काठमाडौं । गत साउनमा काठमाडौं बस्ने सर्लाही हरिवन ११ की शिला तामाङलाई उनका बुबा अचानक बिरामी परेको फोन आयो ।
साँझको फोनले उनलाई कतिबेला घर पुग्नुजस्तो भयो । बुबाको याद आइरह्यो । सुगर र पे्रसरका रोगी उनका बुबालाई धेरै गाह्रो भइरहेको सम्झिरहिन् ।
छट्पट्टी भइरह्यो । पानी परिरहेको थियो, रातभर निन्द्रा लागेन । भोलिपल्ट बिहानै सुमो चढिन् । पानी रोकिने छाँट थिएन । बाटो चिप्लो थियो, ठाउँ–ठाउँमा पहिरो खसेको, खहरे, बाढी पसेको सडक देखेर मनमा झन् चिसो पस्दै गयो । डर बढ्दै गयो । छिटो घर पुग्ने र बुबालाई अस्पताल लैजाने सोच्दासोच्दै जाममा फसिन् उनी ।
वीपी राजमार्गअन्तर्गतको माम्दी खोलाले छेकेर १३ घण्टा जाममा परेपछि लगभग २१ घण्टामा घर पुगिन् । घर पुग्दा बुबा नरहेको खबर उनका काकाले सुनाए । उनी पुग्नुभन्दा ४ घण्टाअगावै बुबाले संसार छोडिसकेछन् ।
‘समयमै घर पुग्न पाइएन त्यसरी जाममा नपरेको भए बुबाको सास भेट्ने थिएँ । हाम्रो देशको सडकको अवस्था हेर्दा साह्रै दया लाग्छ । हामीले भोट दिएर जिताएका नेताहरूदेखि रिस उठ्छ’, उनीमा दुःख र आक्रोश एकै पटक देखिन्थ्यो ।
खोटाङका उमेश राउत काठमाडौंमा जागिर गर्छन् । दशैँ मनाउन घर गएका उनी कात्तिक २ गते काठमाडौं फर्किन हलेसीबाट सुमो चढे । खुर्काेट–घुर्मी सडकखण्डअन्तर्गत सिन्धुलीमा यात्रा भइरहेको थियो । लगातार पानी परिरहेको थियो । तल धमिलो सुनकोशी उर्लिरहेको थियो ।
गाडीहरू एकतर्फी मात्र थिए धेरैजसो । सडकमा माथिबाट ढुंगा झरिरहेका थिए । बाटोको अवस्था सम्झिँदा के–कसो हुने हो भन्ने डर पस्न थालिसकेको थियो । सुमोमा ड्राइभरसहित ९ जना यात्रामा थिए । पहिले पन्छाएको माटो छेउमै थुपारेर छोड्दा सिन्धुलीको फिक्कल गाउँपालिकाको सडकमा आएको गेगरसहितको खहरे बाटोमै भरियो र उनी चढेको गाडी त्यहीँ फस्यो । पछाडिबाट आउँदै गरेका गाडीहरूको लाम लाग्यो । खहरे झन् बढ्दै गयो । गाडी यताउता सर्ने सम्भावना नभएपछि ओर्लिएर कतै ओत लाग्ने ठाउँ खोज्न थाले । तर भिज्नुसिवाय कुनै उपाय थिएन ।
‘दुई/तीन घण्टासम्म भिजेपछि एक घण्टा हिँडेर ओत खोज्दै वाक्सु खोला किनारको एउटा घरमा पुगेपछि बल्ल सास आयो’, उनी लामो सास तान्दै भन्छन्, निकैबेर आगो तापेपछि चिसा कपडा शरीरमै सुके । त्यसपछि बास बस्नको लागि च्याखुटारसम्म जानुप-यो ।’
समयमै क्रेन नआउँदा गाडी त्यहीँ खहरेमा थियो । माथिबाट ठूलो ढुंगा आएर उनी चढेको गाडीमाथि खसेछ । गाडीबाट सबै निस्किसकेकाले मानवीय क्षति केही भएन ।
राति मात्र क्रेनको सहायताले पहिरोबाट गाडी निकालियो । सामानहरू चिन्नै नसकिने गरी हिलो लतपतिएको थियो । आमाले पठाउनुभएको कोसेली पनि सबै बिग्रिएछ । उनलाई खुब नरमाइलो लाग्यो त्यतिबेला । आमालाई सम्झे । हिँड्ने बेलामा झोलामा हाल्दिएकी थिइन् । झोलामा भएका सबै कागजपत्र पनि भिजेछन् ।
भोलिपल्ट पनि पानी नरोकिएपछि बाटो खुल्ने संकेत देखिएन । आफू चढेर आएको गाडी फसेपछि अर्को गाडी खोजियो । पाँच किमि पर कालीआँप र त्यसको नजिकै ठूलो पहिरो गएको रहेछ । अरु धेरै गाडीहरु त्यहीँ फसेका थिए । काठमाडौँबाट फर्किने गाडी पनि त्यहीँ राकिए ।
४० घण्टाभन्दा लामो समय बाटोमै अलपत्र परेरपछि बल्ल काठमाडौंको लागि अर्को सुमो चढे ।
करिब छदेखि सात घण्टामा आइपुग्नुपर्ने बाटो पार गर्न यसपालि उनलाई ५२ घण्टा लाग्यो ।
यो पहिलो पटक नभएर अरुबेला पनि यस्ता समस्या धेरै हुनेगरेको उनी बताउँछन् । वर्षाैँदेखि त्यही हो बाटोको अवस्था, कतिपय खोलामा ठेकेदारको लापरबाहीले नबन्दा खोला बढेको समयमा समस्या हुने हुन्छ । अझ मोटरसाइकललाई पाँच सयदेखि एक हजार रुपैयाँसम्म तिरेर तार्नुुपर्ने हुन्छ । सरकारले समयमै यस्ता समस्याको लागि पूर्वतयारी नगर्दा जनताले सास्ती खेप्नुपरेको उनी बताउँछन् ।
यता संघीयता स्थापनापछि इतिहासमै ठूलो संख्यामा तीव्र गतिले सडक विस्तार भइरहेका छन् । यद्यपि शिला र उमेशजस्ता धेरै सर्वासाधारणहरू प्रत्येक वर्ष अवरुद्ध सडकबाट प्रभावित छन् । सडक विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार २०७८ जेठ २५ गतेपश्चात् राष्ट्रिय राजमार्गहरूमा बाढी, पहिरोलगायत अन्य विभिन्न कारणबाट ३० वटा राजमार्ग २४७ स्थानमा अवरुद्ध भएका छन् ।
हाल १४२ स्थानमा एकतर्फी रूपमा मात्र यातायात सञ्चालनमा छन् । ५ सडक अभैm अवरुद्ध छन् । यस वर्षको वर्षा लगभग सकियो । आकाश खुल्यो, मौसम सफा बन्दै आएको छ । तर पनि एकतर्फी र पूर्ण रूपमा अवरुद्ध सडकहरू अभैm सुचारु हुन सकेका छैनन् ।
कुन–कुन सडक अवरुद्ध छन् ?
सडक विभागको तथ्यांकअनुसार मनाङ जिल्लाका ३ वटा सडक खण्ड अझै सञ्चालनमा आउन सकेका छैनन् । बेँसीसहर–चामे सडकको निगालाघारी सडक, बेँसीसहर–चामे सडकको खोत्रो, दानाक्यु सडकखण्ड अझै अवरुद्ध छन् ।
त्यसैगरी बझाङको जालिबगर, नारुगाड सडक पनि सुचारु हुन सकेको छैन । यसका साथै पुष्पलाल मध्यपहाडी राजमार्ग सिन्धुली–कुखुरेटार–खुर्काेट–घुर्मी शाखा सडक पनि सञ्चालन भई नसकेको तथ्यांकमा उल्लेख छ ।
यस कारण भए सडक अवरुद्ध
पहिलो कारण त प्राकृतिक विपति नै हुनेगरेको पाइएको छ । सडक विभागका प्रवक्ता शिवप्रसाद नेपालका अनुसार अघिल्लो वर्षको तुुलनामा यो वर्ष २ तिहाइले मनसुन लामो समयसम्म बढेका कारण बाटो अवरुद्ध भएको हो ।
त्यस्तै, राष्ट्रिय राजमार्गसँग जोडेर अत्यधिक संख्यामा सहायक मार्गहरू खोल्नु पनि सडक अवरुद्धको अर्काे कारण हो । डोजरे विकास गरेर सडक व्यवस्थित नगर्दा पनि समस्या निम्तिएको छ ।
‘वर्षाको समयमा शाखा सडकले शाखा सडकलाई भन्दा बढी राजमार्गलाई असर गर्छ’, उनले भने । तर स्थानीय सडकहरू बिनापरीक्षण, बिनाअनुमति, बिनाप्राविधिक अध्ययन र बिनाछलफल प्रदेश र स्थानीय निकायले खनिदिएको कारण राजमार्गहरू अवरुद्ध हुने गरेको उनले बताए ।
विशेषगरी पुल तथा एप्रोच सडक क्षति हुनाको प्रमुख कारण औसतभन्दा अधिक वर्षाले आएको बाढी तथा पहिरो भनिएको छ । यसका अतिरिक्त कोभिड महामारी नियन्त्रणका लागि भएको लकडाउनका कारण समयमै निर्माण व्यवसायीहरूले कार्यसम्पन्न गर्न नपाएकोले निर्माणाधीन पुलहरूमा क्षति पुगेको व्यवसायीहरू बताउँछन् ।
साथै निर्माण गर्ने क्रममा प्राविधिक त्रुटि पनि प्रमुख कारण हुनसक्ने सर्वसाधारणहरूको बुझाइ छ । यसका अतिरिक्त अन्य कारणहरू भने विस्तृत अनुसन्धानपश्चात् मात्र यकिन हुने अधिकारीहरूले बताएका छन् ।
अवरुद्ध सडक कहिलेबाट सुचारु हुन्छ ?
सडक विभागका प्रवक्ता सिवप्रसाद नेपालका अनुसार मनाङमा बन्द रहेका सबै सडकहरू सुचारु हुन थालिसकेका छन् । बझाङको सडक भने तत्काल सुचारु हुने अवस्था छैन । सेती नदीले त्यहाँको साढे ४ सय मिटर रोड बगाएको छ ।

वैकल्पिक बाटो खन्नको लागि सर्भे भइरहेकाले सडक सञ्चालनमा आउन समय लाग्ने उनले बताए । पुष्पलाल मध्यपहाडी राजमार्ग सिन्धुली–कुखुरेटार–खुर्काेट–घुर्मी शाखा सडक पनि सुचारु भइसकेको बताइएको छ ।
२ अर्ब ३५ करोड रुपैयाँ क्षति
नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार २०७८ जेठ २५ पछि राष्ट्रिय राजमार्गहरूमा बाढी, पहिरोलगायत अन्य विभिन्न कारणबाट सडक अवरुद्ध हुदाँ २ अर्ब ३५ करोड रुपैयाँ क्षति भएको छ । ३० वटा राजमार्ग २४७ स्थानमा अवरुद्ध भएको भएको थियो । जसअन्तर्गत हाल १०० स्थानमा दुवैतर्फ यातायात सुचारु भइरहेको छ ।
त्यसैगरी १४२ स्थानमा एकतर्फी यातायात चालू रहेको छ । ३ वटा राजमार्गहरूमा यातायात अझै अवरुद्ध नै छ । त्यसबाहेक ५ स्थानमा अहिले पनि यातायात चल्न सकेको छैन । विभागको प्रारम्भिक अनुमानअनुसार कुल १० किमि सडकमा भौतिक क्षति भएको बताइएको छ ।
पछिल्लो बेमौसमी वर्षाका कारण सडक अवरुद्ध हुँदा ३५ करोड नोक्सान भएको विभागको तथ्यांकले देखाएको छ । वर्षाका कारण आएको बाढी र पहिरोले देशका विभिन्न स्थानका १० राजमार्ग २१ स्थानमा अवरुद्ध भएको थियो । सोअनुसार हाल ४ स्थानमा दुवैतर्पm यातायात सुचारु भइसकेका छन् भने १२ स्थानको सडक एकतर्फी रूपमा मात्र सञ्चालित छन् ।
अहिले ३ वटा राजमार्ग ५ ठाउँमा अवरुद्ध अवस्थामा नै छन् । कति किमि सडकमा भौतिक क्षति पुुग्यो भन्ने यकिन भने अझै भइसकेको छैन ।
साथै पुलमा भएको क्षतिका कारण पनि राजमार्गहरू अवरुद्ध भएका छन् । सडक विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार २०७८ जेठ २५ पछि मात्र २८ वटा पुलमा क्षति हुँदा करिब १ अर्ब ५ करोडबराबरकोे क्षति भएको अनुमान गरिएको छ ।
जसअन्तर्गत ३ वटा काठको पुल, २ वटा आरसीसी कल्भर्ट र ९ वटा आरसीसी निर्माणसम्पन्न पुलमा क्षति पुगेको छ । त्यसैगरी निर्माणाधीन ८ वटा आरसीसी पुलमा समेत क्षति पुगेको छ । ५ वटा आरसीसी पुलको एप्रोच सडकमा समेत क्षति भएको तथ्यांकमा उल्लेख छ ।
किन हुँदैन समयमै मर्मत ?
भौगोलिक हिसाबले नेपाल विकट भएकाले यस्ता समस्य सधैँ आउँछन् । तर सरकार भने परिसकेपछि मात्र देख्छ । सरकारले गर्नुपर्ने पूर्वतयारी र आवश्यक रेखदेख नगर्दा वर्षेनी जनताले यस्ता समस्या भोग्नुपरेको छ । तर सडक विभागले भने अवरुद्ध सडकको पहिरो र माटो हटाउने काम भइरहेको बताएको छ ।
‘हामी ममर्तको काम अगाडि बढाउँछौँ, ठेक्का प्रक्रियाबाट काम गर्ने भएकाले केही समय लाग्छ’, विभागका प्रवक्ता सिवप्रसाद नेपालले भने ।
स्रोत व्यवस्थापन पनि एउटा समस्या हो । अघिल्लो वर्ष भत्केको सडकहरू पुनस्र्थापना गर्न नसकी पछिल्ला वर्षका सडकहरूको पुनस्र्थापना गर्नु चुनौती भइरहेको उनले बताए । यस वर्ष अपेक्षितभन्दा थप क्षति भएकोले पनि न्यून बजेटका कारण स्रोेत व्यवस्थापन हुन नसकेको उनी बताउँछन् ।
‘मर्मतको काम योजना गरेर अगाडि बढाउन समेत अर्थ मन्त्रालय र आफ्नै मन्त्रालयसँग अनुमति लिन समय लाग्छ’, उनले भने, ‘ठूलो क्षति भएको स्थानबाट स–सानो क्षति भएकोलाई पुनस्र्थापना गर्दै जानेछौँ ।’ न्यूनतम काम गरेर यातायात सञ्चालन गर्ने र बाँकी काम पछि गर्न निश्चित बजेट माग गर्ने भनेर अगाडि बढ्दा पनि ढिलो भएको प्रवक्ता नेपालले बताए ।
मेसिन प्रयोग गर्दा राजमार्गलाई असर
मानिसले नै खनेर बनाइएको सहायक बाटो बढी सुरक्षित हुने प्राविधिकहरू बताउँछन् । मेसिनले बढी बल लगाएर ठूलो आकारमा खन्ने भएकाले यो वातावरणमैत्री नभएको उनीहरूको बुझाइ छ ।
यसलाई मध्यनजर गर्दै सडक विभागले देशभरका प्रत्येक जिल्ला प्रशासन कार्यालय, प्रदेश र स्थानीय सरकारहरूलाई पत्राचार गर्ने गरेको छ । सडक विभागसँग अनुमति लिएर र जानकारी गराएर मात्र सडक खन्न अनुरोध गरे पनि त्यसलाई गम्भीर रूपमा नलिएको गुनासो विभागले गरेको छ ।
तर पछिल्लो समय विभिन्न स्थानमा भएको क्षतिलाई देखेर कुनै–कुनै स्थानीय तहले अनुमति माग्ने गरेको छ । धादिङ, चितवनलगायत जिल्लाका केही स्थानीय तहले भने सहायक सडकका लागि अनुमति मागेको निवेदन सडक विभागमा दर्ता छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया