खेलाडीहरुको तिहार : को कसरी मनाउँदै छन् ?

लोकपथ
140
Shares

काठमाडौं । हिन्दु नेपालीहरुको दोस्रो महान् पर्वको रुपमा मनाइने तिहार पर्व सुरु भइसकेको छ । कोरोनाको कहरबीच आएको तिहारले गाउँ सहरलाई छपक्कै छोएको छ ।

तिहारमा देउसी भैलो खेल्ने, दिदीबहिनीको हातबाट दाजुभाइले टीका लगाउने प्रचलन छ । चेली र माइतीको सम्बन्ध प्रगाढ होेस् भनेर यो चाडमा दाजुभाइको विशेष पूजा गर्ने चलन छ ।

कोरोनाको जोखिम झनै बढेका बेला आएको यो चाडलाई सांस्कृतिक पर्वका रुपमा निरन्तरता मात्रै दिन जनस्वास्थ्यविद्ले सुझाएका छन् । नेपाली खेलाडीहरु पनि वर्षमा एक पटक आउने तिहारलाई रमाइलोका साथ परिवारमा मनाउने योजनामा छन् ।

यस वर्षको तिहारलाई कसरी मनाउँदै हुनुहुन्छ ? भनेर हामीले खेलाडीहरुलाई सोधेका थियौँ :

सावित्रा भण्डारी (साम्बा), फुटबलर

यसपालि ट्रिटमेन्टका लागि कतारमा छु । खासै त्यस्तो प्लान त केही पनि छैन । यतै दिदीहरुसँग गेट टुगेदर हुन्छ होला । तिहार भन्नेबित्तिकै झिलिमिली, देउसी भैलो, सेलरोटीको याद आउँछ ।

मलाई तिहार खास लाग्छ । किनभने टाढा भएका दिदीबहिनीहरु माइती आउँछन् । दाजुभाइसँग भेटघाट, बच्चामा सँगै बिताएका पलहरु सम्झिँदै गरिने कुराकानी, देउसी भैलो सप्तरङ्गी टीका यी कुराहरुले नै तिहार खास लाग्छ ।

तिहारको माहोल नै छुट्टै हुन्छ । निधारमा लगाउने सप्तरङ्गी टीका, गलामा लगाउने सयपत्री र मखमली फूलको माला दाजुभाइलाई लगाउँदै दीर्घायुको कामना गर्न पाउँदा निकै खुसी लाग्छ ।
तर यसपाुलि यता कतारमा भएँ । अब छिटै चोट निको भएर नेपाल आउँछु ।

आयशा शाक्य – तेक्वान्दो

‘सर्वप्रथम सबै नेपालीहरुलाई तिहारको शुभकामना । यस पटकको तिहारमा भने विशेष योजना बनाएका छौँ । घरमै रमाइलो गर्छु । सेलरोटी पकाउँछु । तिहारको बेला सबैतिर झिलिमिली हुन्छ, त्यतिबेलाचाहिँ काठमाडौं साँच्चिकै सिँगारिएको दुलहीजस्तै लाग्छ । त्यसैले मलाई तिहार अरु चाडभन्दा भिन्नै लाग्छ’, प्रफुल्लित हुँदै उनले सुनाइन्, ‘घर सिँगार्ने काम सकिसकेका छौँ । किनमेल पनि गरिसकेको छु । बच्चाहरुलाई पनि समय छुट्टयाएको छु ।’

सबैतिर झिलिमिली, सेलरोटीको बास्ना, रङगोली, देउसी भैलो, टीका, फूलहरु, तिहारको हरेक कुरा मनपर्छ मलाई ।

पलेशा गोवर्धन श्रेष्ठ  (तेक्वान्दो खेलाडी)

तिहार निकै रमाइलो लाग्छ । जताततै झिलिमिली बत्ती बलेको हुन्छ । माहोल नै बेग्लै लाग्छ । मेरो तिहारमा रमाइलो गरी बिताउने योजना बनाएकी छु । घरमा समय बिताउँछु । घर सफा गर्ने बत्ती हाल्ने नै हो योजना । पहिले त देउसी भैलो खेल्न गइन्थ्यो धेरै रमाइलो गरिन्थ्यो । यसपालि पनि देउसी भैलो खेल्ने कुनै प्लान त छैन तर हेरम के हुन्छ ।

विकास थापा– भारोत्तोलन

यस पटकको तिहारमा खासै केही पनि योजना छैन । जुठो परेका कारण टीका लगाउन हुन्न । त्यसैले खासै यसपालि त्यस्तो कुनै स्पेसल छैन । एसियन गेम आउँदै छ, त्यसैको ट्रेनिङमा व्यस्त छु । तिहारमा पनि ट्रेनिङमै व्यस्त हुन्छु ।
अघिल्लो वर्षको तिहारमा ४ वर्षपछि टीका लगाएको थिएँ । धेरै नै रमाइलो भएको थियो । यसपालि त्यस्तै भयो ।

रेखा पौडेल– फुटबलर

यसपालिको तिहार ट्रेनिङमा नै बिताउँछु होला । अहिले ट्रेनिङमै छु । तिहारमा छुट्टी हुन्छ वा हुन्न थाहा छैन । छुट्टी भयो भने घरमा गएर परिवारसँग मनाउँछु । नत्र यता ट्रेनिङमा नै व्यस्त हुन्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?