एमसीसी पास गर्न मैले र प्रचण्डजीले हस्ताक्षर गरेर पठाएका छौं- प्रधानमन्त्री देउवा

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अब छिटै पास गर्ने बताएका छन् । स्कटल्यान्डको ग्लास्गोमा जारी कोप–२६ मा सहभागिता जनाएर स्वदेश फर्किएका देउवाले एमसीसीकी उपप्रमुख कार्यकारी अधिकृत एलेक्सिया ल्याटोर्तुलाई नेपालमा छिटै एमसीसी पास गर्ने जानकारी दिएको बताएका हुन् ।

प्रधानमन्त्री देउवाले भने, ‘प्रचण्डजी र मैले एमसीसी पास गराउछौं भनेर पत्र पठाइसकेका छौं ।’ देउवाले ल्याटोर्तुले कहिलेसम्म संसद्बाट सम्झौता पास गर्नु हुन्न भन्ने जिज्ञाशा राखेको जानकारी दिए । प्रधानमन्त्री देउवाले गठबन्धन सरकार चुनावसम्मै रहने दाबी गरेका छन् । उनले बेलायतमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग एयरस्पेस लगायत देशका विभिन्न समस्याहरुका बारेमा कुरा गरेको बताए ।

भारतीय प्रधानमन्त्री मोदीसँग लुम्बिनी अन्तर्र्राष्ट्रिय विमानस्थल सञ्चालनपछि भारतको भूमि हुँदै विमानहरु अन्यत्र जानुपर्ने भएकोले त्यस सम्बन्धमा पनि कुरा गरेको बताउँदै नेपालप्रति भारतको सद्भाव देखिएको बताए । प्रधानमन्त्री देउवाले भारतले आफ्नो देशमा युरिया मलको अभाव हुँदाहुँदै नेपाललाई मल उपलब्ध गराएको बताउँदै भारतलाई धन्यवाद दिएको बताए । उनले बेलायती रक्षामन्त्रीले नेपाली गोर्खा सैनिकको समस्या समाधान गर्ने बताएको पनि जानकारी गराए ।

प्रधानमन्त्री देउवाले बेलायती प्रधानमन्त्री बोरिस जोनसनले नेपाललाई आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिवद्धता जनाएको बताए । प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्ता दिएको बताउँदै मोदीले आफूलाई भारत भ्रमणको निम्तो दिएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?