प्रदेशको नामाकरणलाई चाँडै टुंगो लगाउँछौं- मुख्यमन्त्री राई

काठमाडौं- प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामाकरणलाई चाँडै टुंगो लगाउने बताएका छन् । मुख्यमन्त्री राईले अघिल्लो सरकारले शुरु गरेका कामलाई पूरा गर्ने र बजेटलाई श्रोत खोजेर ठूलो बनाउने बताएका छन्  ।

मुख्यमन्त्री राईले आफ्नो कार्यकालमा बजेटलाई सही ढंग र सही स्थानमा खर्च गर्ने बताउँदै नेकपा एमालेको सरकारले प्रदेशको नामाकरणका लागि पहल नै नगरेको आरोप लगाएका हुन् । उनले प्रदेशको नामाकरण गर्न दुई तिहाई मतको आवश्यक पर्ने भएकोले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुसँग पनि छलफल गर्ने र सहयोग पु-याउन आग्रह गर्ने बताए ।

मुख्यमन्त्री राईले भने, ‘पहिलो कुरा त यसको नाम तोक्ने काम हामी आरम्भ गर्दछौँ र प्रक्रिया पूरा गरेर नाम तोक्छौँ, थालेका कामहरुलाई सम्पन्न गर्छौं, बजेटको आकार सानो छ,त्यो बजेटलाई हामी अर्को बजेट अधिवेशनसम्ममा श्रोतहरु खेजेर ठूलो बनाउने प्रयास गर्छौं, बजेटको सही सदुपयोग नहुने, बजेटलाई कार्यान्वयन गर्नको लागि योजना सही ढंगले छनोट नहुने, त्यसको प्राथमिकता सही ढंगले नहुने, यस्ता कमी कमजोरीहरुलाई हामी रोक्ने प्रयास गर्छौं ।”

मुख्यमन्त्री राईले नेपालमा संघीयता सही ढंगले अघि बढ्न नसकेको बताए । उनले अहिले पनि नेपालमा केन्द्रिय ढंगले नै काम हुने गरेको बताउँदै प्रदेशलाई दिनुपर्ने अधिकार संघले नदिएको बताए ।

मुख्यमन्त्री राईले भने, ‘नेपालमा संघीयता सही ढंगले अघि बढ्न सकेको छैन, काार्यन्वयन हुन सकेको छैन, अहिले पनि एक हिसावले भन्ने हो भने केन्द्रियता नै केन्द्रिय प्रणाली जस्तो ढंगले नै अगाडि बढेको छ,यसले अधिकारहरु पनि प्रदेशलाई जति दिनुपर्ने दिएको छैन, बजेट पनि जति दिनुपर्ने दिएको छैन, सानातिना कामहरु स्थानीयले गर्नुपर्ने, मझौला खालका प्रदेशले गर्नुपर्ने भन्ने संघले गर्नुपर्ने भन्ने मान्यता हो, तर सानातिना दुईचार लाख, १० लाखका योजनाहरु केन्द्रले अझै निरन्तरता दिइरहेको छ, केन्द्रबाट ऋण लिएर भएपनि काम जन अपेक्षाअनुसार भेट्ने गरी अगाडि बढ्नुपर्छ, बजेटको दुरुपयोग पनि छ, चुहावट छ, भ्रष्टाचार हुन्छ, गर्नुपर्ने काममा पैसा नलगाउने, नगर्नुपर्ने काममा पैसा उडाउने यस्तो कुरालाई म हटाएर बजेट ठूलो बनाएर भएको बजेटलाई सही ढंगले सदुपयोग गर्ने ढंगले अघि बढ्छु ।’

मुख्यमन्त्री राईले बजेटमा खराब कर्मचारी, उपभोक्ता समिति, जनप्रतिनिधि, समाजका अगुवाहरुले भ्रष्टाचार गरेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?