पन्ज्युनयाँ क्रिकेटको उपाधि शुसितमलाई

RSS
52
Shares

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका–६ मा सम्पन्न दोस्रो संस्करणको पन्ज्युनयाँ टि–२० क्रिकेट कप प्रतियोगिताको उपाधि आयोजक शुसितम युवा क्लबले जितेको छ । मङ्गलबार भएको फाइनल खेलमा शुसितमले कैलपाल क्रिकेट क्लबलाई २४ रनले हराउँदै उपाधि चुमेको हो ।

उपाधिसँगै शुसितमले ७७ हजार ७७७ रुपैयाँ पुरस्कार प्राप्त गरेको छ भने उपविजेता कैलपालले ३३ हजार ३३३ रुपैयाँ पाएको छ । शुसितमले १२५ रनको लक्ष्य दिएपनि कैलपाल १७ दशमलव पाँच ओभरमा १०० रनमै समेटियो । कैलपालका लागि हरि ओझाले अविजित ३७ रनको योगदान दिए । कैलपाल यसअघि पहिलो संस्करणको उपविजेता टोली पनि हो । कैलपालको पारी ध्वस्त पार्ने क्रममा शुसितमका किरन कार्कीले चार तथा जनक कार्कीले तीन विकेट लिए । शुसितमका जनकसिंह कार्की म्यान अफ द फाइनल भए ।

त्यसअघि पन्ज्युनयाँ खेल मैदानमा टस हारेर ब्याटिङ गरेको शुसितमले निधारित २० ओभरमा ६ विकेट गुमाएर १२४ रन बनाएको थियो । उसका लागि जनकसिंह कार्कीले सर्वाधिक ४४ रन बनाए । बलिङतर्फ कैलपालका गोविन्द चन्दले तीन विकेट लिए ।

यसैबीच प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै व्यक्तिगत १२५ रन र सात विकेट लिएका शुसितमका कप्तान गोपाल कार्की म्यान अफ द सिरिज भए । उनले पाँच हजार ५५५ रुपैयाँ पुरस्कार प्राप्त गरे । शुसितमका लागि १३४ रन बनाएका सन्तोष कार्की उत्कृष्ट ब्याट्सम्यान घोषित भए । शुसितमका लागि १६ विकेट लिएका किरन कार्की उत्कृष्ट बलर भए । दुवैले समान तीन हजार ३३३ पुरस्कार प्राप्त गरे ।

प्रतियोगिताका विजेता र उपविजेता टोली तथा खेलाडीलाई दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्की, उपाध्यक्ष पार्वती कार्की, शुसितम क्रिकेट क्लबका अध्यक्ष वीरसिंह कार्कीलगायतले पुरस्कार वितरण गरे । सुशितम युवा क्लब पन्ज्युनयाँको आयोजनामा यही कात्तिक ७ गतेदेखि सञ्चालन भएको सो प्रतियोगितामा बैतडी र दार्चुलाका १२ टोली सहभागी थिए । यसअघि पहिलो संस्करणको पन्ज्युनयाँ टि–२० क्रिकेट कपको उपाधि दोगडास्टार क्लब, दोगडाकेदारले जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?