महिला राष्ट्रिय क्रिकेट टोली आज बगंलादेश जाँदै

काठमाडौं- नेपाली महिला राष्ट्रिय क्रिकेट टोली आज बिहीबार बगंलादेश जाँदै छ। आईसीसी टी–२० विश्वकप एसिया छनोट प्रतियाेगिताकाे तयारीमा रहेको महिला राष्ट्रिय क्रिकेट टोली बन्द प्रशिक्षणका लागि बगंलादेश जान लागेको हो।

त्यहाँ टोलीले करिब एक हप्ता प्रशिक्षण लिनेछ। मंसिर पहिलो साता हुने टी–ट्वान्टी विश्वकप एसिया छनोट प्रतियाेगितामा नेपालले सुरुमा हङकङसँग प्रतिस्पर्धा गर्नेछ। मंसिर ६ गते हङकङसँग खेल्ने नेपाल ७ गते भुटानसँग, ९ गते कुवेत, मंसिर १० गते मलेसिया र मंसिर १२ गते यूएईसँग भिड्नेछ।

सन् २०२३ मा दक्षिण अफ्रिकामा सञ्चालन हुने टी–२० विश्वकपका लागि नेपालसहित भुटान, हङकङ, कुवेत, मलेसिया र यूएई गरी ६ राष्ट्र सहभागी हुनेछन्। नेपाल क्रिकेट संघ (क्यान) ले कात्तिक १० गते रुबिना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय महिला क्रिकेट टोलीको घोषणा गरेको थियो।

नेपाली महिला टोली

रुबिना क्षेत्री बेलबासे (कप्तान), सीता रानामगर, डली भट्ट, करुणा भण्डारी, इन्दु बर्मा, सरिता मगर, ज्याेति पाण्डे, सरस्वती चौधरी, काजल श्रेष्ठ, सबनम राई, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी र सङ्गीता राई।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?