देउसी भैलो खेल्न बलिराजाले किन पठाएका थिए ?

लोकपथ
133
Shares

काठमाडौं । आज लक्ष्मीपूजा । सारा नेपाल दियोदेखि विद्युतीय झिलिमिली बत्तीको उज्यालोमा झपक्कै बलेको छ । कोरोना कहरका बीच आएको बडादशैँ र त्यसलगत्तै आएको उमङ्गको पर्व तिहारले यतिबेला सबैलाई हर्षित तुल्याएको छ ।

सबैजना आफ्नो घर आँगनदेखि सडक, पसल आदि सफा गरेर चिटिक्क बनाउनमा व्यस्त छन् ।

यसरी वर्षभरि सफा नगरिने ठाउँ पनि यस दिन सफा गरिन्छ, फूल र बत्तीले सजाइन्छ । यसो गरेपछि मात्रै लक्ष्मीले हाम्रो घर आँगनमा पाउ राख्छिन्, हाम्रो जीवनमा बास गर्छिन् भन्ने हिन्दु संस्कृतिको मान्यता छ ।

लक्ष्मी पूजा सँगसँगै ‘देउसीभैलो’ पनि खेलिने भएकाले आजको दिन खास छ । हरेक वर्ष लक्ष्मी पूजाको दिनदेखि मात्रै ‘देउसीभैलो’ खेलिन्छ । हुन त देउसी पुरुषले अनि भैलो महिलाले खेल्ने हो भन्ने चलन छ । यद्यपि आजकल महिला पुरुष मिलिजुली देउसी खेल्छन् ।

यसरी भगवानको पालोदेखि नै देउसी भैलो खेल्ने चलन कसरी रहन गयो ?, किन खेलिन्थ्यो देउसी भैलो ? यसको अर्थ के हो ? भन्ने प्रश्नमा संस्कृतिविद् डा. देवमणी भट्टराई भन्छन्, ‘देउसीभैलो रमाइलोका लागि नभएर कुनै विशेष कामका लागि खेलिएको थियो । किन भनेर बुझ्न एक पटक त्यो समयलाई फर्केर हेर्नुपर्ने हुन्छ ।’

उनका अनुसार बलिराजाले संसारकै ठूलो यज्ञ आयोजना गर्न लागेका थिए । त्यही महायज्ञका लागि आवश्यक धनराशिलगायत सामग्रीहरु जुटाउनलाई बामन भगवान् विभिन्न ठाउँमा माग्दै हिँडे । उनीसँगै त्यस ठाउँका अन्य व्यक्ति पनि समूह बनाएर माग्न हिँडे । यसरी माग्ने क्रममा उनीहरुले भनेको ‘देउ श्री’ अर्थात् ‘पैसा देउ’ पदावली अपभ्रशं भएर ‘देउसीरे’ भएको हो ।

‘देउसी खेल्दा ‘हामी त्यसै आएका होइनौँ, बलि राजाको हुकुमले गर्दा’ भन्नुको कारण यही हो’, भन्दै डा. भट्टराईले कारण खुलाए ।

त्यस्तै, घरका सबै पुरुष सदस्य माग्नलाई महिनौँ, वर्षौँ अरु ठाउँमा पुगेका बेला घरमा बस्ने महिलाहरुले पनि आफ्नो मन बहलाउनका निमित्त ‘भैलो’ खेले । ‘त्यहीँदेखि देउसीभैलोको परम्परा सुरु भएको हो’, देवकोटाले भने ।

समय बदलियो तर, चलन बदलिएको छैन । यद्यपि, देउसीभैलो खेल्ने शैलीमा भने निकै परिवर्तन आएको महसुस गर्न सकिन्छ । धेरै पैसा उठाउनलाई देउसी खेल्ने, देउसीकै नाममा विभिन्न असुहाउँदिला, उच्छृङ्खल हर्कतहरु गर्नाले समाजमा विकृति भित्रिरहेको छ । त्यसैले संस्कृतिविद्हरु पनि यस विषयलाई लिएर चिन्तित भएको देवमणीले बताए । ‘हाम्रो संस्कृति विकृतिमा परिणत नहोस् भन्ने हाम्रो इच्छा हो’, उनले थपे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?