व्यापार व्यवसायको लागि सहज वातावरण बनाउन गृहमन्त्री खाँणको निर्देशन

लोकपथ
130
Shares

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले व्यापार व्यवसायको लागि सहज वातावरण बनाइदिन प्रदेश नम्बर २ को सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

मंगलबार जनकपुर उद्योग वाणिज्य संघको ज्ञापन पत्र बुझ्दै मन्त्री खाँणले कारोनाको कारणले अर्थतन्त्र शिथिल भइरहेको उल्लेख गर्दै उद्योग व्यवसायका लागि सहज वातावरण बनाउन प्रदेश नम्बर २ को सुरक्षा निकायलाई निर्देशन दिएका हुन् ।

उनले उद्योग क्षेत्रमा राष्ट्रव्यापी रुपमा समस्याहरु देखापरेको र ती समस्याहरुलाई समाधान गर्न वर्तमान सरकार तत्पर रहेको बताए । उनले माल, समान ल्याउने क्रममा व्यापारीहरुलाई अनावश्यक रुपमा दुःख नदिन सुरक्षा निकायका प्रतिनिधिहरुलाई आग्रह गरे ।

मन्त्री खाँणले भाषा, संस्कृतिको विकासको लागि समेत सरकार गम्भीर रहेको र सबै भाषा र संस्कृतिलाई सरकारले सम्मान गरेको पनि बताए ।

उनले भने– ‘वर्तमान सरकार सबै समुदायलाई सम्मान गर्दछ । र उद्योगी, व्यवसायीहरुको स्वतन्त्र उद्योग, व्यवसाय सञ्चालनका लागि जुन माग गर्नुभएको छ, त्यसमा सरकार सकारात्मक छ । र स्थानीय प्रशासनले, सुरक्षा निकायले उहाँहरुलाई उद्योग, व्यवसाय सञ्चालनमा अवरोध गर्ने होइन कि सहयोग गर्नुपर्दछ ।’

उनले राष्ट्रिय राजनीतिक मुलधारमा नआएका पार्टीहरुसँग सम्वाद र छलफलगरी राजनीतिक मूलधारमा ल्याउने काम भइरहेको उनले जानकारी दिए । गृहमन्त्री खाँणले वर्तमान राजनीतिक परिस्थितिलाई सहजिकरणको दिशामा अगाडी बढाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?