वीरगञ्ज । वीरगञ्जस्थित अध्यागमन कार्यालय अहिले नायब सुब्बाकै भरमा सञ्चालन हुँदै आएको छ ।
कार्यालय प्रमुख (शाखा अधिकृत) गत भदौ २३ गते अन्यत्र सरुवा भई गएपछि हाल उक्त कार्यालय नायब सुब्बा विवेक मुखिया निमित्त प्रमुखका रुपमा कार्य गर्दै आएका छन् । हाल शाखा अधिकृत नहुँदा आफूले निमित्त प्रमुखका रुपमा कार्यालय सञ्चालन गर्दै आएको कार्यालयका निमित्त प्रमुखसमेत रहनुभएका नायब सुब्बा मुखियाले बताए।
उनका अनुसार यसअगावै कार्यालय प्रमुख रहेका शाखा अधिकृत राज कुशवाहा पर्साको जगरनाथपुर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरुवा भई गएपछि हालसम्म उक्त कार्यालय निमित्तका भरमा नै सञ्चालन हुँदै आएको हो । शाखा अधिकृत एक, नायब सुब्बा दुई, खरिदार एक, लेखापाल एक, कप्युटर अपरेटर (सहायक) एक र दुई जना कार्यालय सहयोगीको दरबन्दी रहेको यस कार्यालयमा हाल नायब सुब्बा एक, खरिदार एक, लेखापाल एक र दुई जना कार्यालय सहयोगी कार्यरत छन् ।
सो कार्यालयले भारतको बाटो हुँदै नेपाल प्रवेश गर्ने तेस्रो मुलुकका नागरिकलाई आवश्यकताअनुसार १५÷३० र ९० दिनसम्मको पर्यटन भिसा उपलब्ध गराउँदै आएको छ । तेस्रो मुलुकबाट भारतको बाटो हुँदै नेपाल प्रवेश गर्ने नेपाली नागरिकलाई आगमनका लागि अनुमति दिँदै आएको पनि छ । यसैगरी उक्त नाकाबाट भारत हुँदै तेस्रोमुलुक जाने नागरिकलाई नेपाल छोड्ने अनुमति प्रदान गर्ने कार्य पनि सो कार्यालयले गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया