‘एमसीसी पारित गर्ने पत्राचार देशघात, प्रचण्डको पत्र के हैसियतले पठाइयो ?’- भीम रावल

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष भीम रावलले एमसीसी पारित गर्नेबारे भएको पत्राचार सार्वजनिक गर्न माग गरेका छन् ।

बिहीवार सामाजिक सञ्जाल ट्विटरमा लेख्दै उपाध्यक्ष रावलले राष्ट्रघाती प्रावधान भएको सम्झौताबारे पठाइएको पत्र तुरुन्त सार्वजनिक गर्न माग गरेका हुन् । रावलले लेखेका छन्, ‘बेलायतमा जलवायु सम्मेलनमा भाग लिई फर्किनासाथ प्रधानमन्त्री देउवाले एमसीसी पारित गराउने भनी आफू र प्रचण्डले पत्र पठाइसकेको खुलासा गर्नुभयो । राष्ट्रघाती प्रावधान भएको सम्झौताबारे पठाइएको पत्र तुरुन्त सार्वजनिक गरियोस् । यस्तो विषयमा गोप्य पत्राचार देशघात हो । प्रचण्डको पत्र के हैसियतले पठाइयो ?’

बेलायतमा भएको कोप २६ कार्यक्रममा सहभागी भएर बिहीवार नेपाल फर्किएका प्रधानमन्त्री देउवालेले एमसीसी पारित गर्न पत्राचार गरेको बताएका थिए । यस विषयमा सामाजिक संजालमा पनि चर्को आलोचना भईरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?