भारतीय फूलको माला दुई हजार रुपैयाँ, नेपाली फूलको माला पाँच सय !

काठमाडौं- भारतबाट धेरै परिमाणमा फूल आएपछि नेपाली ब्यबसायी मारमा परेको गुनासो गरेका छन्।

काठमाडौँको नयाँ सडक क्षेत्रमा देखिएको फुलको ब्यापारमा अधिकांश भारतीय फूल देखिएको छ । भारतीय फूल प्रतिमाला दुई हजार रुपैयाँसम्म विक्रि हुँदा नेपाली फूलको प्रतिमाला पाँच सय रुपैयाँमा समेत बेच्न मुस्किल परेको किसान ब्यापारीले गुनासो गरेका छन् ।

काठमाडौँमा लक्ष्मी पूजा र गोबर्धन पूजाको दिन सयपत्री, मखमली लगायतका फूलहरुको बिक्रि धेरै हुने गर्छ । कात्तिक पहिलो साता देशभर परेको बेमौसमी वर्षाले मुख्य कृषि बाली सँगै फूल खेतीमा पनि क्षति गरेको थियो । वर्षाले देशभर लगाइएको र बिक्रीका लागि तयारी अवस्थामा रहेका फूलमा धेरै क्षति भयो ।

काठमाडौँ उपत्यका वरिपरिका साथै तराईका विभिन्न क्षेत्रमा ब्यबसायिक रुपमा फुलको खेति हुने गरेको छ । फूल बेच्नका लागि काठमाडौंमा छिमेकी जिल्लाहरु नुवाकोट,धादिङ, काभ्रेपलाञ्चोकबाट किसान तथा ब्यापारी आउने गर्छन । काठमाडौंको नयाँ सडकमा फूल बेच्ने र किन्नेहरुको अत्याधिक भिडभाड देखिए पनि नेपाली किसान ब्यापारी भने निराश देखिएका छन् । वर्षेनी तिहारको समयमा काठमाडौंमा आई फूल बेच्दै आएका धादिङका अशोक अधिकारीले यस वर्ष भारतबाट फूल अत्याधिक आएका कारण नेपाली फूलले उचित मूल्य नै नपाएको गुनासो गरे ।

यो वर्षको तिहारमा मालाको माग बढ्ने र यसको प्रत्यक्ष लाभ नेपाली किसानले गर्ने अनुमान गरिएको थियो । तर बेमौसमी वर्षाको कारण नेपाली किसानले लगाएको फूल बारीमै नष्ट भएपछि भारतीय फूलले बजारमा कब्जा जमाएको छ । कोरोना संक्रमणको जोखिम कम भएको र मानिसहरुले उल्लासमय तरिकाले तिहार मनाउने हुँदा माग बढ्ने अनुमान गरिएको थियो।

गत वर्षको तुलनामा ५ लाख बढी मालाको माग बजारमा आउने अनुमान गरिएको छ । नेपालमा वार्षिक रूपमा करिब ३ अर्ब रुपैयाँ बराबरको फूल कारोबार हुँदै आएको बिभिन्न अध्ययनले देखाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?