काठमाडाैं । लेखक विश्व कुइकेलको प्रथम कथा संग्रह ‘सुगन्धपुर’ सार्वजनिक भएको छ । शनिबार राजधानीको कुञ्ज नाटकघरमा एक कार्यक्रमका बीच पुस्तक लोकार्पण गरिएको हो ।
नेपाली समाजका विविध घटना र परिवेशलाई सजिव किसिमबाट उठान गरिएको कथा संग्रह सुगन्धपुरमाथि वक्ताहरुले आ–आफ्नो किसिमबाट समीक्षा गरे । प्राडा खगेन्द्र लुइटेलले लेखकले आफ्नो जीवन भोगाइका क्रममा देखेसुनेका पात्र र परिवेशलाई सरल किसिमले पाठकसामु पस्कन सफल रहेको उल्लेख गरे ।
‘समाजमा व्याप्त अनेक किसिममा उत्पीडनलाई शब्दका माध्यमबाट पाठकसामु ल्याउन सक्नु लेखकको सबल पक्ष हो । विश्व कुइकेल नेपाली साहित्यमा सुनिने नामहरुमा नयाँ भए पनि कथाहरु अध्ययन गर्दा उनी पुरानाझैँ मलाई लाग्यो, लेखन शक्ति अब्बल रहेछ’, प्राडा लुइटेलले प्रशासनिक क्षेत्रमा रहेका कर्मचारी बचेखुचेको समयमा व्यर्थ समय कटाउनु दुःखद रहेको बताउँदै केही कर्मचारी साहित्यको क्षेत्रमा आउनु सुखद रहेको बताए ।
कार्यक्रममा समालोचक राजन मुकारुङले साहित्य समाजको ऐना भएको बताउँदै लेखक कुइकेलको साहित्यिक सिर्जनाको खुलेर प्रशंसा गरे । उनले कथाकार कुइकेलले नेपाली परिवेशको विभिन्न कथा समावेश गरेर संग्र्रह ल्याउनु सुखद रहेको बताए ।
‘जुनसुकै साहित्यक सिर्जना तब अब्बल हुन्छ, जब त्यसभित्र समाजका अनेक पक्षलाई जस्ताको त्यस्तै टिपेर अक्षरको माध्यमबाट बाहिर ल्याउन सकिन्छ, लेखकको सबल पक्ष भनेकै यही हो’, मुकारुङले पुस्तकको बारेमा बोल्दै भने ।
कार्यक्रममा मानवशास्त्री डा. सचिन घिमिरेले कथाकार कुइकेलले आफ्नो सिर्जनाको माध्यमबाट सर्जकले समाज बदल्न सक्ने धारणा राखे ।
‘सुगन्धपुर कथा संग्रह काँठको जनजीवनदेखि नेपालको फरक भूगोलको परिवेश समेट्न सफल छ । नेपाली समाजमा भए/गरेका अनेक किसिमका किस्साहरुलाई कथाकारले बडो रोचक किसिमले बाहिर ल्याउन सक्नु कथाकारको खुबी हो’, उनले भने ।
कार्यक्रममा साहित्यकार विना थिङले पनि सुगन्धपुर कथा संग्रह नेपाली साहित्यमा पठनयोग्य सामग्री आएको भन्दै खुसी व्यक्त गरिन् । फिनिक्स बुकले प्रकाशन गरेको कथा संग्रह सुगन्धपुरमा १९ वटा कथा समावेश छन् । पुस्तकको मूल्य ३५० रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया