नेता कार्यकर्ताबाट महाधिवेशन खर्च उठाउँदै एमाले

RSS
0
Shares

चितवन । नेकपा (एमाले)को १०औँ महाधिवेशनको खर्च पार्टीका सदस्यबाट उठाइने भएको छ । महाधिवेशन यही मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुनेछ ।

पार्टी सदस्यबाट लेभि उठाउने निर्णय भएको हो । महाधिवेशन मूल व्यवस्थापन समितिका सह–संयोजक सुरेन्द्र पाण्डेले एक जना सदस्यबाट एक सय रुपैयाँ उठाउने निर्णय भएको जानकारी दिए ।

नेकपा (एमाले)को सदस्य संख्या सात लाख छ । यसबाट सात करोड रुपैयाँ उठ्ने अनुमान गरिएको छ । महाधिवेशन प्रतिनिधिबाट दुई हजार र केन्द्रीय कमिटी सदस्यबाट तीन हजार रुपैयाँ उठाइने उनले जानकारी दिए। लाभका पदमा रहेकाबाट समेत शुल्क उठाइँदै छ । पाण्डेका अनुसार उनीहरुबाट के–कति उठाउने भन्ने बारेमा टुंगो लागिसकेको छैन । अन्यको लेभि उठाउन सर्कुलर गरी सकिएको उनले जानकारी दिए।

महाधिवेशनमा विद्युतीय उपकरणबाट मतदान गरिनेछ । मतदानका लागि एक सयवटा विद्युतीय उपकरण राखिने जनाइएको छ ।

महाधिवेशनको उद्घाटन सत्र चितवनको नारायणगढस्थित नारायणी किनारमा गरिनेछ । सो अवसरमा देशभरबाट पाँच लाखको हाराहारी नेता कार्यकर्ता उपस्थित हुने अनुमान गरिएको छ । बन्द सत्र सौराहाको बाघमारा चौरमा गरिनेछ । सबै विभागबाट खर्चको अनुमानित रकम आइनसकेकाले के–कति खर्च हुन्छ भने अनुमान गरी नसकेको पाण्डेले बताए ।

यसअघि नवौँ महाधिवेशनमा ६ करोड रुपैयाँ र त्यसअघि आठौँमा तीन करोड रुपैयाँ खर्च भएको उनले जानकारी दिए । योसँगै नेकपा एमालेले बाहिर महाधिवेशनका लागि चन्दा नउठाउने देखिएको छ ।

नेकपा एमालेको केन्द्रीय समिति २२५ सदस्यीय छन् । तीमध्ये १५ पदाधिकारी रहेका छन् । पाण्डेका अनुसार अध्यक्ष एक, वरिष्ठ उपाध्यक्ष एक, उपाध्यक्ष चार, महासचिव एक, उपमहासचिव एक र सचिव सात जना रहने व्यवस्था छ । उनीहरु महाधिवेशनबाट निर्वाचित हुनेछन् ।

महाधिवेशनमा दुई हजार प्रतिनिधि सहभागी हुने सह–संयोजक पाण्डेले बताए । बुटवलमा हुने भनिएको महाधिवेशन अन्तिम समयमा चितवनमा सारिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?