काठमडौं । नेपालको दुईदिने राजकीय भ्रमणमा आएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज बिहान मुस्ताङस्थित मुक्तिनाथ मन्दिरको दर्शन गरेर फर्क लगत्तै हिन्दूहरुको आस्थाको केन्द्र आराध्यदेव पशुपतिनाथ मन्दिरमा विशेष पूजाआजा एवं दर्शन गरेका थिए ।
भारतीय वायु सेवाको विशेष हेलिकप्टरबाट आज बिहान ७ः५५ मिनेट जाँदा मुक्तिनाथ आएका थिए । मोदीलाई नेपालको संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी, ४ नं प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, आन्तरिम मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानलगायतले स्वागत गरे ।

पूर्वमन्त्री, सासंद, जनप्रतिनिधि, जिल्लाका सरकारी अधिकारी, सुरक्षा अधिकारी, स्थानीय संघसंस्थाका पदाधिकारी, मुक्तिनाथवासी सर्वसाधारण पनि मोदीको स्वागतमा खटिएका थिए । मन्दिरको मूल प्रवेशद्वारमा प्रवेश गर्नुपूर्व उहाँलाई हिन्दू बटुकले स्वस्ती वाचन र बौद्ध आनी (झुमा) हरुले बौद्ध संस्कृतिमा प्रचलित बाजा (ङेङे) बजाएर स्वागत गरेका थिए ।
मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीका अनुसार मोदीले शोडषोपचार विधिद्वारा पूजा गरे । “मोदीले सम्पूर्ण विधि अपनाएर पूजा गरे”, उनले भने, “अर्चना एवं आरती स्वंले नै गरेका हुन् ।”
त्यस्तै मुक्तिनाथमा पूजा एवं दर्शनपछि प्रधानमन्त्री मोदी पशुपतिनाथ आइपेका थिए । पशुपतिनाथ मन्दिर परिसरमा उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्ष रवीन्द्र अधिकारीले स्वागत गरेका थिए । उनको स्वागतमा कोषका सदस्य सचिव डा प्रदीप ढकाल, कोषाध्यक्ष डा मिलनकुमार थापा, कोष सञ्चालक परिषद्का सदस्य, कोषका कर्मचारीलगायत श्रद्धालु भक्तजनको उपस्थिति थियो ।
भारतीय प्रधानमन्त्री मोदीले पूजा आजा एवं दर्शनका क्रममा मन्दिर परिसरमा ५० मिनेट बिताएका थिए । प्रधानमन्त्री मोदीलाई नेपाल वेद विद्याश्रमका १०८ ब्राह्मण बटुकले स्वस्तिवाचन सहित मूल मन्दिरभित्र स्वागत गरेका थिए । उनले पशुपति दर्शन विधिअनुसार पशुपति परिसरका मन्दिरको दर्शन एवं पूजा गरी मूल मन्दिरमा वैदिक रुद्राभिषेकसहित विशेष पूजा गरे । मन्दिरका मूल भट्ट गणेश भट्टले पूजा गराएका थिए ।

पूजापछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिनुहुँदै मन्त्री अधिकारीले मन्दिर परिसरमा भारतीय प्रधानमन्त्री मोदीले विशेष पूजा गरेका जानकारी दिए ।
मोदीले यसअघि २०७१ साउन १८ गते सोमबार पशुपतिनाथ मन्दिरमा रुद्राभिषेकसहित विशेष पूजा गरेका थिए । त्यसबेला पूजापछि उनले पशुपति मूल मन्दिरको जीर्णोद्धारका लागि भारतीय रुपैयाँ रु २५ करोड, सरसफाइका लागि रु पाँच करोड सहयोग घोषणा गरेका थिए ।



फोटो स्रोत : रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया