काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लोकतान्त्रिक पार्टीभित्र नेतृत्वले अलोकतान्त्रिक काम गर्दा त्यसको विरोधमा सशक्त आवज उठाउनुपर्ने बताएका छन्।
उनले पार्टीको नेतृत्वले हेलचेक्राइँ गर्दा पार्टी इतिहासकै कमजोर अवस्थामा आइपुगेको टिप्पणी गरे। पार्टीको नेतृत्व र अवस्था सुधार अन्य पार्टीका नेता कार्यकर्ताले नगर्ने भन्दै नेता सिंहले आफूहरू नै पार्टी सुधारमा लाग्नुपर्ने बताए ।
‘पार्टीभित्रको समस्यामा कुरा हामीले नउठाए कसले उठाउँछ ? पार्टीको समस्या हामी आफैँ समधान गर्ने हो’ नेता सिंहले भने, ‘बाटो बिराउनेलाई बाटो देखाउनु पर्दछ । आलोचना गर्दा पार्टीको विधि र पद्धतिको रक्षा हुन्छ ।’
पार्टीभित्रका भजनमन्डलीले नेतृत्वलाई अलमल्लमा पारिरहेको समेत उनले बताए ।
आइतबार नेपाली कांग्रेस कीर्तिपुर नगर समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले कांग्रेसको इतिहास राम्रो छ भन्दैमा चुप लागेर बसे आगामी चुनावमा जनताले त्यसको नतिजा देखाइदिने बताए। इतिहास राम्रो छ, अझै राम्रो गर्नका लागि सबै नेता कार्यकर्ता लाग्नुपर्ने उनको धारणा छ।
उनले १३औँ महाधिवेशनपछि कांग्रेस इतिहासको कमजाेर अवस्था आइपुगेको बताए। अहिलेकै अवस्था कायम रहे राष्ट्रिसभाको चुनावमा भाग लिनबाट पार्टी वञ्चित हुनुपर्ने जोखिम आएको भन्दै त्यसको जिम्मेवारी वर्तमान नेतृत्वले लिनुपर्ने उनको भनाइ छ।
विवाद मिलाउनुपर्नेमा नेतृत्वले त्यसो गर्न नसकेको उनले आरोप लगाए। केही व्यक्तिले आफ्नो पक्षमा मत लिनको लागि धाँधली गरेको उनले बताए। साथै उनले सदस्याता वितरणमा केही पुराना कांग्रेसीहरुलाई अन्याय भएको समेत बताए।
तपाईँ हामीले नै हो हाम्रो सांस्कृतिक सम्पदा बचाउने हो । विकास निर्माणकाे काममा हाम्रा संस्कृतिहरु मस्न हुँदैन । हाम्रो संस्कृतिलाई जोगाउन सबै लाग्नुपर्दछ ।
पार्टीभित्रको बेथिति र विकृत अन्त्यका लागि नयाँ पुस्ता आउनुपर्ने उनको धारणा थियो । विधि र पद्धतिको पालना गर्नुपर्छ भन्ने पार्टीले नै विधिको शासन मान्न छोड्यो भने जनताले विश्वास नगर्ने उनले टिप्पणी गरे । देशमा लोकतन्त्र जोगाउनको लागि पनि कांग्रेसभित्र विधि पद्धति जोगाउन आवश्यक रहेको उनको भनाइ थियो ।
‘देशमा लोकतन्त्र जोगाउनको लागि पनि कांग्रेसमा विधि पद्धति जोगाउन जरुरी छ । सक्षम प्रभावकारी पार्टीको रुपमा स्थापना गर्न पनि पहिले पार्टीभित्र विधि र पद्धतिको स्थापना गर्नुपर्दछ’, उनले थपे, ‘त्यसो गर्न नसके प्रजापरिषद्को बाटोमा नेपाली कांग्रेस जान्छ ।’
त्यस्तै नेता सिंहले आगामी महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बन्न आफू तयार रहेको बताए। पार्टीलाई वडादेखि केन्द्रसम्म शक्तिशाली बनाउन र लोकतन्त्र जोगाउनको लागिआफू सभापति बन्नुपर्ने उनको तर्क थियो । पार्टीको तल्लो तहदेखि नै संघर्ष गर्दै आएकाले सबैको दुःख र संघर्ष बुझ्ने क्षमता भएको आफू एक्लो नेता भएको उनको दाबी थियो ।
‘जनताको नजरबाट गिरिसकेका नेतालाई अगाडि राखेर जति राम्रो काम गरे पनि जनताले पत्याउँदैनन्’, उनले भने, ‘लोकतन्त्र जोगाउनको लागि नेतृत्व परिवर्तन आवश्यक छ । विधि र पद्धति जोगाउनको लागि पनि नेतृत्व परिवर्तन आवश्यक छ ।’
आफूलाई विगतमा पनि चुनाव लड्छु भन्दा कसैले नपत्याएको तर पछि भोट गणना गर्दा क्षमता देखेको उनले स्मरण गरे । काठमाडौंका नागरिकले प्रकाशमानले हेर्दै हेर्दैन भन्ने र बाहिरी जनताले यो त काठमाडौंको मात्र हो भन्ने गरेको उनले गुनासो व्यक्त गरे । उनले आफू देशका ७७ जिल्लामा नै पुगेको र सबै जनताको दुःख बुझेको बताए ।
आफूले देशका सबै क्षेत्रका जनताको सेवा गरिरहेको र गर्ने उनले प्रतिबद्धता व्यक्त गरे। सबै क्षेत्रका जनता र पार्टी कार्यकर्ताको सभापतिको उम्मेदवार आफू मात्र भएको उनले बताए। पार्टीलाई विधिसम्मत तरिकाले अगाडि बढाउनको लागि नेता कार्यकर्ताहरुले आफूलाई साथ दिनुपर्ने उनको भनाइ थियो।
फरक प्रसङ्गमा नेता सिंहले ओली सरकारले न्यायपालिकालाई हस्तक्षेप गर्दा न्यायालयमा अहिलेको अवस्था सिर्जना भएको दाबी गरे। उनले अदालतलगायतका निकायमा राजनीतिक नियुक्ति, संविधानको भावनाविपरीत काम गर्दा समस्या उत्पन्न भएको जिकिर समेत गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया