए ।

मतदान भएको चार घण्टामा सबै परिणाम घोषणा गरिने उनले बताए । मतदान गरिसकेपछि सबै मेसिनबाट कसले कति मत पाए भन्ने नामावलीसमेत प्रिन्ट गरिन्छ । सयवटा मेसिनबाट प्रिन्ट भएका मतलाई जोडेर परिमाण घोषणा गरिने उनले बताए ।

‘मुचुल्का बनाउनेदेखि मतपरिणाम घोषणा हुँदासम्म करिब चार घण्टा समय लाग्छ’, उनले भने । उक्त इनोभेसनले हालसम्म ९२ वटा संस्थाको निर्वाचन गराइसकेको छ ।

विद्युतीय मेसिनबाट यसअघि नै एमालेको संसदीय दलको निर्वाचन भइसकेको छ । तत्कालीन राप्रपा नेपालले पनि यो मेसिन प्रयोगबाट निर्वाचन गराइसकेको छ । हालसम्म सबैन्दा ठूलो निर्वाचन १० हजार मतदाता रहेको राष्ट्रिय सहकारी बैंकले पनि विद्युतीय मेसिनबाट निर्वाचन गराइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?