काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड तिहारको महत्वपूर्ण दिन आज लक्ष्मीपूजा ।
बेलुका घर–घरमा लक्ष्मीपूजा गरिन्छ । आजका दिन घरवरिपरि सरसफाइ गरी सिँगारेर बत्तीले झिलिमिली पारी लक्ष्मीपूजा गरेमा लक्ष्मीले सधैँ बास गर्छिन् र ऐश्वर्य प्रदान गर्छिन् भन्ने धार्मिक विश्वास रहिआएको छ ।
यसै विश्वासका कारण आज घर–घरमा दीपमालिकासहित दीपावली गरिन्छ ।
तिहारमा लक्ष्मीमातालाई खुशी पार्न चढाउनुहोस् यी पाँच चिज :
तिहार हिन्दू धर्मावलम्बीहरूको दशैँपछिको सबैभन्दा ठूलो पर्व हो । यो पर्व कात्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले सुरु भएर कात्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म ९पाँच दिन० मनाइन्छ । पाँच दिनसम्म मनाइने भएकाले यसलाई यमपञ्चक पनि भनिन्छ । तर यस वर्ष भने कुकुरतिहार र कागतिहार एकै दिन परेको छ ।
हिन्दू धर्मावलम्बीले दीपावली (दिवाली)को रुपमा यस पर्वलाई धुमधामका साथ मनाउँछन् । यस पर्वको नाम हिन्दी शब्दको ‘त्योहार’ शब्दबाट विकृत हुँदै तिहार बनेको अनुमान लगाइन्छ । यसलाई दीपावली अनि दिवाली नामले पनि चिनिन्छ ।
यमराजले आफ्नी बहिनी यमुनाका घरमा आतिथ्य ग्रहण गरेको हुनाले यी पाँच दिनलाई यमपञ्चक भनिएको छ । यही दिन भगवान् धन्वन्तरीको जन्म भएको हुनाले यसलाई धन्वन्तरी जयन्ती वा धनतरेस पनि भनिन्छ ।
यसै दिन साँझमा घरको मूलद्वारको सामु यमराजलाई दीपदान गर्नाले मृत्युदेव प्रसन्न भई आरोग्यता तथा दीर्घजीवन प्रदान गर्छन् भन्ने विश्वास छ । त्यो घरमा कहिल्यै पनि ‘अपमृत्यु’ वा ‘अल्पमृत्यु’ हुँदैन भन्ने मान्यता छ ।
यमपञ्चकमा क्रमशः काग, कुकुर, गाई, लक्ष्मी, गोवद्र्धन र भाइ पूजा गरिन्छ । पिङ खेल्ने, दीपावली गर्ने र देउसीभैलो खेल्दै सेलरोटी आदि मिष्ठान्न खाई रमाइलो गरी तिहार मनाउने गरिन्छ ।
यस वर्ष लक्ष्मीपूजा कात्तिक १८ गते बिहीबार परेको छ । यो दिन लक्ष्मीपूजाको विधिअनुसार पूजा गर्नाले घरको गरिबी हट्ने घरमा सुख शान्ति छाउने भन्ने मान्यता छ । लक्ष्मीमातालाई खुशी बनाउन लक्ष्मीपूजाको दिन यस्ता चिज चढाउनाले मनोइच्छा पूरा हुने विश्वास छ ।
१) लक्ष्मीपूजाको दिन बिहान चाँडै उठ्नुहोस् । उठिसकेपछि लक्ष्मी मन्दिर गएर राम्रो केही वस्त्र र गुलाबको फूल चढाउनुहोस् ।
२) लक्ष्मीपूजाको दिन बिहान उखु ल्याउनुहोस् र साँझ लक्ष्मीपूजा गर्ने क्रममा चढाउनुहोस् ।
३) लक्ष्मीपूजाको रात लक्ष्मीपूजा गर्दा नौ गोमती चक्र राख्नुहोस् । पूजा सकिएपछि चक्रलाई आफ्नो दराजमा राख्नुहोस् ।
४) पूजाको साँझमा गरिब व्यक्तिलाई आफ्नो घरमा भोजन र सकेको दान दिनुहोस् । विशेष पूजामा यो उपाय गर्नुहोस् ।
५) यस रात पाँच साबुत सुपारी, कालो बेसार, पाँच पहेलो कौडी पनि राख्नुहोस् । पूजापछि सबैलाई लगेर आफ्नो दराजमा राख्नुहोस् ।
यसो गर्दा लक्ष्मी प्रसन्न हुने सो घरमा सदा लक्ष्मीले बास गर्ने विश्वास छ । लक्ष्मीपूजा गरिसकेपछि मध्यरातमा महिलाले आँगनबाट भित्रसम्म दुःख, दरिद्र हटी सुखशान्ति भित्रियोस्, लक्ष्मी स्थिर भइरहून् भन्ने उद्देश्यले नाङ्लो ठटाउँदै प्रवेश गर्ने शास्त्रीय विधि गर्ने चलन रही आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया