बिचौलियाले नै खान्छन्, तीन सय प्रतिशत नाफा

काठमाडौं -सरकारको फितलो अनुगमन र व्यापारीको सिन्डिकेटका कारण काठमाडौंका उपभोक्ताले कृषकले बिक्री गरेभन्दा तीन सय प्रतिशत बढी मूल्य तिरेर तरकारी उपभोग गर्नुपरेको छ ।

किसानदेखि उपभोक्तासम्म पुग्दा तरकारीको मूल्यमा करिब तीन सय प्रतिशत बढी मूल्यान्तर भेटिएको छ । किसानदेखि उपभोक्तासम्म आइपुग्दा पाँचभन्दा बढी तहमा नाफाखोरको जालोका कारण कृषकले कम र उपभोक्ताले बढी मूल्य तिर्नु परिरहेको छ ।

काभ्रेका किसानले २० रुपैयाँ प्रतिकेजीका दरले बिक्री गरेको काँक्रो काठमाडौंका उपभोक्ताले ६० रुपैयाँ प्रतिकेजीका दरले खरिद गर्ने गरेका छन् । किसानदेखि उपभोक्ताबीचको यो मूल्यान्तर दुई सय प्रतिशत हो ।

त्यस्तै, काभ्रेका किसानले प्रतिकेजी १० रुपैयाँका दरले बिक्री गरेको मुला काठमाडौंका उपभोक्ताले प्रतिकेजी ६० रुपैयाँका दरले खरिद गर्ने गरिरहेका छन् । किसानदेखि उपभोक्तासम्म पुग्दा मुलाको मूल्यमा पाँच सय प्रतिशतको अन्तर देखिन्छ ।

कालीमाटी फलफूल तथा तरकारी बजारमा काँक्राको थोक मूल्य प्रतिकेजी ४० देखि ४५ रुपैयाँका छ । तर, उपत्यकाकै भक्तपुरका कृषकले भने सो काँक्रोलाई २० रुपैयाँ केजीमा बिक्री गर्छन् ।

काठमाडौंका व्यापारीले कृषकको खेतमै गएर खरिद गरेर उपत्यकाका खुद्रा पसलमा पु¥याउँदा नै एक सय प्रतिशतभन्दा बढी मूल्य असुल गर्ने गरेका छन् । त्यसमा थोक विक्रेताले थप नाफा राखेर बिक्री गर्दा कृषकले बिक्री गरेको मूल्य भन्दा दुई सय प्रतिशत बढी मूल्य उपभोक्ताले तिर्नुपरेको छ, राजधानी दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?