गलेश्वर । म्याग्दीको रघुगङ्गा गाउँपालिका – ६ ठाडाखानीमा अल्पसङ्ख्यक छन्त्याल समुदायको सांस्कृतिक पहिचानको संरक्षण गरी पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले निर्माण गरिएको छन्त्याल सङ्ग्रहालय, सञ्चालन गर्न नसकेपछि अलपत्र परेको छ ।
ठाडाखानीका बासिन्दाले छन्त्याल सङ्ग्रहालय स्थापनाका लागि भवन निर्माण गरेता पनि सङ्ग्रहालयका लागि सामग्री जुटाउन नसक्दा आफ्नो जातीय पहिचान झल्कने सङ्ग्रहालयको सपना अधुरै रहेको हो । सङ्ग्रहालयका लागि स्थानीयवासी, प्रवासी नेपाली र गाउँपालिकाको सहयोगमा ४० लाख रुपैयाँभन्दा बढीको लागतमा सभाहलसहितको दुई तले तीन कोठे भवन निर्माण गरिएको छ तर सङ्ग्रहालयका लागि छन्त्याल समुदायसँग सम्बन्धित आवश्यक सामग्री जुटाउन नसक्दा सो भवन बहुउद्देश्यीय सामुदायिक भवनमा परिणत भएको छन्त्याल समुदायका अगुवा टेकजित छन्त्यालले बताए ।
वडासदस्यसमेत रहेका छन्त्यालका अनुसार भुइँतलामा सभाहल, भान्छाकोठा, डाइनिङ हल तथा माथिल्लो तलाको एउटा कोठामा सङ्ग्रहालय र अर्कोमा पाहुना घर सञ्चालन गर्ने उद्देश्यले भवन निर्माण गरिएको भए पनि सङ्ग्रहालयको सपना भने पूरा हुन सकेको छैन । छन्त्याल समुदायको जीवनशैली, रहनसहन, भेषभूषा, पुर्खाले प्रयोग गर्ने गरेका हस्तकला तथा रैथाने प्रविधिका सामग्री जुटाउन नसक्दा छन्त्याल समुदायको सङ्ग्रहालय बनाउन समस्या उत्पन्न भएको भवन उपभोक्ता समितिका अध्यक्ष दलमान छन्त्यालले बताए ।
अध्यक्ष छन्त्यालका अनुसार उक्त भवन निर्माणका लागि गाउँपालिकाले गत आर्थिक वर्षमा रु सात लाख ७०० उपलब्ध गराएकोमा स्थानीय युवा क्लब, आमा समूह, स्थानीयवासी र प्रवासीबाट ३३ लाख रुपैयाँ लगानी भएको छ । पक्की भवन निर्माणका लागि हालसम्म ४० लाख रुपैयाँ खर्च भएको उपभोक्ता समितिले जनाएको छ ।
सो भवनमा छन्त्याल समुदायको दैनिक जीवनयापनमा प्रयोग हुने परम्परागत सामग्री, जातीय पहिचान झल्कने भेषभूषा, जन्म, विवाह, छेवार, किरियाजस्ता संस्कारगत कार्यमा प्रयोग हुने सामान, ऐतिहासिक लिपी आदि सामग्री सङ्कलन गरेर सङ्ग्रहालय सञ्चालन गर्ने उद्देश्य रहेको थियो । धार्मिक पर्यटकीयस्थल मालिकाधुरीको फेदीमा अवस्थित ठाडाखानी भ्रमणमा आउने स्वदेशी तथा विदेशी पर्यटकको सुविधाका कारण सो भवनमा पाहुना घरसमेत सञ्चालन गर्ने लक्ष्य रहेको छन्त्यालले बताए ।
परम्परागत रुपमा खानी खन्ने पेसा अगाल्दै आएका छन्त्याल समुदायको म्याग्दीको ठाडाखानी, कुइनेमङ्गले, मल्कवाङ, मच्छिम र गुर्जामा बसोबास रहेको भए पनि हिजोआज देशका विभिन्न भाग र विदेशमा समेत उनीहरु पुगेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया