काठमाडौं । काठमाडौंसहित देशका विभिन्न ठाउँहरुमा भएको सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ ।
काठमाडौं, गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजलस्थित सडकमा बा.९० प ४५६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पिपलको रुखमा ठोकिएर आइतबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-८ अत्तरखेल बस्ने २२ वर्षीय स्वछन्द पुडासैनीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि नेपाल मेडिकल कलेज अत्तरखेलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
ललितपुर, ललितपुर महानगरपालिका-३ धोबिघाटस्थित सडकमा बा.४१ प ८४९४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक काठमाडौं कपन बस्ने रामेछाप मन्थली नगरपालिका-६ घर भएका ३२ वर्षीय रामजी कार्की डोलीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको मेघा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने १२ वर्षीय मिरन सेवाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
त्यस्तै बाँके, कोहलपुर नगरपालिका-१४ हवल्दारपुरस्थित सडकमा हाल नम्बर नखुलेको कारको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ३२ वर्षीय बिनोद अधिकारीको आइतबार राति घटनास्थलमै मृत्यु भएको छ । कार सहित हाल फरार चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यसैगरी कैलाली, जोशीपुर गाउँपालिका-५ सिमरास्थित बागमती ०२-०१५ प २७३८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउको फलामको ड्रममा ठोकिएर आइतबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार लम्कीचुहा नगरपालिका-७ बस्ने २५ वर्षीय नरेश रोकायाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको निर्सग अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । सामान्य घाइते भएका मोटरसाइकलमा सवार चालक समेत ३ जनालाई उपचार पश्चात प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया