काठमाडौं-दुई ठूला वाम पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता प्रक्रिया कहिले सहमति नजिक त कहिले अलिक टाढा बन्दै अघि बढिरहेको छ । दुई पार्टी कहिले सहमति नजिक पुगेको दाबी गर्दै आएका छन् भने उनीहरूले नै पुनः सहमति नजुटिसकेको अभिव्यक्ति दिने गरेका छन् । आजको राजधानी दैनिकमा खबर छ
गत मंसिरमा सम्पन्न निर्वाचनलगत्तै पार्टी एकता गर्ने घोषणा गरेका दुई दलबीचको एकता प्रक्रिया अहिलेसम्म कहिले घाम कहिले पानी जस्तै देखिएको छ । कार्यदल, एकता संयोजन समितिमा सहमति नजुटेपछि विवाद हल गर्ने जिम्मा दुई अध्यक्षमा पुगे पनि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच नै सहमतिको गाँठो नफुक्दा एकता प्रक्रिया नै जाममा परेकोे छ । दुई पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण २३–२५ चैत अगावै एकता घोषणा गर्ने तयारी गरेका थिए । त्यसपछि ९ वैशाख अर्थात् नेपाल कम्युनिस्ट पार्टी स्थापना तथा लेनिन दिवसको दिन एकता घोषणा गर्ने तयारी गरे पनि विवादका कारण सफल भएन ।
९ वैशाखमा एकता संयोजन समितिको आयोजनामा एकता सन्देश दिने भन्दै आयोजित कार्यक्रममा ब्यानरका कारण विवादसमेत उब्जियो । त्यसको एक सातापछि ओलीले ब्यानरमा विवाद गर्नेलाई ‘केटाकेटी’ को संज्ञा दिए ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एक कार्यक्रममा केही दिनअघि मात्र एकताका लागि एमाले नेताहरू लचक हुनुपर्ने जनाएका थिए । त्यसलगत्तै ओलीको ट्विटरबाट विवास्पद अभिव्यक्ति सार्वजनिक भएको थियो ।
ओली–दाहालबीच बुधबार भएको भेटमा दाहालले ओलीसमक्ष ट्विटर अभिव्यक्तिमाथि प्रश्न गरेका थिए । ओलीले उक्त अभिव्यक्ति अर्कै प्रसंगमा लेखिएको भए पनि प्रसंग मिल्दो भएको भन्दै क्षमा मागे ।
ओली र दाहालबीच बुधबार भएको भेटमा एकताको विषयमा छलफल भए पनि कुनै ठोस सहमति जुट्न सकेको छैन । गत २० वैशाखमा बसेको दुई अध्यक्षबीचको छलफलपछि दुवै पक्षले ठोस सहमति नजिक पुगेको र चाँडै एकता मिति तोक्ने बताएका थिए । स्रोतका अनुसार दुवै पक्ष अहिलेसम्म एकता संयोजन समितिमा मिल्न बाँकी विषयमा सहमति नजिक थोरै पनि अघि बढ्न सकेका छैनन् ।
दुई पार्टीबीच एकतामा कुन पार्टीबाट कति अनुपातमा एकता हुने भन्ने विषयमा सहमति हुन सकेको छैन । माओवादी केन्द्रले ५०÷५० प्रतिशतमा एकता हुनुपर्ने अडान राख्दै आएको छ । एमालेले भने यसअघिका सहमतिअनुसार अनुपात हुने गरी एकता हुनुपर्ने जनाउँदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया