भाइ मसला किन्नेहरुको भीड

काठमाडौं- काठमाडौंको व्यस्त शहर न्यूरोड, असन लगायतका शहरमा भाइ मसला किन्नेहरुको चहलपहल बढेको छ ।

भाइ टिकाको दिन चेलिबेटीले आफ्ना दाजुभाईलाई भाइ मसला दिने गर्दछन् । दाजुभाईलाई सप्तरंगी टिका र माला लगाइदिइसकेपछि चेलिबेटीले भाइमसला लगायतका मिठा मिठा परिकार दिने प्रचलन रहेको छ । भाइ मसलामा नरिवल, मिश्री, काजु, किसमिस, ओखर, देशी बदाम, सुकुमेल, पेस्ता, ल्वाङ, मख्खना, छोकडा, सुपारी, मरिच लगायत राख्ने गरिन्छ । यी मसलाहरु किनमेल गर्न सुरु भइसकेका छन् । भाइ

मसला केवल मसला व्यापारीले मात्रै होइन, किराना पसलेहरुले पनि विक्री गरिरहेका छन् । त्यसो त तिहार केन्द्रित मात्रै मसला पसल सञ्चालन गरेर सडक पेटीहरुबाट पनि धमाधम भाइ मसला विक्री भइरहेको छ । काठमाडौंको न्यूरोड, असन लगायतका सडक पेटीहरुमा भाइ मसला किन्नेको भीड लागेको देख्न सकिन्छ ।

समग्रमा विगत दुई दिन यता भाइ मसला किन्नेहरुको भीड बढेपनि असनमा भने अघिल्लो वर्षको तुलनामा व्यापार कम नै भएको मसला व्यापारी सजिव बज्राचार्य बताउछन् । भाइ मसला प्रायः विदेशबाट आउने र नेपाली उत्पादन कम नै हुने उनी बताउछन् । भाइ मसला पनि विभिन्न गुणस्तरको आउने उल्लेख गर्दै उनले स्वस्थ मसला किन्न सुझाव दिए ।

सडक पेटीहरुमा सानादेखि, ठूलालासम्मका प्याकेट बनाएर बेचविखन भइरहेको पनि देख्न सकिन्छ । हरेक सामान किन्न हरेक पसल पुग्नुपर्ने झन्झटबाट मुक्त हुन उपभोक्ताहरु सबै सामग्री मिसिएको रेडिमेट प्याकेटमै आकर्षित भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?