विवेकशील साझाको विधानमा हेरफेर, अब १२४ जनाको केन्द्रीय समिति

काठमाडौं- विवेकशील साझा पार्टीको रवीन्द्र मिश्र समूहले विधानमा हेरफेर गरेको छ। गत कार्तिक ११ गते अध्यक्ष मिश्रको अध्यक्षतामा बसेको पार्टीको केन्द्रीय समितिको बैठकले नयाँ विधान र केन्द्रीय समिति सदस्यहरूको सङ्ख्या सम्बन्धमा गरेको निर्णयबारे निर्वाचन आयोगलाई जानकारी गराएको र आयोगले उक्त विवरण सदर गरेको विवेकशील साझा पार्टीले जनाएको छ।

विवेकशील साझा पार्टीको केन्द्रीय समिति सदस्यहरु अब १२४ रहने भएका छन् । सदस्यमध्ये ५ जनाको राजीनामा र एक जनाको मृत्यु भएपछि केन्द्रीय सदस्य संख्या १२४ कायम गरिएको विवेकशील साझाद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

‘हिजो कात्तिक १७ गते बुधवार निर्वाचन आयोगले कानुन बमोजिम विवेकशील साझा पार्टीको विधान २०७८ र केन्द्रीय समितिमा हेरफेर भएको विवरण सदर गरी आयोगको रेकर्ड अद्यावधिक गरेको जानकारी दिएको छ । अब उप्रान्त हाम्रो काम कारबाही नयाँ विधान अनुरूप अघि बढ्नेछ । साथै केन्द्रीय समितिको कूल सदस्य सङ्ख्या १२४ मानिनेछ,’ विज्ञप्तिमा भनिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?