मिलन पाण्डे समूहको टिप्पणी- ‘विवेकशील साझा पार्टी कुनै सेलिब्रेटिको फ्यानक्लब हैन’

काठमाडौं- विवेकशील साझा पार्टीमा देखिएको विवाद चरमोत्कर्षमा पुगेको छ। संयोजक मिलन पाण्डे समूहले विवेकशील साझा पार्टी कुनै सेलिब्रेटिको फ्यानक्लब नभएको बताएको छ ।

निर्वाचन आयोगले पार्टी अध्यक्ष रवीन्द्र मिश्र समूहलाई वैधानिकता दिएपछि पाण्डे समूहले विज्ञप्ति जारी गर्दै आयोगमा पुनरावेदनका लागि र पछि कानून बमोजिम न्याय खोज्ने जनाएको छ ।

पार्टी प्रवक्ता हरीशप्रसाद भट्टले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “मिश्रले पटकपटक विधान मिचेर जथाभावि अवैधानिक वैठक गर्ने र निर्णय गर्न थालेपछि पार्टी संयोजक लगायतले पार्टीको विधान विपरितका निर्णय अध्यावधिक नगर्न निर्वाचन आयोगमा २ महिना पहिले नै पत्र बुझाईसकिएको हामीले सप्ष्ट पारिसकेकाछौँ।”

विज्ञप्ति 

निर्वाचन आयोगको ‘पत्र’ र पार्टीभित्रका अवैधानिक गतिविधिबारे !

विवेकशील साझा पार्टीमा अध्यक्ष रवीन्द्र मिश्रले पटकपटक विधान मिचेर जथाभावि अवैधानिक वैठक गर्ने र निर्णय गर्न थालेपछि पार्टी संयोजक लगायतले पार्टीको विधान विपरितका निर्णय अध्यावधिक नगर्न निर्वाचन आयोगमा २ महिना पहिले नै पत्र बुझाईसकिएको हामीले सप्ष्ट पारिसकेकाछौँ।

विगतमा आयोगले पार्टीको विधान विपरित बसेका बैठकको निर्णय आयोगले अध्यावधिक नगर्ने बताएको थियो। हालै सार्वजनिक सञ्चार माध्यममा पूर्व प्रमुख निर्वाचन आयुक्तले समेत विवेकशील साझा विवादमा पार्टीको विधान नै अन्तिम हुने बताएका थिए। आज आएको आयोगको पत्र रहस्यमय छ। यस विषयमा हामी आयोगसँग संवादमा छौँ।

हामीलाई विश्वास छ आयोगले हतारमा लेखेको यो पत्र रद्ध गर्नेछ र निर्वाचन सम्बन्धी नेपाल कानून, विवेकशील साझा पार्टीको विधान र आयोगमा अगावै प्राप्त उजुरीको व्यहोरा र माग दावीलाई समेत नजर गरि विधिसम्मत निर्णय गर्नेछ। हाम्रो माग पार्टीमा केन्द्रीय समितिको विवेकको निर्णय निर्वाचन आयोगको रहोबरमा होस् भन्ने हो, जुन ऐन-कानून र पार्टी विधान अनुरुप हुन्छ।

हामी आयोगमा पुनरावेदनका लागि र पछि कानून बमोजिम न्याय खोज्ने नै छौँ। विवेकशील साझा पार्टी कुनै सेलिब्रेटिको फ्यानक्लब हैन, यो झण्डै एक दशक लामो पार्टी जीवनमा नागरिक आन्दोलनहुँदै वैकल्पिक वैचारिकिमा उभिएको परिपक्व पार्टी हो। यो पार्टीको विचार, संगठन र पहिचान कसैले मेट्न खोजेर मेटिने पनि होईन्। हामीले विवेकशील साझा पार्टीलाई पुनर्गठन गर्दै सुदृढ गर्दै लाने निर्णय गरिसकेका छौँ।
केहि समय अघि मुलुकमा भएका अलोकतान्त्रिक, संविधानविरोधी गतिविधिलाई नागरिकहरुको शक्तिले परास्त गरेजस्तै सोहि प्रवृतिको हाम्रो पार्टीको संस्करणलाई परास्त गरिनेछ र विवेकशील साझा पार्टीलाई पार्टीको अशली वैचारिकिमा अझ सुदृढ र विधिसम्मत तरिकाले अघि बढाईनेछ।
धन्यवाद।

नेपालको जय होस्।
हरीशप्रसाद भट्ट
प्रवक्ता
विवेकशील साझा पार्टी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?