डराए नेपाली फिल्म, हललाई एउटै सहारा ‘सूर्यवंशी’

काठमाडौं । दुई वर्षपछि फिल्म हल त खुले तर नेपाली निर्माता फिल्म लगाउन डराए । नेपालका हलका लागि मुक्तिदाता ठानिएको बलिउड फिल्म ‘सूर्यवंशी’ लामो प्रयासपछि नेपाल आउने भएको छ । वितरक मनोज राठीले फिल्म नेपालका सबै हलमा लाग्ने जानकारी दिएका छन् ।

‘एक त ५० प्रतिशत अकुपेन्सी त्यसमाथि दर्शक हल जान डराइरहेको अवस्था छ । तर उद्योगलाई गतिशील बनाउन रिस्क लिनैपर्छ भन्ने ठानेर हामीले फिल्म नेपालमा रिलिज गर्ने निर्णय गरेका छौँ’, वितरक राठीले भने, ‘नेपाली फिल्मले पनि बाटो पक्रियोस् भनेर मैले ब्यङ्कटेस कम्पनीबाट एकल रिस्कमा फिल्म ल्याएको हुँ । हलहरुबाट डिमान्ड भइरहेको छ । हाम्रा फिल्मकर्मीहरु डराए । मेरो पेसा नै यही भएकाले फिल्म उद्योग चलायमान होस् भन्ने चाहना हो’, राठीले लोकपथसँग भने ।

फिल्म कति रकममा नेपाल ल्याइएको हो भन्ने कुराचाहिँ राठीले खुलाउन चाहेनन् ।

यता राम्रा ब्यानरले बनाएका फिल्महरु तयारी अवस्थामा भए पनि प्रदर्शन गर्न डराइरहेका छन् । टिकट काउन्टरमा दर्शकको उपस्थिति शून्यप्राय छ ।

‘हामीलाई प्राकृतिक प्रकोप र विभिन्न रोगव्याधिले उठ्न दिइरहेको छैन । २०७२ मा भूकम्प जाँदा पनि सबैभन्दा प्रभावित फिल्म क्षेत्र नै भएको थियो । अहिले कोभिडले पनि फिल्म क्षेत्रलाई नै मर्का पा¥यो’, निर्देशक दिपेन्द्र के खनाल भन्छन् । फिल्म क्षेत्र पर्ख र हेरको अवस्थामा रहेको उनको भनाइ छ ।

हलिउड, बलिउडले ओटीटी प्लेटफर्मलाई विकल्पको रुपमा अघि सारेर फिल्म क्षेत्र चलायमान बनाए पनि नेपाली फिल्मकर्मीले त्यसमा वास्ता गरेका छैनन् ।

‘विपत्ति भनेको हरेक क्षेत्रका लागि नयाँ विकल्प सिर्जना गर्ने समय पनि हो । अन्य देशमा खर्बौँ खर्चेर ओटीटी प्लेटफर्मले नै फिल्म तथा वेब सिरिजहरु निर्माण गर्छन् । हाम्रो देशमा भने ओटीटीवाला पनि निर्माताको भरमा परेका छन् । ओटीटीवालाहरु पनि लगानी डुब्ने डरमा छन्’, निर्माता माधव वाग्ले भन्छन्, ‘हामीभन्दा निकै पछाडि रहेको कोरिया सबटाइटलकै भरमा ओस्कार जित्न सफल भइसक्यो । राम्रो कन्टेन्टकै कारण नेटफिल्क्सले अंग्रेजीमा समेत डब गरेर स्क्विड गेम भन्ने सिरिज राख्यो जसले तहल्का मच्चायो ।’

नेपाली फिल्मको कन्टेन्ट परिवर्तन हुनुपर्नेमा वाग्लेको जोड छ । कोरोना निर्माताका लागि अवसर भएको तर यसलाई कसरी समात्ने भन्ने कुरा फिल्म निर्माताहरुले जान्ने कुरा भएको उनको मत छ ।

कोभिडपछि नेपाली फिल्म बौरिन सकेको छैन । नेपाली फिल्मका लागि अवसर थियो तर यसलाई समात्न नसकिरहेको बताउँछन् चलचित्र वितरक संघका महासचिव अशोक शर्मा ।

उनी भन्छन्, ‘फिल्म हल खुलेको छ तर देखाउने कन्टेन्ट छैन । चलचित्र संघ, चलचित्र विकास बोर्डलगायतले प्रचारप्रसार खर्चलगायतका सहुलियत दिए पनि निर्माताले बलिउड फिल्म नै कुरेर बसेका छन् ।’

असहज वातावरणमा चुनौती मोल्न नसकेकै कारण नेपाली फिल्मलाई दर्शकले पत्याउन नसकेको शर्मा बाताउँछन् । आफूले बेच्न लागेको सामानमा आफैँ कन्फिडेन्स नभएसम्म सामान बिक्री हुँदैन भन्ने कुरा फिल्म निर्माताले बुझ्नपर्ने उनको भनाइ छ ।

‘सूर्यवंशी’ले फिल्म क्षेत्रलाई चलायमान बनाउन सक्ने उनको अपेक्षा छ । रोहित सेठ्ठीको ‘कप युनिभर्स’को पहिलो फिल्म ‘सूर्यवंशी’ अक्षय कुमार र कट्रिना कैफ मुख्य भूमिकामा रहेका छन् ।

योबाहेक फिल्ममा ‘सिंघम’ र ‘सिम्बा’का मुख्य कलाकार क्रमशः अजय देवगन र रनवीर सिंह फिल्ममा अतिथि भूमिकामा देखिनेछन् । फिल्म आउँदो नोभेम्बर ५ अर्थात् आउँदो शुक्रबार रिलिज हुँदै छ ।

यतिबेला प्रेमगीत ३, चपली हाइट ३ लगायतका ४६ वटा फिल्म निर्माण सकेर प्रदर्शनको पालो कुरेर बसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?