प्रधानमन्त्री देउवाको भारतीय समकक्षी मोदीसँग भेटवार्ता

लोकपथ
42
Shares

काठमाडौं । बेलायत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।

ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) अन्तर्गत दुईदिने विश्व नेताहरुको शिखर सम्मेलनमा दुई नेताहरुबीच भेटवार्ता भएको हो ।

भेटवार्तामा उनीहरुबीच दुई देशबीचको सम्बन्धलाई अझ कसरी प्रगाढ र सुदृढ बनाउने भन्ने सन्दर्भमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसैगरी भेटमा प्रधानमन्त्री देउवाले नेपाललाई रासायनिक मलको आपूर्तिमा भारतले गरेको सहयोगको निरन्तताका लागि आग्रह गरेको तथा भारतीय प्रधानमन्त्री मोदीले त्यमसा सहमति जनाएको बताइएको छ ।

यसैगरी प्रधानमन्त्री देउवाले दक्षिणी पश्चिमी सिमाना नेपालगञ्ज र महेन्द्रनगरबाट विमान प्रवेशबिन्दुको लागि स्वीकृति दिन भारतलाई आग्रह गरे । त्यसमा भारतीय प्रधानमन्त्री मोदीले नेपालको आवश्यकतालाई आफूले सकारात्मक रुपमा लिएको बताएका थिए ।

प्रधानमन्त्री देउवाले कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रण, भूकम्पपछिको पुनःनिर्माण, भौतिक पूर्वाधारलगायतका क्षेत्रमा भारतले गरेको सहयोगलाई निरन्तरता दिन पनि आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?