कांग्रेस कमजोर बन्दा जनताले दुःख पाउँछन् : नेता सिंह

RSS
56
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेस कमजोर बन्दा जनताले दुःख पाउने बताएका छन् ।

नेपाली कांग्रेस चितवन जिल्ला कार्यसमितिले आज चितवनमा आयोजना गरेको शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रममा उनले कांग्रेस कमजोर बन्दा देश र जनता दुवैले दुःख पाउने बताएका हुन्। कम्युनिष्टले गर्न नसकेको काम कांग्रेसले गरेको भए पनि कांग्रेसलाई कमजोर बनाउने काम भएको हुँदा आम जनताले दुःख पाउनुपरेको उनको भनाइ थियो । उनले भने, “संविधान जारी गर्ने, शान्ति सम्झौता गर्ने लगायतका महत्वपूर्ण काम कांग्रेसको नेतृत्वमा भएको छ, तर भोट माग्न जाँदा समस्या आउँछ ।”

उहाँले १४ औं महाधिवेशनमा समयको माग, जनताको मर्म र संविधानको रक्षा गर्ने नेतृत्व छनोट गर्नुपर्ने बताए। पार्टीलाई विधान अनुसार चलाउनु र जनताको भावना बुझ्न सकेमा मात्रै पार्टीलाई कसैले पछि पार्न नसक्ने उहाँले जिकिर गरे। आगामी आम निर्वाचनमा पार्टीले आफ्नो तागतले एक्लै निर्वाचनमा जानुको विकल्प नरहेको उनको भनाइ थियो ।

कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले आम निर्वाचनमा गठबन्धन विना निर्वाचन लड्ने तयारीमा लाग्नुपर्ने बताइन्। उनले भनिन्, “चैतमा स्थानीय तहको निर्वाचन हुँदैछ, अहिलेको गठबन्धन सरकार सञ्चालनका लागि हो, निर्वाचनका लागि होईन ।” आउँदो निर्वाचनमा पार्टीले जिल्लाका सबै तहमा जीत हासिल गर्नुपर्ने उनको भनाई थियो ।

नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस धादिङका सभापति रमेश धमला, चिवतनका उपसभापति कैलाश कोइराला, क्षेत्रीय प्रतिनिधि सुशिला ढुङ्गानालगायतले पार्टी सङ्गठन बलियो बनाउनुपर्ने धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?