विदेशी सञ्चिति लगातार घटेसँगै चुलिँदै तनाव : आयातमा पर्दै छ यस्तो असर

काठमाडौं । पछिल्ला केही महिनायता लगातार रूपमा विदेशी विनिमय सञ्चिति घटेपछि सरकार यतिबेला तनावमा परेको छ ।
नेपाल राष्ट्र बैंकले मासिक रूपमा सार्वजनिक गर्दै आएको मुलुककोे आर्थिक अवस्थाले विदेशी विनिमय सञ्चिति घटेको देखाएपछि सरकार तनावमा परेको हो ।

राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रो महिनामा विदेशी सञ्चिति कुल विदेशी विनिमय सञ्चिति ६.६ प्रतिशतले घटेको छ । यस अवधिमा १३ खर्ब ६ अर्ब ९५ करोड रुपैयाँ विदेशी सञ्चिति रहेको छ ।

गत असार मसान्तसम्ममा १३ खर्ब ९९ अर्ब ३ करोड बराबर रहेको यस्तो सञ्चिति ६.६ प्रतिशतले घटेको हो । यो सञ्चितिले ८.६ महिनाको वस्तु आयात र ७.८ महिनाको वस्तु तथा सेवाको आयात गर्न मात्रै धान्न सक्ने अवस्था छ ।

चालू आर्थिक वर्षको दोस्रो महिनामा मात्रै होइन, पहिलो महिनामा पनि विदेशी सञ्चिति घटेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । यस अवधिमा विदेशी कुल विदेशी विनिमय सञ्चिति ३.२ प्रतिशतले घटेको छ । यस अवधिमा विदेशी सञ्चिति १३ खर्ब ५३ अर्ब ८२ करोड कायम भएको थियो । गत असार मसान्तसम्ममा १३ खर्ब ९९ अर्ब ३ करोड रहेको थियो ।

प्रभावित हुँदै आयात

नेपाल आयातमा निर्भर मुलुक हो । करिब ९५ प्रतिशतको हाराहारीमा नेपालले विभिन्न वस्तु तथा सेवाको आयात गर्दै आएको छ । नेपालको उत्पादनले आत्मनिर्भर निकै कम वस्तुमा मात्रै भएको छ । त्यसैले अधिकांश वस्तु आयात गर्नुपर्ने अवस्था छ ।

चाहेर पनि अत्यावश्यक वस्तुको आयात घटाउन सक्ने अवस्था छैन । लगातार विदेशी सञ्चिति घटेसँगै आयात प्रभावित हुने देखिएको छ । आयातित वस्तुको भुक्तानी नै प्रभावित हुने देखिएको छ । सरकारले डलरमा गर्ने विभिन्न किसिमका भुक्तानी तथा बैंकहरूले गर्ने एल्सीमार्फतको भुक्तानीलगायत प्रभावित हुने देखिन्छ ।

समस्या सामाधान ?

विदेशी सञ्चिति घटेसँगै नेपाल राष्ट्र बैंकले किन डलरको सञ्चिति घट्यो, तथा बैंक तथा वित्तीय संस्थाहरूले किन डलरको माग बढी गरे भन्ने विषयमा अध्ययन समेत गरिरहेको छ । त्यसका साथै डलर सटहीमा समेत कडाइ गरेको छ ।

नेपाल कृषि प्रदान मुलुक भए पनि अर्बाैँ रुपैयाँबराबरका कृषिजन्य वस्तुको आयात हुनेगरेको छ । जबसम्म सरकारले कृषि उत्पादनलाई ध्यान दिन सक्दैन, तबसम्म यस्ता समस्या दोहोरिहने पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीको तर्क छ । ‘आयात तीव्र रूपमा भइरहेकाले कृषिजन्य वस्तुको आयात घटाउन उत्पादनमा ध्यान दिनुपर्छ’, उनले भने ।


मुलुकमा पेट्रोलियम पदार्थको आयात कम गर्न विद्युतीय सवारीसाधानको प्रयोगमा जोड दिनुपर्नेमा समेत क्षेत्रीले जोड दिएका छन् । पूर्वअर्थमन्त्री युवराज खतिवडाले विद्युतीय सवारीसाधानमा ८५ प्रतिशतसम्म कर लगाएर प्रभावित बनाएका थिए । त्यसका साथै रेमिट्यान्स बढाउने, वैदेशिक लगानी, ऋण तथा अनुदान वृद्धि गर्नेतर्फ लाग्नुपर्नेमा पूर्वगभर्नर क्षेत्रीको जोड छ ।

त्यस्तै, बैंकिङ विज्ञ अनलराज भट्टराईले विदेशी सञ्चितिमा देखिएको समस्यालाई मानवले सिर्जना गरेको समस्या भएकाले सजिलै समाधान गर्नसक्ने बताएका छन् ।
‘यो मानवद्वारा सिर्जित कम्पन हो । नियन्त्रण गर्न सकिन्छ’, उनले भने । भूकम्पका बेला अर्थतन्त्रमा आएको समस्या पनि समाधान गर्न सकेको नेपालले यो समस्या पनि समाधान गर्न सक्ने दाबी भट्टराईले गरेका छन् ।

लागतार रूपमा आयात यसरी नै बढ्दै जाने हो र सञ्चिति घट्दै जाने हो भने नचाहेर पनि अत्याश्यकबाहेका अरु आयात रोक्नुपर्ने उनी बताउँछन् । साथै सरकारको ध्यान आयात रोक्नेमा भन्दा विदशी सञ्चिति बढाउनेतर्फ लाग्नुपर्ने बैंकिङ विज्ञ भट्टराईको तर्क छ ।


सरकारले विदेशी सञ्चिति वृद्धि गर्न रेमिट्यान्स वृद्धि गर्नुपर्ने, पर्यटकको आगमनमा वृद्धि गर्नुपर्ने, विदेशी लगानी भित्र्याउन सहज कानुनी व्यवस्था गर्नुपर्ने तथा भारतसँग द्विपक्षीय व्यापार मजबुद बनाउनुपर्नेमा जोड दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?