आज कागतिहार

कुकुर तिहार पनि आजै

काठमाडौं । कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने कागतिहार पर्व आज यमराजको दूतका रुपमा कागलाई मीठो-मीठो खानेकुरा खान दिएर मनाइँदै छ ।

काग तिहार कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुल्क द्वितीयासम्म पाँच दिन मनाइने तिहार पर्वको पहिलो दिन हो । यस दिन कागको पूजा गरिन्छ । कागलाई अत्यन्त चलाख र सर्वभक्षी प्राणीका रुपमा मानिन्छ ।

कागले सबैलाई समान दृष्टिले हेर्छ भने यसले अन्नबालीमा लाग्ने कीरा–फट्याङग्राहरू खाइदिन्छ । कागलाई यमराजको सन्देश सुनाउने यमदूतका रूपमा पनि लिइन्छ । काग यमराजको अत्यन्त प्रिय भक्त पनि मानिन्छ । कागले यमराज समक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई मीठो मीठो खान दिई खुसी पार्ने गरिएको हो ।

कागलाई दही भात मीठो लाग्ने भएकाले आजको दिन कागलाई दही भात खुवाएमा यमराज समक्ष राम्रो सन्देश लगिदिने भएकाले कागलाई दही भात खुवाउने प्रचलन रही आएको छ ।

काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वाससमेत गर्ने गरिन्छ ।

अझै पनि गाँउघरमा आफ्नो घर अगाडि आएर काग करायो भने केही सन्देश ल्याएको वा घरमा पाहुना आउने जानकारीको दिएको मानिन्छ ।

कागले विशेषगरी अशुभ सन्देश छिटो ल्याउने जनविश्वास रहेको छ । त्यसैले आफ्नो घरआँगनमा आएर काग कराउन थाल्यो भने राम्रो खबर सुनाओस् भनेर शुभ बोल भनेर भनिन्छ ।

धर्मशास्त्रमा उल्लेख भए अनुसार यमलोकका अधिपति यमराजले पृथ्वी लोकका मानिसहरुको जन्म मृत्युको विवरण राख्ने गर्दछन् र त्यस्तो विवरण पृथ्वीलोकमा ल्याउने तथा लैजाने काम भने कागले गर्छ भन्ने धार्मिक मान्यता रहेको छ ।

आकाशबाट उडेर छिटो सन्देश ल्याउन लैजान सक्ने भएकाले यमराजले कागलाई आफ्नो दूत बनाएको धार्मिक विश्वास रहेको छ ।

यस्तै काग तिहारको दिन कागको पूजाआजा नगरेमा पापको भागी भइन्छ र मृत्युपछि नर्कमा पुगिन्छ भन्ने धार्मिक विश्वास रहेको छ ।

काग तिहारको दिन घरवाहिर पात या दुना टपरीमा विभिन्न खाना राखेर कागलाई खान दिइन्छ । कागले वर्षभरि आफ्नो घरआगनमा राम्रो र सुखद खबरमात्रै ल्याओस भनेर कामना गरिन्छ ।

कुकुर तिहार पनि आजै

तिथि घटबढका कारण कुकुर तिहार पनि आजै परेको छ । कुकुरलाई मीठा–मीठा खानेकुरा खान दिएर पूजाआज गरी कुकुर तिहार मनाइँदै छ । त्रयोदशी र चतुर्दशी तिथि यस वर्ष एकै दिन परेकाले कुकुर तिहार पनि आजै मनाउन लागिएको हो ।

कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी खानेकुरा खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छाडिदिने धार्मिक विश्वास रहेको छ ।

कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास छ । कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रुपमा लिइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?