जनकपुर, २९ बैशाख-भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारत सम्बन्ध राजनीतिक र कूटनीतिक मात्र नभएर देवनीतिका आधारमा नै स्थापित भएको बताएका छन् । रंगभूमि मैदान बाह्रबिघामा जनकपुर उपमहानगरपालिकाले शुक्रबार दिउँसो गरेको नागरिक अभिनन्दन लिएपछि प्रधानमन्त्री मोदीले नेपालबिना भारत अधुरो रहेको बताए । उनले भने, ‘नेपालबिना भारतको आस्था अधुरो हुन्छ, विश्वास अधुरो हुन्छ र इतिहास अधुरो हुन्छ । नेपालबिना भारतका धाम पनि अधुरा हुन्छन्, राम पनि अधुरा हुन्छन् । माता सीताको कुर्सी रामको अयोध्यायले पाउने अहोभाग्यका कारण भारतले पूर्णता पाएको थियो ।’
असल छिमेकीको संकटमा सहयोग गर्ने नै महान् छिमेकी हुने बताएका मोदीले भने, ‘जो मित्रको दुःखमा दुःखी हुँदैन, उसलाई देख्दा पाप लाग्छ, आफ्नो दुःख पहाडजत्रो छ भने पनि महŒव नदिने र मित्रको सानो दुःखलाई पनि पर्वत जत्रो मानेर सहयोग गर्ने असल मित्र हो ।’
जानकी मन्दिरसहित जनकपुर स्तरोन्नतिका लागि एक सय करोड भारु सहयोग घोषणा गरेका मोदीले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य आफ्नो सरकारको सबका साथ, सबका विकासजस्तै रहेकाले विकासका लागि भारतले सक्दो सहयोग गर्ने बताए, राजधानी दैनिकमा खबर छ ।
एक घण्टा लामो सम्बोधनका क्रममा उनले थपे, ‘हाम्रो आशा पनि सामान छ, सपना पनि सामान छ, हाम्रो मन पनि सामान छ, मन्दिर पनि सामान छ ।’
उनले नेपाल विकासको चरणमा प्रवेश गरेकाले क्षेत्रीय विकासका लागि भारतको सहयोग बलियो रहने बताए । छिमेकीहरूमध्ये नेपाल भारतको पहिलो नम्बरमा रहेको उल्लेख गर्दै मोदीले थपे, ‘युद्धबाट बुद्धको मार्गमा १० वर्षभित्र नेपालको फड्को संसारका लागि उदाहरण हो । बुलेटदेखि ब्यालेडसम्मको यात्रासँगै स्थानीय तहदेखि प्रदेश सरकारको चुनाव पनि सम्पन्न गरेकोमा नेपाललाई बधाई छ ।’
भारत र नेपाल हिमाल, नदी, तराईका जमिन र सिमानाले जोडिएको सत्य भए पनि यतिले नपुग्ने भन्दै उनले ‘कनेक्टिभिटी’का विविध आयाममा जोड्ने दुई देशको समझदारी भएको खुलाए । उनले जोडे, ‘अब राजमार्ग, सूचना प्रविधि, प्रसारण लाइन, रेल, हवाई सेवा र जलमार्गबाट जाड्ने प्रयासमा नेपालका प्रधानमन्त्रीसँग सल्लाह भएको छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया