स्वास्थ्य उपचारपछि पार्टीको काममा फर्किए झलनाथ खनाल

लोकपथ
117
Shares

काठमाडौं । स्वास्थ्य उपचारपछि नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनाल पार्टीको काममा फर्किएका छन् ।

एसको विदेश विभाग प्रमुख समेत रहेका नेता खनाल सोमबार पार्टी केन्द्रीय कार्यालय, मीनभवन, आलोकनगरमा दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म उपस्थित भएका छन् ।

सोमबार एक विज्ञप्ति जारी गर्दै एसका उपमहासचिव तथा
प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले नेता खनाल पार्टीको काममा फर्किएको जानकारी गराएका हुन् ।

आज आफूले सम्हालेको विदेश विभागको पहिलो बैठकमा समेत सहभागी भएका थिए । आजै नेता खनालले विभागका सदस्यहरुसँग आगामी कामहरुबारे छलफल गर्दै कार्यालयका पदाधिकारी तथा कर्मचारीसँग कार्यालयको अवस्थालगायतका विषयमा समेत चासो राखेका थिए ।

‘उहाँले विभागका सदस्यहरुसँग विभागका आगामी कामबारे छलफल गर्नुभयो ।
उहाँले पार्टी कार्यालयका पदाधिकारी तथा कर्मचारीसँग कार्यालयको अवस्थालगायतका प्राविधिक विषयमा जानकारी लिनुभएको छ ।’ जारी विज्ञप्तिमा भनिएको छ ।

गत साउन २० गते भारत, नयाँदिल्लीस्थित एपोलो हस्पिटलमा मिर्गौला प्रत्यारोपण गरेपछि चिकित्सकहरुको सल्लाहमा नेता खनाल घरमै आराम गरेर बसेका थिए । मिर्गौला उपचारका क्रममा उनले सुरुमा काठमाडौंस्थित नर्भिक अस्पतालमा र त्यहाँका चिकित्सकहरुको रायका आधारमा थप उपचारका निम्ति असार २ गते दिल्लीस्थित एपोलो अस्पताल गएका थिए । मिर्गौला प्रत्यारोपणपछि उनी दिल्लीबाट भदौ १४ मा स्वदेश फर्किएका हुन्।
चिकित्सकहरुले तीन महिना पूर्ण आराम गर्न सल्लाह दिएका कारण त्यस अवधीभर उनी कुनै पनि कार्यक्रममा उपस्थित भएका थिएनन्। उक्त समय अवधी सकिए पनि अझै केही समय सार्वजनिक कार्यक्रम (भेला, बैठक, सभा) मा नजाने बताइएको छ ।
तर, पार्टीका आन्तरिक गतिविधिमा भने उनी सहभागी हुने एसले जनाएको छ ।

स्वास्थ्य समस्याका कारण नेकपा (एकीकृत समाजवादी) गठन भएपछि उनी एउटा सचिवालय बैठकमा उपस्थित भएका थिए। तर, पार्टी कार्यालय स्थापना भएपछि उनी पहिलोपटक कार्यालय आएका हुन्।
उनी अब नियमित रुपमा कार्यालयमा रहनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?