भाइ असीम माया !
सन्चै छु भन्ने बाध्यता नभएको भए दुःखेको छु भन्थेँ । आशा छ, त्यहाँ तिमीलाई सन्चै छ ।
भाइ, यसपालिको दशैँ निकै खल्लो भो ।
टीका र जमरा निधारमा मुस्कुराएनन् । तर, पोहोरजस्तै भोलिपल्टैसम्म अडिए ।
पोहोर हामीले कसले कति दिनसम्म हजुरबुबाको हातको टीका अड्याउने भन्ने ‘प्रतियोगिता’ गरेको कुरा परदेशको प्रचण्ड तापले नपगालेको भए पक्कै सम्झेका छौ ।
यसपालि दशैँको मासु पनि धेरै खेर गयो । साँच्चिकै खल्लो भयो दशैँ ।
तिमी मिस्ड भयौ भाइ ।
बाबु,
यो सालको तिहार कसरी बित्ने होला भनेर सोचिरहेछु ।
फेसबुकमा र अरु सामाजिक सञ्जालमा साथीभाइले गरेका अनगिन्ती पोस्टहरूले तिमीलाई पनि तिहार मान्न नेपाल फर्किन मन पक्कै होला ।
आकाशमा उडेका चङ्गा, लामो छुट्टीमा घरमा बसेका केटाकेटीको उपद्रव, चौबाटोमा जम्ने तासको खाल, बारीमा ढकमक्क फुलेका फूलहरू, पोखरीको आडैमा पाकेको बिमिरो, भोगटे, सुन्तला, बजारमा बेच्न राखिएका सप्तरङ्गी टीका यी यावत दृश्यहरूले झसङ्ग पार्दोरहेछ ।
घरबारीको सिरानको वारपार ढाकेको पाटोमा आलीबाट तत्लो पाटो छुने गरी लर्केका मखमली पन्छाएर बन्छोघाँस काट्दैगर्दा मैले पनि थोरै सम्झिन्नँ म । यसपालि सयपत्री ढकमक्क फुलेका छन् ।
यी मखमली फूलहरू पनि मलाई तिमी नआएको रिसमा जिस्काउँछन्झैँ लाग्छ । पोहोर २ वटा माला मात्रै पुगेको थियो । बारीका कान्लाभरि तिहार ल्याउँदै फूलहरू फुलेका छन् ।
फूलले मात्र चार-पाँच डाली भरिन्छ होला भाइ !
तिहार नजिकिँदै गर्दा आमा भनिरहन्छिन्, ‘बारीतिर ओर्लिन्न मन लाउन्न, कान्छोको याद आउँछ ।’
आमाले पनि तेरो कुरा गरिरहनुहुन्छ भाइ ! आमाले चामलको पीठो पिँधेर ल्याएकी छिन् ।
पोहोर सेलरोटी अरहरा भयो भनेर यसपालि थोरै सोडा हाल्ने रे ! डोला परेका सेलरोटी पकाइदिन साइँली आमैलाई घर–घरबाट बोलाउन थालिसके ।
अनि साँच्ची, तिमी अस्ति बासँग भिडियोच्याटमा किन नहाँसेको ? कान्छो बिरामी भयो कि क्या हो भन्दै बारम्बार बा चिन्ता गरिरहनुभएको छ ।
परदेश गएको मान्छेले घरमा फोन गर्दा हाँसिदेऊ न है ? कम्तीमा बा यता खिन्न हुँदैनन् । अनि आमाका आँखा ओभाना हुन्छन् ।
आमाको लागि भाइटीकाको सामान सेलरोटी सबै पकाइसकेँ । प्याकिङ पनि गरिदिएँ । आमाले मामाको लागि एकजोर राम्रा लुगा किनेकी छिन् यसपालि । बाबाले फुपूहरूको लागि स्पेसल गिफ्ट तयार पारिसक्नुभयो । राम्रा धोतीचोलो किनिदिएका छन् फुपूहरूलाई । फुपूहरू लक्ष्मीपूजाकै दिन आउनुहुन्छ रे ! अँ, नगरकोटे दिदीको चाहिँ आउन नमिल्ने भयो रे !
तिम्रा साथीहरू प्रदिप, सुदीप, कान्छो, हरि, देव, दिपेन्द्र नेपाल नै छन् । हरि र देव भाइटीकाको पर्सिपल्ट जाने रे ! उनीहरूको कम्पनी राम्रो परेको छ रे !
अस्ति आमाले विवाह गरेर जाओ भनेको मुखामुख गरेर हाँस्दै थिए । तिनीहरूको लभ परेको छ होला है ? तिमीलाई त भन्लान् नि । प्रदीप, सुदीपको घरमाथिको दोबाटोमा लिङ्गेपिङ हालेका छन् । भाइटीकाको भोलिपल्ट निकाल्ने गरी ।
संगीता, पार्वती उजेलीहरूको ‘क्लोज क्याम्प’ चलिरहेको छ, ‘भैलीनी आइन् आँगन’ गीतमा नाच्नका लागि ।
काकीहरूको आमासमूहले लक्ष्मीपूजाको दिन दिउँसो भैली खेलेर एम्बुलेन्स किन्ने योजना बुनेका छन् ।
अंकलको छोराले पटका किनिसक्यो । विवेकहरूको छुट्टै टिम छ रे भैलो खेल्ने ।
राँके बत्ती बनाइदिन अस्ति बुबालाई चुक्ली लाउँदै थियो ।
पल्लो गाउँमा अंकलहरूको तासको खाल जम्न थालिसक्यो । अँ अस्ती मम्मी र मैले तास खेलेको नि ! ‘शो फरास’ मैले जिते । मम्मीलाई एक्का पर्दा मैले बास्साले जित्छ भनेर सय रुप्पे खाइदेको ।
पल्लो गाउँमा अंकलहरूको तासको खाल जम्न थालिसक्यो । अँ अस्ती मम्मी र मैले तास खेलेको नि ! ‘शो फरास’ । मैले जितेँ । मम्मीलाई एक्का पर्दा मैले बास्साले जित्छ भनेर सय रुप्पे खाइदेको ।
भाइ, तिम्रो कम्पनी कस्तो परेको छ ? कति सुविधा छ ? बिरामी पर्दा छुट्टी लिन पाउँछौ कि पाउँदैनौँ ? खाना कहाँ कसरी खान्छौ ? बस्ने ठाउँ कस्तो छ ? साथीसंगत कस्तो छ ?त्यो देशको कानुनका बारेमा जान्यौ होला नि है ? त्यो हुण्डीसुण्डी गर्न पर्दैन है भन्देको छु ।
नेपालको कानुनमा त्यो कारोबार अवैध हो । अर्काको देश र कानुन नजान्दा कति नेपाली दाजुभाइ दिदीबहिनीले दुःख झेल्नु परेको छ तिमीले पनि थाहा पाएका हौला । कम्तीमा यति थाहा पायौ भने तिमीलाई अप्ठ्यारो नपर्ला कि भन्ने लागिरहन्छ तर आमाबाका अगाडि यी सबै कुरा गर्दा उहाँहरूलाई चिन्ता हुन्छ भनेर मैले हाइ हेल्लो मात्रै गर्ने गरेकी थिएँ । आज मौका मिल्यो । नढाँटी जवाफ दिनू ।
भाइ, समाचारमा पढेकी छु मेरो हात र तिम्रो निधार मात्रै खाली भएको होइन । हजारौँ नेपाली दिदीबहिनी दाजुभाइले वर्षौंदेखि वर्षौंसम्म टीका लगाउन नपाएका छन् । आज महसुस भयो मन कति पोल्दो रैछ ।
हामी दुवै अभागी रहेछौँ । प्यारो भाइ खाडीमा पसिना चुहाउँदै छ । यता दिदी बारीभरि फूलेका मखमली, सयपत्री र गोदाबरी फूलहरू हेरेर परेली भिजाउँदै छे ।
हामी दुवै अभागी रहेछौँ ।
भाइ, तिमीले पढेका छौ । गाउँका अरु ५-७ जना दाजुभाइ दिदीबहिनीको युवाजमात तयार गरेर नेपालमा नै केही गरौँ न हुन्न ? सँगै भएपछि वर्षौँ दुःखजिलो गरे पनि कम्तीमा दशैँ, तिहार, नेपाल सम्बत्, छठ, नयाँ वर्ष, होलीजस्ता चाडबाडमा धक फुकाएर रमाउन त पाइन्छ ।
बल्ल हाम्रो बारीमा सयपत्री र मखमलीहरू मुस्कुराउँछन् होला । खुलेर फुल्छन् होला । तिमी हाँसौला ।
म हाँस्छु ।
अर्को साल सप्तरङ्गीले तिम्रो निधार सजाउने सपना साँचेकी तिम्रो दिदी ।
पशुपतिनाथले रक्षा गरून् ।
अहिलेलाई बिदा ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया