लयमा फर्कियो सेयर बजार, नेप्से परिसूचकसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि

लोकपथ
533
Shares

काठमाडौं । आज आइतबार सेयर बजारमा उत्साह देखिएको छ । अघिल्लो साताभर नै बढेको सेयर बजारमा यस साताको पहिलो कारोबार दिन पनि उत्साह देखिएको हो । आज कारोबार रकमसहित परिसूचकमा समेत उल्लेख्य वृद्धि देखिएको छ ।

सेयर बजार निरन्तर उकालो लागेसँगै लगानीकर्ता उत्साहित भएका छन् । लामो समयदेखि घटिरहेको बजारले पुन: गति लिन थालेसँगै लगानीकर्तामा उत्साह छाएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ५५.५० अंकले बढेर २८३७.६१ बिन्दुमा पुगेको छ । आज नेप्से १.९९ प्रतिशतले बढेको हो ।

त्यसैगरी, सेन्सेटिभ परिसूचक ९.४६ अंकले बढेर ५३०.४६ बिन्दुमा पुगेको छ ।

आज कुल २३२ कम्पनीको एक करोड ३८ लाख ९९ हजार ३२२ कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ८२ करोड ३२ लाख २६ हजार ४९३ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

कुल १३ उपसमूहमा बैंकिङ समूह बाहेक सबै समूहको सेयर बढेको छ । आज विकास बैंक समूहको सेयर मूल्य सर्वाधिक बढेको छ । यो समूहको सेयरमूल्य ६.५४ प्रतिशतले बढेको हो । त्यसैगरी, व्यापार समूह, होटल र पर्यटन समूह, हाइड्रोपावर, उत्पादन र प्रशोधन समूहमा पनि लगानीकर्ताको आकर्षण देखिएको छ ।

आज ६ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?