गगन थापाको ठोकुवा– ‘आगामी निर्वाचनमा कांग्रेस पहिलो दल बन्छ’

लोकपथ
403
Shares

काठमाडौं । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले आगामी निर्वाचनमा कांग्रेस पहिलो दल बन्ने ठोकुवा गरेका छन्।

सोमबार सिन्धुलीको कमलामाईमा आयोजित कार्यक्रममा नेता थापाले आगामी चुनावमा कांग्रेस एक्लै प्रतिस्पर्धामा उत्रनुपर्नेमा जोड दिए ।

उनले भने,‘पार्टीको १४औं महाधिवेशनको भोलिपल्टै हामी चारतारे झण्डा उचालेर स्थानीय तहको निर्वाचनमा जुट्नुपर्नेछ, कांग्रेसको स्वभाव नै एक्लै चुनाव लड्ने हो, कसैसँग मिलेर चुनाव लड्ने हाम्रो स्वभाव होइन ।’ विगतमा गठबन्धनको केही प्रयास भए पनि सफल नभएको उनले स्मरण गराए ।

थापाले भने, ‘हामीले पाएको मत भनेको ३१ लाख हो । पहिलो दल बन्नको लागि ४२ लाख मत चाहिन्छ । हाम्रा मतदातालाई कांग्रेस भनेको उहाँहरुको लागि एउटा विचार हो ।’

थापाले अदालतमा अहिले ठूलो दंगा/फसाद परिरहेको टिप्पणी गरे । उनले भने, ‘कांग्रेस अदालतको विषयमा सही ठाउँमा उभिन सकेन र न्यायिक नेतृत्वमा आएको विचालनको विरुद्धमा कांग्रेस छ भन्ने बताएन भने ३० लाख मतदाताले कांग्रेस छोड्छ ।’ उनले कांग्रेस महत्वपूर्ण विषयहरुमा स्पष्ट हुनुपर्ने बताए ।

विगतमा चितवनमा आफ्ना मतादातो अर्को पार्टीलाई मत हाल्दा काठमाडौंमा कांग्रेसको मत घटेको बताए । फेरि त्यस्तो अवस्था आउन दिन नहुने बताए । उनले भने,‘ चितवनमा आफ्ना मतदाताको मत अर्को पार्टीलाई हाल्दा काठमाडौंमा कांग्रेसको मत मतदाता घटे । त्यसैले न्यायालयको विषयमा कांग्रेसले सत्यको पक्षमा बोल्नुपर्छ ।’

त्यसैगरी सोही कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले शेरबहादुर देउवा र रामचन्द्र पौडेलको नेतृत्वमा पार्टी चल्न नसक्ने आरोप लगाएका छन् ।

उनले कांग्रेसलाई बलियो बनाउने हो भने नेतृत्व परिवर्तन गर्नुको विकल्प नभएको बताए । ‘अब देउवा र पौडेलजीबाट पार्टी चल्न सक्दैन,’ सिन्धुलीको कमलामाईमा आयोजित कार्यक्रममा सिंहले भने, ‘पार्टी बलियो बनाएर देशको भविष्य सुन्दर बनाउन नेतृत्व परिवर्तनको विकल्प छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?