आकाश अधिकारीको प्रश्नः दर्शकले उधारोमा फिल्म हेर्छन् र ?

काठमाडौं । यतिबेला चलचित्र निर्माता संघले बक्स अफिस लागू गर्ने र फिल्म प्रदर्शनको शेयर बाँडफाँडलाई लिएर आन्दोलनको घोषणा गरेको छ । केही दिनदेखि यही विषयलाई लिएर हलवालाको संघ नेपाल चलचित्र संघ र चलचित्र निर्माताको संस्था नेपाल चलचित्र निर्माता संघबीच वार्ता चलिरहेको छ । तर, वार्ताबाट कुनै पनि कुराको टुङ्गो लाग्न सकेको छैन ।

वार्ता चलिरहेकै बेला नेपाली चलचित्र निर्माता संघका महासचिव तथा सङ्घर्ष समितिका संयोजक रोज राणा एकाएक बिरामी भएर अस्पताल भर्ना भएपछि वार्ताले निष्कर्ष दिन सकेको छैन । भलै दुई संघबीच वार्ता भइरहेको छ ।

आफ्ना मागको सुनुवाइ नभए फिल्म हलमा विदेशी तथा नेपाली फिल्म चल्न नदिने घोषणा गरेका निर्माताहरुको संघ नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले हलवाला र निर्माता एक अर्काको परिपूरक भएको बताउँछन् । ‘फिल्मविना हलले फिल्म चलाउन सक्दैनन्, हल भएनन् भने हामीले पनि फिल्म चलाउन सक्दैनौं, तर हलवालाहरुले एकपक्षीय ढंगबाट हामीलाई नसोधी नियम परिवर्तन गरे, हामीले यसैको विरोध गरेका हौं’, उनी भन्छन्, ‘हाम्रो मुख्य एजेण्डा शेयर बाँडफाँड नै हो ।’

शेयर बाँडफाँडको सिस्टम अनुसार फिल्म हेरेर हलवालाले त्यसको केही प्रतिशत राख्ने गर्छन् । हलवाला र निर्माताले फिल्मको पचास प्रतिशत शेयरको माग गरिरहेका छन् । तर, हलवालाले पहिलो हप्ताको तुलनामा दोस्रो हप्ताको व्यापारबाटबढी प्रतिशत आफूलाई राखेर हिसाब बुझाउने गरेका छन् । यसो गर्दा निर्माता ठगिएको भन्दै आवाज उठ्दै आएको छ ।

निर्देशक आकाश अधिकारीले आफूहरुले बक्स अफिसको कुरा पनि उठिरहेको लागू हुनैपर्ने धारणा व्यक्त गर्छन् । ‘बक्स अफिस सम्रग चलचित्र क्षेत्रको हितका लागि हुन्छ, धेरै पहिलेदेखि यो कुरा उठेपनि कार्यान्वयनमा समस्या देखिएको छ, सात वर्षदेखि हामीले यही आवाज उठाउँदै आएका छौं’, अधिकारी भन्छन्, ‘अहिले आएर राज्यले लागू गर्ने भनेको छ, तर तोकिएको समयमा बक्स अफिस लागू गर्ने नदेखिएपछि हामीले सङ्घर्ष समिति बनाएर आन्दोलन गर्नुपरेको हो ।’

बक्स अफिस लागू भएपछि निर्माताले आफूले कमाएको रकम पारदर्शी रुपमा समयमा पाउने आशा राखेका छन् । अहिले कुनै फिल्मले कमाएको रकम पाउन निर्मातालाई ६ महिनासम्म लाग्ने गरेको आकाश बताउँछन् । ‘यत्रो समय हामीले किन कुर्ने? दर्शकले त उधारोमा फिल्म हेर्नुभएको हुँदैन नि, त्यसैले पनि हामीले विकास बोर्डको कदर गर्दै साथ दिन अगाडि बढेका हौं ।’, उनी भन्छन् ।
बक्स अफिस लागू हुँदा इ–टिकेटिङ अटोजेनेरेटेड मेल सिस्टम र सेन्ट्रल सिस्टम हुने भएकाले निर्माताले आफ्नो सिनेमाको पासवर्ड अथवा लगइन कोड राखेर फिल्मको व्यापार जहाँबाट पनि हेर्न मिल्ने व्यवस्था बनाउनुपर्ने उनको धारणा छ । ‘बक्स अफिस लागू भएपछि हामीले हल सञ्चालकलाई र हल सञ्चालकले हामीलाई आरोप लगाउनुपर्ने अवस्था आउँदैन, यो हलवालाका लागि पनि राम्रो कुरा हो ।’, आकाश भन्छन् ।

तर, केही हलवालाले आफ्नो व्यापारको साँचो अरुलाई दिने भनेर कोँचे थापेका छन् । त्यसै कारण पनि बक्स अफिस केही पछाडि सरेको कतिपय फिल्म मेकरले भन्दै आइरहेका छन् । तर, सरकारले व्यापार हेर्दा खासै फरक नपर्ने अधिकारीको धारणा छ । कृषि मन्त्रालयले कृषिमा लगानी गरिसकेपछि त्यसको बारेमा हेर्न पाएझैं सूचना तथा सञ्चार मन्त्रालयले पनि बक्स अफिसको सफ्टवयेर निर्माण गरेर सम्पूर्ण हललाई बाँडेपछि मन्त्रालयले आफ्नो विचार राख्न पाउनु स्वभाविक भएको बताउँछन् । ‘आज हलले यति टिकट विक्री भयो भन्दा हामीले विश्वास गरेका छौं, तर बक्स अफिस लागू हुनासाथ त्यो विश्वास अझ फराकिलो हुन्छ ।’, उनी भन्छन् ।

सरकारले भने बक्स अफिस जडान गर्न नसक्ने हलवालालाई अनुदान दिने समेत भनिरहेको छ । तर, केही हलवालाले भने बक्स अफिस लागू हुनुलाई आफ्नो युग नै सकिएझैं गरी प्रभाव पारेको अभिव्यक्ति दिएका छन् । अध्यक्ष अधिकारी निर्माता संघले कम्प्युटर किन्न नसक्ने हललाई सरकारी अनुदानका लागि पहल गर्न आफूहरु तयार रहेको बताउँछन् ।

हलवालाले पनि फिल्म क्षेत्रमा सिन्डिकेट लाद्न खोजेको र यो प्रवृत्ति सरकारी तहबाटै हटाउन लागिएकाले अब छिट्टै नै नेपाली सिनेमा हलमा पनि त्यो प्रवृत्ति हट्ने उनी बताउँछन् । ‘नेपालमा राणा शासन थ्यो, अहिले गणतन्त्र आयो, परिवर्तन हुन समय लाग्छ, फिल्म क्षेत्रमा पनि सिस्टम बस्छ ।’, उनी भन्छन् ।

साथै आफूहरुले चलचित्र हल बन्द गर्ने नभनेको बरु निर्माताले बनाएका फिल्मको रिलिज रोक्ने अधिकारी बताउँछन् । उनी भन्छन्, ‘जबसम्म बक्स अफिस लागू, शेयर बाँडफाँडको सही निर्णय हुँदैन, तबसम्म नयाँ सिनेमा रिलिज हुँदैनन् ।’, उनी स्पष्ट पार्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?