एमसीसीबारे झुट नबोल्न देउवा र प्रचण्डलाई ओलीको चेतावनी

लोकपथ
286
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसीबारे झुट नबोल्न प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई चेतावनी दिएका छन् ।

एमसीसी पास गर्ने भनेर पत्राचार गरिएको प्रधानमन्त्री देउवाको भनाई र त्यस्तो पत्र नपठाइएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दिएको अभिव्यक्ति मध्ये एक झुट भएको उल्लेख गर्दै अध्यक्ष ओलीले झुट बोल्ने काम नगर्न सचेत गराएका हुन् । सोमबार बिराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले भने, ‘शेरबहादुरजी नि हस्ताक्षर गरेर दिएको भन्नु हुन्छ । प्रचण्ड दिएको छैन भन्नुहुन्छ । दुईटा मध्ये एउटाले झुट बोल्या जस्तो देखिएन ? त्यस्तो झुट बोल्नु हुँदैन ।’

अध्यक्ष ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्ने सबै न्यायाधीशहरुले राजीनामा दिनुपर्ने अडान दोहोर्‍याए । उनले प्रधानन्यायाधीश जबरासहित सबै न्यायाधिशहरुले संविधानको पालना नगरेको आरोप समेत लगाउनु भयो । अध्यक्ष ओलीले भने, ‘राजीनामा सबै दिनुपर्ने खालको हुनुहुन्छ । उहाँहरुले अदालतको मर्यादा कसैले पनि बचाउनु भएको छैन । संविधानको पालना कसैले गर्नु भएको छैन । संविधानको ब्याख्यातासम्म हो अदालत । संविधान परिवर्तन गर्ने, संविधान हेरफेर गर्ने होईन । संविधानको ब्याख्यासम्म गर्ने हो । ब्याख्या गरेन उसले आफैं संविधानको अनेक धाराहरु सृजना गर्‍यो ।’

अध्यक्ष ओलीले संविधान परिवर्तन गर्ने र हेरफेर गर्ने काम अदालतको नभएको स्मरण गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?