काठमाडौं । चिनियाँ जनमुक्ति सेनाले नेपाली सेनालाई सहयोगस्वरुप तीन लाख डोज कोरोनाविरुद्दको खोपसहित स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको छ ।
सोमबार (आज) सेनाको मुख्यालय जंगी अड्डामा एक कार्यक्रमका बीच १० थान भेन्टिलेटर र १०० थान अक्सिजन कन्सन्ट्रेटरसहित ३ लाख डोज भेरोसेल खोप हस्तान्तरण गरिएको हो ।
आज नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले प्रधान सेनापति महारथी प्रभुराम शर्मालाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।
नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरुको उपस्थिति रहेको उक्त हस्तान्तरण कार्यक्रममा प्रधान सेनापति महारथी शर्माले यस सहयोगको लागि मित्रराष्ट्र चीन तथा चिनियाँ जनमुक्ति सेनालाई धन्यवादज्ञापन गरेका थिए।
यस किसिमको सहयोगबाट नेपाली सेनाका सकलदर्जा एवं प्राथमिकताका आधारमा हिताधीकारीहरु समेत लाभान्वित हुने र यसबाट महामारी विरुद्धको लडाइमा नेपाली सेना थप प्रभावकारी रुपमा नेपाली जनताको सेवामा लाग्न सक्षम हुने तथा दुई देशका सेनाबीच रहेको सम्बन्ध थप मजबुद हुने विश्वास लिइएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया